मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडौं
२०७८ कार्तिक २९ सोमबार ०७:०७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोभिड महामारीमा बढ्यो औषधि आयात निर्यात भने पाँच प्रतिशतभन्दा कम

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ कार्तिक २९ सोमबार ०७:०७:००

कोभिड महामारीसँगै औषधिको कच्चा पदार्थ आयात चार अर्बले बढेको छ । सुईजन्य औषधि र क्रिटिकल केयरमा प्रयोग हुने केही औषधिबाहेक अन्य सम्पूर्ण औषधि नेपालमै उत्पादन हुने भए पनि कोभिड महामारीपछि औषधिको कच्चा पदार्थ र तयारी औषधिको समेत आयात वृद्धि भएको हो । महामारी सुरु भएपछि रेम्डेसिभिर, स्यानिटाइजर र फेसमास्कलगायतका औषधिको माग बढेकोे औषधि व्यवस्था विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार मागको ४५ प्रतिशत औषधिमा नेपाल आत्मनिर्भर छ ।

कोभिडको समयमा औषधि उत्पादनको दर बढेसँगै नेपालमा खपत हुने औषधिमध्ये करिब ४९ प्रतिशत औषधि नेपालमै उत्पादन भई धान्न सक्ने अवस्था रहेको विभागको तथ्यांकले देखाउँछ । कच्चा पदार्थ आयातमा परनिर्भर रहे पनि नेपालमा एक सय नौवटा कम्पनीले करिब नौ हजारभन्दा बढी किसिमका औषधि उत्पादन गर्दै आएका छन् । नेपालमा हाल ६६ वटा औषधि कम्पनी र एक सय २३ फार्मेसीहरूले औषधि आयात गर्दै आएका छन् । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ७६/७७ मा नौ अर्ब ५५ करोड ८३ लाख ९८ हजारको कच्चा पदार्थ आयात गरिएको थियो भने गत आर्थिक वर्षमा १२ अर्ब ५९ करोड ४७ लाख ७० रुपैयाँबराबरको औषधिको कच्चा पदार्थ आयात गरिएको छ । 

यस्तै, महामारीअघिका वर्षको तुलनामा तयारी औषधिको आयातसमेत आठ अर्बले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ७६/७७ मा २८ अर्ब १८ करोड २५ लाख १८ हजारबराबरको औषधि आयात भएको थियो । आव ०७७/०७८ मा ३६ अर्ब ३६ करोड १४ लाख ८८ हजारबराबरको औषधि आयात भएको तथ्यांकले देखाउँछ । महामारीअघि अर्थात् आव ७५/७६ मा पनि ३० अर्ब ११ करोड ८२ लाख ८७ हजारबराबरको औषधि आयात भएको थियो । 

कोरोना महामारी सुरु भएयता रेम्डेसिभिर, स्यानिटाइजर र फेस मास्कलगायतका औषधिको माग बढ्यो । गत आर्थिक वर्षमा १२ अर्ब ५९ करोड ४७ लाख ७० रुपैयाँबराबरको औषधिको कच्चा पदार्थ आयात भयो । 
 

औषधि उत्पादन कम्पनी बढ्दै गए पनि आयातको तुलनामा निर्यात पाँच प्रतिशतभन्दा पनि कम देखिन्छ । नेपाली बजारको करिब आधा माग धान्दै आएको स्वउत्पादन कच्चा पदार्थ निर्यात भने एक प्रतिशत भन्दा न्युन देखिन्छ । भन्सार विभागको तथ्यांकअनुसार, आर्थिक वर्ष ०७७/७८ मा ३६ अर्ब भन्दा बढीको औषधि आयात गरिँदा जम्मा एक अर्बबराबरको तयारी औषधि निर्यात गरिएको छ । यो आयातको तुलनामा ४.७ प्रतिशत हो । यस्तै, गत आर्थिक वर्षमा १२ अर्ब बढीको औषधिको कच्चा पदार्थ आयात हुँदा एक करोड रुपैयाँबराबरको कच्चा पदार्थ मात्रै निर्यात गरिएको तथ्यांकले देखाउँछ । यो ०.०८ प्रतिशत हो । 

औषधिको दुरुपयोग बढ्यो
महामारीलाई लक्षित गर्दै औषधि आयातमा दुरुपयोगका घटनासमेत बढेको विज्ञहरूले बताएका छन् । गत साता मात्रै औषधिमा उत्पादनमा गम्भीर लापरबाही पाइएपछि भारतीय औषधि उत्पादक कम्पनी युमेडिकाका सबै औषधि नेपाल आयातका लागि रोक लगाइएको छ ।

औषधि व्यवस्था विभागले युमेडिकाको उत्पादन लाइसेन्स रद्द गरी बाँकीलाई निलम्बन गरेको छ । युमेडिकाले नेपालमा बिक्री गर्दै आएको युझोलिन–१००० मा बाहिर युझोलिन–१००० नाम र भित्र फरक औषधि यरोक्झिम–७५० राखेर बिक्री–वितरण भएको पाइएको थियो । महामारीकै बहानामा औषधिहरूमा लापरबाही भएका घटना छन् । आर्थिक वर्ष ०७७÷७८ मा अनुगमनको क्रममा ८७ औषधि पसल निलम्बनमा परेका छन् । कोभिड संक्रमणले बढाएको औषधि मागमा फाइदा लुट्न विदेशी कम्पनीहरूले अनावश्यक औषधिसमेत निर्यात गरिरहेको फार्मेसी सञ्चालकहरूले बताउँदै आएका छन् । 

कोभिडका कारण आयात बढ्यो : विभाग
 कोरोना भाइरसको प्रकोप बढेसँगै मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्यजन्य वस्तु र औषधि उत्पादनमा आत्मनिर्भरता बढाउन बढी मात्रामा आयात गरिएको औषधि विभागले जनाएको छ । विभागका प्रवक्ता सन्तोष केसीका अनुसार, कोभिड उपचारमा प्रयोग हुने औषधिको माग बढेकाले आयात पनि बढेको पाइन्छ ।

उनले भने, ‘पहिला हामीसँग दर्ता नभएका रेम्डेसिभिर अर्थात कोभिड सम्बन्धित औषधिको माग कोभिडकालमा बढ्यो । त्यसैले आयात पनि बढ्यो । अन्य रोगमा खासै प्रयोगमा नआउने भएकाले ती औषधि स्वदेशमा उत्पादन हुने गरेको थिएन । जसका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष आयात बढ्यो ।’

नन्कोभिड बिरामीहरूले लकडाउनको समयमा अस्पतालको विकल्पमा घरमै बसेर औषधि लिने ट्रेन्डका कारणसमेत पछिल्लो समय औषधिको माग बढेको औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए । ‘संक्रमणको डरले अस्पताल जानुको सट्टा घरमै औषधि सेवन गर्ने र लकडाउनमा औषधि नपाउने डरले आवश्यकताभन्दा बढी औषधि किनेर राख्ने प्रवृत्तिले औषधि खपत बढेको छ,’ उनले भने, ‘लकडाउनमा बाहिरबाट औषधि नआउला कि भन्ने डरले समेत औषधि पसल र उपभोक्ताले धेरै औषधि थन्क्याएर राख्दा बजारमा अभावसमेत सिर्जना भएको थियो । यसले पनि औषधिको माग स्वाभाविक रूपले बढायो ।’