युरोप र अस्ट्रेलियामा पनि नेपाल एयरलाइन्सकै टिकटबाट यात्रा गर्न पाइने

शुक्रबार, २६ कार्तिक, २०७८
डिजिटल संस्करण

सीधा हवाई सम्पर्क नभए पनि युरोपको बेलायत, फ्रान्स, जर्मनीदेखि अस्ट्रेलियासम्म नेपाल एयरलाइन्सकै टिकटमा यात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले आफ्नो सीधा उडान नभएका मुलुकमा पनि यात्रुलाई सेवा दिन चारवटा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको छ ।  

नेपाल एयरलाइन्सले थाइल्यान्डको थाई एयरवेज, जापानको निप्पोन एयरलाइन्स, युएईको इमिरेट्स एयर र कुवेतको कुवेत एयरवेजसँग द्विपक्षीय स्पेसियल प्रोरेट एग्रिमेन्ट (एसपिए) सम्झौता गरेको हो । यो सम्झौतापछि नेपाल एयरलाइन्सलाई स्विट्जरल्यान्डको जुरिच, बेलायतको लन्डन, जर्मनीको फ्र्यांकफर्ट, फ्रान्सको पेरिस, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, जापानको टोकियो, कुवेत, बहराइनजस्ता सीधा उडान नहुने गन्तव्यहरूमा पनि सेवा विस्तार गर्न बाटो खुलेको छ । 
यात्रुको सहजतालाई ध्यानमा राखेर सकेसम्म कम ट्रान्जिट टाइम प्रयोग गरी सहजै गन्तव्यमा पुर्‍याउने गरेर अन्तर्राष्ट्रिय एयरलाइन्ससँग सम्झौता भएको नेपाल एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सको केन्द्रीय कार्यालय तथा ट्राभल एजेन्सीमार्फत टिकट सहजै प्राप्त गर्न सकिनेछ । साथै, नेपालसँग सम्झौता गरेका अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि नेपाल एयरलाइन्सको टिकट काट्न सक्नेछन् ।

यस्तो टिकट बिक्रीबापत हुने आम्दानी ट्रान्जिट दूरीलाई आधार मानेर नेपाल एयरलाइन्स र साझेदार एयरलाइन्स कम्पनीहरूले बाँडेर लिनेछन् । उदाहरणका लागि, नेपालबाट लन्डन जाने यात्रुलाई दुबईसम्म नेपाल एयरलाइन्सले बोक्नेछ भने दुबईबाट लन्डनसम्म इमिरेट्स एयरले बोक्नेछ । 

See More On

सुझावित समाचार