कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले सोमबारबाट आफ्नो सीमा खुला गर्ने भएको छ। बीस महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकाले सोमबारबाट सो निर्णय लागू गर्न लागेको हो। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कोभिड १९ का कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएको थियो।
ब्रिटेन र युरोपेली संघका देशहरूसहित ३० भन्दा बढी देशहरू अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुनर्मिलन हुन पाएको थिएन। यस प्रतिबन्धको कारण पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो। नयाँ नियमसँगै विमानसेवाहरूले आगन्तुकहरूको आउने जाने क्रम बढ्ने अपेक्षा गरेका छन्।
आगन्तुकहरूको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने अधिकारीहरूले बताएका छन्। युनाइटेड एयरलाइन्सले अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रु ५० प्रतिशतले बढ्ने अपेक्षा गरेको बताएको छ। डेल्टा एअरलाइन्सका प्रमुखले केही यात्रुहरू पालो पर्खेर बस्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
नयाँ नियमअनुसार यात्रुहरूले उड्नुअगावै पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिनभित्रको कोभिड नेगिटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ। अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा आएका सात मुख्य खोपहरूलाई त्यसक्रममा मान्यता दिइँदै छ। अमेरिकाले कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरुवातबाटै चिनियाँ यात्रुहरूलाई अमेरिका प्रवेश गर्न रोक लगाएको थियो साथै सो प्रतिबन्ध अन्य देशका लागि पनि विस्तार गरेको थियो।