१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सल्यानको कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटनाग्रस्त बस ।
२०७८ कार्तिक २२ सोमबार ०६:३०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सल्यान बस दुर्घटना : १२ को मृत्यु, २८ घाइते

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २२ सोमबार ०६:३०:००

सल्यानमा आइतबार भएको बस दुर्घटनामा १२ यात्रुको मृत्यु भएको छ । २८ यात्रु घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका दुलधाराबाट दाङको तुलसीपुरका लागि छुटेको ना.१ख २५५२ नम्बरको बस बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटना भएको थियो ।प्रहरीका अनुसार दुर्घटनामा सल्यानको शारदा नगरपालिका– १२ का ५३ वर्षीया प्रभा चलाउने, वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, वडा नम्बर ३ बस्ने ६६ वर्षीया लीला बुढाथोकी र त्रिवेणी गाउँपालिका– १ काभ्राकी २४ वर्षीया मीना शाहीको मृत्यु भएको छ ।

त्यस्तै, दाङको बबई गाउँपालिका–४ की ६० वर्षीया डुली रेउले, वडा नम्बर ६ पञ्चकुलेकी ७० वर्षीया कलावली बुढाथोकी, छत्रेश्वरी गाउँपालिका– २ का २९ वर्षीय तिलक वली, घोराही उपमहानगरपालिकाको नारायणपुर बस्ने ६५ वर्षीया इन्द्रा अधिकारी, शान्तिनगर गाउँपालिकाकी ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङका पाँच वर्षीय सुरज वलीको पनि ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले मृत्यु भएकामध्ये दुईजनाको अझै सनाखत भइनसकेको बताए । आठ यात्रुको घटनास्थलमै र बाँकी चारको श्रीनगर र खलंगामा उपचारका क्रममा ज्यान गएको उनले बताए । गम्भीर घाइते आठजनालाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि कोहलपुरस्थित अस्पताल पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले बताइन् । १५ घाइतेको तुलसीपुर, सल्यानको श्रीनगर र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते पाँचजना भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । घाइतेहरू धेरै हुँदा अस्पतालमा ठाउँ अभावका कारण केहीबेर उपचारमा समस्या भएको थियो ।

तिहार मनाएर बसमा फर्किन लागेका महिला र बालबालिका धेरै थिए । चालकको लापरबाही नै दुर्घटनाको मुख्य कारण भएको अनुमान प्रहरीको छ । तीव्र गतिका कारण सहज ठाउँमा पनि दुर्घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । तर, घटनाबारे थप अनुसन्धान गरेर दुर्घटनाको कारण पहिचान गर्ने डिएसपी थापाले बताए । बसचालक भने फरार छन् ।यात्रुहरूले पनि चालकले मदिरा सेवन गरेको हुन सक्ने बताएका छन् । लुहामबाट बस चढेकी घाइते हीराकुमारी बोहराले दुर्घटना हुनुभन्दा पहिले अर्को एक ठाउँमा पनि झन्डै दुर्घटना गराएको बताइन् । ‘त्यतिखेर धन्नधन्न ज्यान बचेको थियो, खारखोलामा त पल्टायो नै,’ उनले भनिन् ।