१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १८ बिहीबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक १८ बिहीबार o८:३३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्यातमा ५७ प्रतिशत हिस्सा प्रशोधित खानेतेलको

तीन महिनामा नेपालबाट ३७ अर्ब ३६ करोड रुपैयाँबराबरको प्रशोधित खाद्य तेल (भटमासको तेल, पामतेल, सूर्यमुखी तेल) निर्यात भएको छ ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक १८ बिहीबार o८:३३:oo

नेपालको कुल निर्यातमा प्रशोधित खानेतेलको हिस्सा आधाभन्दा बढी पुगेको छ । विदेशबाट कच्चा पदार्थ ल्याई प्रशोधन गरेर भारत निर्यात हुने भटमास, पाम र सूर्यमुखी तेल प्रमुख निर्यातजन्य वस्तुका रूपमा देखिएका हुन् ।  चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट ३७ अर्ब ३६ करोड रुपैयाँबराबरको प्रशोधित खाद्य तेल (भटमासको तेल, पामतेल, सूर्यमुखी तेल) निर्यात भएको छ । जुन कुल निर्यातको ५७.४ प्रतिशत हुने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब पाँच करोड पुगेको छ ।  

‘भटमासको तेल, पामतेल, सूर्यमुखी तेलले नेपालको कुल निर्यातमा ५७.४ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रूपमा देखा परेको छ,’ केन्द्रले त्रैमासिक प्रतिवेदनमा उल्लेख गरेको छ, ‘प्रशोधित खाद्य तेलको निर्यातमध्ये भटमासको तेल, पामतेल तथा सूर्यमुखी तेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः ३३.९, २०.८ र २.८ प्रतिशत रहेको छ ।’

समीक्षा अवधिमा भटमासको तेलको निर्यातमा १८९.५ प्रतिशतले वृद्धि भई २२ अर्ब दुई करोड पुगेको छ । त्यस्तै, यसबीचमा १३ अर्ब ५१ करोड रुपैयाँबराबरको पाम आयल र एक अर्ब ८२ करोड रुपैयाँबराबरको सूर्यमुखी तेल निर्यात भएको छ । पछिल्ला केही महिनायता सूर्यमुखी तेल पनि नेपालको प्रमुख निकासीयोग्य वस्तुका रूपमा पहिचान स्थापित गर्दै वृद्धि भइरहेको केन्द्रले जनाएको छ । 

खासगरी इन्डोनेसिया, मलेसियालगायत मुलुकबाट कच्चा पदार्थ नेपाल ल्याएर प्रशोधन गरेर भारतमा निकासी हुँदै आएको छ । अन्य मुलुकबाट भारतमा निकासी गर्दाभन्दा नेपालबाट निकासी गर्दा भन्सार कम लाग्ने भएकाले भारतीय र नेपाली व्यवसायीले त्यसको लाभ उठाइरहेका छन् । तर, यस्तो निर्यात दिगो नहुन सक्ने भन्दै सरोकारवालाले चिन्ता गर्दै आएका छन् ।

 तेलकै कारण भारततर्फको निर्यात उच्चदरमा बढ्यो
प्रशोधित खाद्य तेलकै कारण भारततर्फको निकासी उच्चदरमा बढेको छ । नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यात १४७.१ प्रतिशतले वृद्धि भई ५२ अर्ब ७२ करोड पुगेको छ । तेलकै कारण नेपालको कुल निकासीमा भारततर्फको हिस्सा १२.२८ प्रतिशत बिन्दुले बढेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६८.७२ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षका सो हिस्सा बढेर ८१.० प्रतिशत पुगेको छ । ‘नेपालको निर्यातमा ५७.४ प्रतिशत योगदान राख्ने भटमास, पामतेल र सूर्यमुखी तेलहरूको निर्यात भारतमा नै भइरहेकाले नेपालको कुल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो,’ केन्द्रले उल्लेख गरेको छ ।

यस्तो छ अन्य वस्तुको निर्यात अवस्था
नेपालबाट निर्यात हुने परम्परागत वस्तुको निर्यातमा पनि उच्चदरको वृद्धि भएको छ । समीक्षा अवधिमा तयारी पोसाकको निर्यात २६.२ प्रतिशतले वृद्धि भई दुई अर्ब २० करोड पुगेको छ । अर्को प्रमुख निर्यातजन्य वस्तु फेल्टको निकासी ३०.२ प्रतिशतले वृद्धि भई एक अर्ब ७२ करोड पुगेको छ । जुसको निर्यात ५१.८ प्रतिशतले बढेर एक अर्ब ५१ करोड पुगेको छ । त्यस्तै, यार्नको निर्यात ५१.७ प्रतिशतले वृद्धि भई दुई अर्ब ६ करोड, ऊनी गलैँचाको निर्यातमा २०.५ प्रतिशतले वृद्धि भई दुई अर्ब ४६ करोड, जुट तथा जुटका उत्पादनको निर्यातमा ३४.९ प्रतिशतले वृद्धि भई दुई अर्ब ३७ करोड पुगेको छ ।