मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक १६ मंगलबार ०८:१५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरामा प्याराग्लाइडिङ विस्थापन हुने, एक अर्ब लगानी जोखिममा

एकैपटकमा ठूला जहाज र प्याराग्लाइडिङ सञ्चालन असम्भव : उड्डयन प्राधिकरण

Read Time : > 2 मिनेट
२०७८ कार्तिक १६ मंगलबार ०८:१५:००

पोखरा भित्रिने पर्यटकहरूका लागि प्रमुख आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ व्यवसाय विस्थापन हुने भएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ सञ्चालन गर्न प्राविधिक रूपमा सम्भव नरहेको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणका एटिएम विभाग प्रमुख सुवर्णराज उपाध्यायले बताए । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले सोमबार आयोजना गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङ एवं मनोरञ्जनात्मक हवाई गतिविधि अवसर र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।  

पोखरामा वार्षिक एक लाखभन्दा धेरै पर्यटक प्याराग्लाइडिङ उडान गर्न आउने नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष भण्डारीले बताए । उनका अनुसार दैनिक दुई सय ५० देखि चार सय ५० सम्म पर्यटक दैनिक प्याराग्लाइडिङ उडान गर्छन् । पोखरामा ६० कम्पनीले एक अर्बभन्दा बढी लगानी गरेर एक हजारभन्दा बढीलाई रोजगारी दिएका छन् । संस्थामा तीन सय ५२ जना नेपाली प्याराग्लाइडिङ पाइलट कार्यरत छन् ।  

विमानस्थलमा जहाज पश्चिम हुँदै उड्न र पूर्वबाट अवतरण गर्न समस्या आउने हुनाले प्याराग्लाइडिङ उडान सम्भव नहुने उनले प्रस्ट्याए । ‘दुईवटा उडानका गतिविधि एकैपटक सम्भव नै हुँदैन । प्याराग्लाइडिङ उड्ने आकाशमा हवाईजहाज उड्नुपर्ने हुन्छ । सोही कारण दुवैखाले उडान एकैपटक सम्भव छैन,’ उनले भने, ‘हवाईजहाजका कारण प्याराग्लाइडिङ र प्याराग्लाइडिङका कारण हवाईजहाजलाई असर पार्नुहुँदैन ।’ प्याराग्लाइडिङ उडानका लागि फरक स्थान खोज्नुपर्ने उनले सुझाब दिए । 

उनका अनुसार पोखरा उपत्यकाभित्र झन्डै ६ किलोमिटर चौडाइ र २६ किलोमिटर लम्बाइको एयरस्पेस रहेको छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिम बिन्दुबाट हाल चालू विमानस्थलसम्मको दूरी २.५ किलोमिटर, फेवातालसम्म पाँच किलोमिटर र प्याराग्लाइडिङ उडान हुने क्षेत्रसम्म ६ किलोमिटरको दूरी पर्छ । अहिले पोखराको आकाशमा उडान गर्ने प्याराग्लाइडिङले सराङकोट र तोरीपानीको आकाशमा सात हजार र मान्द्रेढुंगाको आकाशमा ६ हजार फिट उचाइसम्म मात्र उड्न पाउँछन् ।  ‘पूर्वबाट अवतरण गर्ने जहाजले एप्रोच गर्न नसकेमा वा पश्चिम हुँदै उडान गर्ने अवस्थामा प्याराग्लाइडिङ सम्भव हुँदैन । फ्लाइट प्रोस्युडर नै त्यहीअनुसारको छ । डिपार्चर र मिस एप्रोचमा समस्या आउन सक्छ,’ उनले भने ।

पोखरा उपत्यकाभित्र झन्डै ६ किलोमिटर चौडाइ र २६ किलोमिटर लम्बाइको एयरस्पेस रहेको छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिम बिन्दुबाट हाल चालू विमानस्थलसम्मको दूरी २.५ किलोमिटर, फेवातालसम्म पाँच किलोमिटर र प्याराग्लाइडिङ उडान हुने क्षेत्रसम्म ६ किलोमिटरको दूरी पर्छ । अहिले पोखराको आकाशमा उडान गर्ने प्याराग्लाइडिङले सराङकोट र तोरीपानीको आकाशमा सात हजार र मान्द्रेढुंगाको आकाशमा ६ हजार फिट उचाइसम्म मात्र उड्न पाउँछन् ।  
 

 मिलेसम्म जोगाउने हो, तर मुढेबलले काम चल्दैन : महानिर्देशक क्षत्री 
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीले सकेसम्म आफूहरू पनि मनोरञ्जनात्मक हवाई गतिविधिलाई पोखराबाट विस्थापित हुन नदिने पक्षमै रहेको बताए । तर, प्राविधिक रूपमै अप्ठ्यारो पर्ने र बाध्यता आइपरेमा भने सम्भावना खोज्नुपर्ने उनको भनाइ छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ३० अर्बभन्दा धेरै खर्च भइसकेको बताउँदै विमानस्थललाई जोखिममा राख्न नहुने उनले बताए । ‘२२ अर्ब रुपैयाँ भनिएपछि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लगानी ३० अर्ब रुपैयाँभन्दा धेरै पुगिसक्यो । अर्बाँै लगानीको विमानस्थललाई छाडेर प्राविधिक रूपमा जोखिम मोलेर प्याराग्लाइडिङ राख्न सकिन्न,’ उनले भने, ‘हवाई खेलका गतिविधि पोखराबाट हटोस् भन्ने हाम्रो चाहना होइन । तर, मुढेबलले पनि काम चल्दैन । क्षति नहुनेतर्फ सचेत हुनुपर्छ ।’

 प्रतिवेदन भन्छ– ‘सर्तको पालना या अन्यत्र विस्थापन’ 
पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले गठन गरेको सुवास झाको संयोजकत्वमा गठित अध्ययन समितिले पोखरामा प्याराग्लाइडिङको भविष्यको विषयमा अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनमा औँल्याइएअनुसार अहिलेकै अवस्थामा पोखरामा प्याराग्लाइडिङले निरन्तरता पाउन सम्भव छैन । अहिलेकै ठाउँमा प्याराग्लाइडिङ सञ्चालन गरिने भए यस्तै प्रकृतिका अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा प्याराग्लाइडिङ सञ्चालन गरिरहेका स्विट्जरल्यान्ड, इटाली, फ्रान्सलगायत युरोपियन मुलुकमा अपनाइएका प्रविधि र मोडल उपयोग गर्न सकिने औँल्याइएको छ । अर्को विकल्पमा पोखरा उपत्यकासँग जोडिएका क्षेत्रहरू जस्तै पञ्चासे र माछापुच्छ्रेलगायतका स्थानमा सार्न सकिने उल्लेख छ । तर, स्विट्जरल्यान्ड, इटाली, फ्रान्सलगायत युरोपियन मुलुकमा अपनाइएका प्रविधि र मोडल अपनाएर पनि सँगै एयरपोर्ट र प्याराग्लाइडिङ सञ्चालन गर्न नसकिने प्राधिकरणका एटिएम विभाग प्रमुख उपाध्यायले बताए ।  

व्यवसायी भन्छन्– यात्रु ल्याउन पनि प्याराग्लाइडिङ उडाउनुपर्छ
पोखराका व्यवसायीले भने एयरपोर्ट र हवाई खेलकुदलाई सँगसँगै सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेका छन् । उनीहरूले एयरपोर्टलाई राम्रोसँग सञ्चालन गर्न पर्यटक आउनुपर्ने र त्यसका लागि साहसिक हवाई खेलकुद गतिविधि आवश्यक हुने बताए । उनीहरूले पोखराको आकाशमा उडान हुने हवाई खेलकुदलाई विस्थापित गर्न नहुनेमा जोड दिए । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले अल्ट्रालाइट र प्याराग्लाइडिङलाई पोखराकै आकाशभित्र व्यवस्थापन गर्नुपर्ने बताए । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले पर्यटकीय गतिविधि नै ध्वस्त बनाउने गरी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुले अर्थ नराख्ने टिप्पणी गरे । 

पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले पनि सम्भव भएसम्म अन्तर्राष्ट्रिय उडानको सेड्युल मिलाएर प्याराग्लाइडिङलाई जोगाइराख्नुपर्ने धारणा राखे । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले अहिलेको अवस्थामा प्याराग्लाइडिङ गर्न समस्या रहने भए पनि सुरक्षाका सबै उपाए अपनाएर प्याराग्लाइडिङ सुचारु गर्नुपर्नेमा 
जोड दिए ।