१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
राधा तिमल्सिना
२o८१ बैशाख ३० आइतबार o७:४७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बलात्कारविरुद्ध व्यापक अभियान आवश्यक 

Read Time : > 2 मिनेट
राधा तिमल्सिना
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:४७:oo

छाउप्रथा, देउकी, झुमा, दाइजो, तिलक, बोक्सीजस्ता प्रथा, परम्पराले पनि महिलामाथि हिंसा र शोषण थोपरिरहेको छ । कतिपय अवस्थामा धर्मको नाममा अन्धविश्वासको सिकार पनि महिला नै हुने गरेका छन् ।


भनिन्छ– दासताको अनुभव लिने पहिलो मानव महिला नै थिइन् । दासहरूको अस्तित्व रहनुभन्दा पहिले आदिकालदेखि नै महिलालाई दासत्वमा बाँधिइसकेको थियो । उत्पीडित महिलाहरूको भविष्य पितृसत्तात्मक राज्यसत्ताले निर्धारण र सञ्चालन गर्दै आएको ऐतिहासिक घटनाहरूबाटै प्रमाणित हुन्छ । पितृसत्ताकै जगमा खडा भएको छ– समाज, जुन महिलाहरूमाथि हिंसा र शोषण गर्न अभ्यस्त छ ।

यही समाजले अपराधीहरू जन्माएको छ, जसबाट महिला चाहे ती वृद्ध वा शैशव बालिका नै किन नहुन्, सधैँ कतै न कतै, केही न केही तवरबाट घरैदेखि प्रताडित भइआएका छन् । दिनानुदिन महिला हत्या, हिंसा, बलात्कार बढ्दो छ, रोकिने संकेतसमेत छैन । महिला स्वतन्त्रतापूर्वक हिँडडुल गर्न सक्ने वातावरण अहिले छैन । आजको युगलाई विज्ञान, प्रविधि र सूचनाको युग भनिन्छ । 

ज्ञान र विज्ञानले सुसंस्कृत आर्थिक रूपले समुन्नत भनिएको २१औँ शताब्दीको यो युगमा समेत मानव समुदायको आधाभन्दा बढी हिस्सा ओगट्ने सिंगो महिला समुदायलाई कुनै न कुनै हिसाबले यौनहिंसा, बलात्कारको सिकार बनाइराख्न सुहाउँछ र ? घरेलु हिंसा, वैवाहिक बलात्कार, बालिकादेखि ज्येष्ठ महिलासम्मको बलात्कार र बलात्कारपश्चात् हत्यासमेत हुने गरेको छ । मानवताविरुद्धका यस्ता जघन्य अपराधले सिंगो मानव जगत्लाई गिज्याइरहेको छ । महिलाहरू अधिकतर अपरिचितभन्दा पनि चिरपरिचित अर्थात् आफन्त र नजिकैका मानिसबाटै बढी हिंसा र अपराधको सिकार हुने गरेका छन् । 

धर्मको नाममा पनि महिलामाथि हिंसा र अपराध हुने गरेका छन् । संस्कृतिको नामबाट पैदा भएका कुसंस्कृतिबाट पनि महिलाहरू नै पीडित हुने गरेका छन् । यहाँ यस्ता अवर्णनीय हानिकारक परम्परा एवं प्रथाहरू पनि छन्, जसले महिलालाई मानिसकै स्तरमा समेत व्यवहार गरिरहेको छैन । छाउप्रथा, देउकी, झुमा, दाइजो, तिलक, बोक्सीजस्ता प्रथा, परम्पराले पनि महिलामाथि हिंसा र शोषण थोपरिरहेको छ । कतिपय अवस्थामा धर्मको नाममा अन्धविश्वासको सिकार पनि महिला नै हुने गरेका छन् । 

हालसालै घटेको एक घटनालाई नै उदाहरणको रूपमा लिऊँ न । एक कथित प्रेमीले प्रेमको नाटक रचेर एक युवतीलाई जालमा फसाई झुटो आश्वासन दिएर यौन आवेगको सिकार बनाउँछ, अनि जबर्जस्तीपश्चात् हत्या गरिदिन्छ । यो कुकृत्य बाहिर आइसकेपछि अनेक समाचार बनिरहेछन् । ती युवतीलाई सामूहिक बलात्कार गरियो या सामूहिक रूपमै हत्या गरे, समाचार रहस्यमय बनिरहेछ । यस्ता खालका घटना त हामी दैनिकजसो सुन्ने गर्दछौँ । घटनाका समाचार सुन्नेहरूका शरीर काम्ने गर्छ भने भोग्ने अनि उनीहरूका परिवारमाथि कस्तो विपत्ति परेको होला ? यस्तै–यस्तै घटनाले अब पीडितहरूप्रति उदासीन भएर बस्न सकिँदैन । बलात्कारका घटनाले हामीलाई झकझक्याइरहेको छ । आमाहरूलाई संवेदनशील हुनु भनिरहेको छ । किनकि, चाहे पीडितका हुन् वा पीडकका आमा, सबभन्दा पीडा आमालाई नै हुन्छ । 

नेपाल प्रहरीका अनुसार २०२१ मा २५३४ बलात्कारका घटना दर्ता भए । यो अघिल्लो वर्षभन्दा १८ प्रतिशतले बढी हो । विभिन्न जिल्लामा गरिएको अनुसन्धानमा सबैभन्दा धेरै घरेलु हिंसा रौतहट जिल्लामा ८२ प्रतिशत, बारा जिल्लामा ८० प्रतिशत रहेको छ र अपराधको ग्राफ बढ्दो क्रममा छ । महिला हिंसा, बलात्कारका बिरलै घटना मात्र बाहिर आउँछन् । आएकामा पनि निकै कम मात्र प्रहरीमा दर्ज हुन्छन् । दर्ता भएकामा पनि शक्ति र पहुँचको प्रयोग र प्रलोभन तथा त्रासका कारण अधिकांशलाई सामसुम पारिन्छ । छिमेकी मुलुक भारतमा पनि महिला हिंसा एवं बलात्कारको ग्राफ निकै उच्च छ । त्यहाँ हरेक १५ मिनेटमा एकजना महिला वा बालिका बलात्कृत हुने गरेको छ । निर्मला पन्तको हत्यारा अझै पत्ता नलाग्नुले अपराधीलाई कारबाही गर्न पुलिस प्रशासन नै चाहँदैन भन्ने देखाउँछ । अब त अति भइसक्यो, सहनुको पनि सीमा हुन्छ । 

अपराधीलाई फाँसीको सजायसम्मका विषयमा पनि छलफल हुने गर्छन् । तर, के अपराधीलाई फाँसीको सजाय दिँदैमा पीडितलाई न्याय मिल्छ ? यस्ता अपराध रोकिन्छन् ? अपराधीलाई कडा सजाय त हुनुपर्छ नै, तर यति मात्रले हाम्रो जिम्मेवारी पूरा हुँदैन । यस प्रकारका जघन्य अपराध हुनै नदिन के गर्नुपर्ला ? छलफल, विमर्श आवश्यक छ । 

भनिरहनु नपर्ला, नेपाली समाज पुरुषवादी संरचना भएको समाज हो । एउटा सानो उदाहरणबाटै यसलाई पुष्टि गर्न सकिन्छ । परिवारमा छोरा जन्मिदा वंशको उत्तराधिकारी जन्मियो भनेर खुसी मनाइन्छ । यसले संस्कारकै रूप ग्रहण गरेकाले आमा नै पनि छोरा जन्मिदा प्रफुल्लित हुने अवस्था छ । छोराप्रतिको सामाजिक मूल्य र मान्यता छोरीको तुलनामा कैयौँ तवरले प्राथमिकतामा पर्छन् । भलै, वर्तमानमा यी सोचहरू केही हदसम्म बदलिँदै छन् । यही समाज छोरा असल भए कुलको उत्तराधिकारी मान्छ र आमाको नामोनिसान मेटिदिन्छ ।

खराब निक्लिएछ भने दूधगुनाको बुद्धि भन्दै आमालाई नै लाञ्छित गर्छ । यस्तै–यस्तै परिवेशबाट गुज्रिरहेका हामी आमाहरूले पनि हामी कहाँनेर चुक्यौँ भनेर सोच्ने वेला आएको छ । बालबालिकालाई आमाको आवश्यकता परेको वेला समय दिन सकेनौँ कि ? या खराब संगतमा फसेर खराब काम पो गर्न थाले कि ? बालमनोविज्ञान नबुझी बालबालिकालाई कुटपिटबाट ठीक पार्छु भन्दा झनै उनीहरू बिच्किए कि ? स्वतन्त्रताको वातावरणमा हुर्कनबाट बालबालिकालाई वञ्चित पो गरियो कि ? सोचौँ, विचार विमर्श गरौँ र आफ्ना बालबालिकालाई समय हुँदै अर्थात् उनीहरू अपराधमा नफस्दै सुधार्न प्रयत्न गरौँ । आफ्ना सन्तान विशेषगरी छोराहरूलाई अपराध गर्नबाट रोकौँ । 

बलात्कारविरुद्ध स्वतन्त्र अभियान लिएर प्रत्येक आमाबाबु, परिवार, अभिभावक र बस्तीमा पुग्न आवश्यक छ । अपराधीलाई कारबाहीले मात्रै अपराध रोकिन्न । अपराधको मूल खोजेरै नष्ट गर्न आवश्यक छ । सूचनाको यो युग यस्ता अभियानहरू सञ्चालन गर्न वरदान भएर आएको छ । यसको पूर्ण र सकारात्मक सदुपयोग गरौँ । रोग लागेपछि उपचार गर्नुभन्दा पहिल्यै रोगको रोकथाम गरौँ भन्ने उखानलाई चरितार्थ गरौँ । (
 

ad
ad