राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छिन् । राष्ट्रपति भण्डारीले त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरिन्। मुक्तिनाथको दर्शन भ्रमणका लागि उनी आज काठमाडौंबाट नेपाली सेनाको हेलिकाेप्टरबाट मुक्तिनाथ पुगेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी, सांसद प्रेमप्रसाद तुलाचन, नेकपा (एमाले)की नेत्री श्रीमाया थकाली, प्रदेश सभा सदस्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गरेका थिए ।
नेपालमा लामो समयदेखि काेरोना भाइरसको महामारीबाट धार्मिक पर्यटनसम्बन्धी गतिविधि एवं तीर्थयात्रा हुन सकेको छैन। यस अवस्थामा नेपालको पर्यटन एवं तीर्थयात्रा सुरिक्षत छ भन्ने सन्देश दिन र नेपालका सुप्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको प्रचार होस् भन्ने हेतुले राष्ट्रपति भण्डारी आज मुस्ताङ जिल्लामा अवस्थित सुप्रसिद्ध मुक्तिनाथ मन्दिर पुगेकी राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो। राष्ट्रपति भण्डारी आजै बाग्लुङ जिल्लामा अवस्थित ढोरपाटन सिकार आरक्षको अवलोकन भ्रमणमा पनि जानेछिन्।