१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जहाजको टिकट नपाउँदा सास्ती

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२२:oo

उपचारका लागि हिँडेका बिरामी, दसैँ मनाएर फर्किने विद्यार्थी, जागिरे र डोल्पा घुम्न आएका पर्यटक टिकट नपाएर जुफाल विमानस्थलमा अलपत्र

कर्णाली प्रदेशका विकट जिल्ला डोल्पा र मुगु राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि स्तरोन्नति र पक्की पुलहरू नहुँदा सडकयात्रा जोखिमपूर्ण छ । त्यसैले पनि अधिकांश कर्णालीवासीका लागि हवाईयात्रा बाध्यात्मक विकल्प बनेको छ । तर, जहाजका टिकटमा पहुँच नहुँदा सुर्खेत वा नेपालगन्ज पुग्न पनि हप्तौँ कुर्नुपर्ने बाध्यता छ । डोल्पामा पनि सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले उडान नभरेको वर्ष दिनभन्दा धेरै भइसकेको छ । 

सोमबार नयाँ पत्रिकाकर्मी डोल्पाको जुफाल विमानस्थल पुग्दा यात्रु खचाखच थिए । उपचारका लागि हिँडेका बिरामी, घरमा दसैँ मनाएर फर्किने विद्यार्थी, जागिरे र डोल्पाका पर्यटकीय क्षेत्र घुम्न आएका आन्तरिक र बाह्य पर्यटकले विमानस्थल भरिएको थियो । तर, दैनिक दुईदेखि तीनवटा उडान मात्र भइरहेकाले विमान चढेर गन्तव्य पुगिएला भन्नेमा धेरै साधारण नागरिक निश्चिन्त देखिएनन् । 

एयरलाइन्सआबद्ध कर्मचारी, प्रशासन र प्रहरीका हाकिम तथा नेताहरूसँग चिनजानका व्यक्तिले मात्रै टिकट पाउने गरेको विमानस्थलमा भेटिएका यात्रुहरूले गुनासो गरे । फोक्सुन्डो घुम्न आएका ललितपुरका अमन थापाले टिकट नपाएर चार दिनदेखि विमानस्थलमै अड्किएको बताए । ‘टिकट कहाँ कसरी बाँडिन्छ, केही पनि थाहा नहुँदो रै’छ । टिकट कसरी पाइन्छ भनेर सोध्दा आफ्ना चिनजानका ठूला मान्छे भए फोन गराउनुस् नत्र टिकट पाइँदैन भन्छन् । अनलाइनबाट टिकट बुक गर्न पनि सकिँदो रहेनछ,’ थापाले चार दिनदेखिको भोगाइ सुनाए । 

बिरामीको बिचल्ली
जुफाल विमानस्थलबाट बिरामीले समेत उड्न पाएका छैनन् । जिल्ला अस्पतालले रेफर गरेका र आकस्कि घटनामा परेर घाइते भएकाहरूसमेत प्रभावित छन् । काइके गाउँपालिकाका गज बुढा दमको उपचार गराउन नेपालगन्ज जान घरबाट हिँडेको पाँच दिन पुग्यो । दुई दिन हिँडेर विमानस्थल आइपुगेका उनी टिकटका लागि तीन दिनदेखि धाइरहेका छन् । ‘उसै पनि उडान कम रहेछ, भएको उडानमा पनि ठूलाबडाकै हालिमुहाली रहेछ,’ टिकटको आशामा दिनहुँ विमानस्थल धाइरहेका बुढाले दुःखेसो पोखे, ‘बिरामी छु, उपचारका लागि नेपालगन्ज जान तीन दिनदेखि धाइरहेको छु, टिकट मिलेको छैन ।’ उनले होटेलमा बस्दा–खाँदा धेरै खर्च भइसकेको सुनाए । 

ठूलीभेरी नगरपालिकाका जितेन्द्र शाहीले बेथितिका कारण बिरामीसमेत समस्यामा परेको बताए । ‘जुफाल एयरपोर्टमा टिकट कहाँ वितरण हुन्छ, अत्तोपत्तो छैन । अफिस एकातिर हुन्छ, टिकट अर्कोतिरबाट बाँडिन्छ । मन्त्री र ठूलाबडाको हातमा केही समयभित्रै टिकट थमाइन्छ, सर्वसाधारण नागरिक हप्तौँसम्म धाउँदा पनि टिकट पाइरहेका छैनन्,’ उनले भने । 

नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले भने टिकट वितरणमा मनोमानीको गुनासो आए बदमासी गर्नेलाई कारबाही हुने जनाएको छ । नागरिक उडड्यन प्राधिकरणको कार्यालय जुफालका प्रमुख अमित चौरासियाले मौखिक वा लिखित उजुरी आए कारबाहीका लागि माथिल्लो निकायसँग समन्वय गर्ने बताए । 

एयरलाइन्सकै कर्मचारी भन्छन्– टिकटका लागि सांसद, मन्त्रीकै दबाब आउँछ
टिकटका लागि प्रशासक, सुरक्षा प्रमुखदेखि कर्णाली प्रदेशका सांसददेखि मन्त्रीसम्मको पनि फोन आउने गरेको एयरलाइन्सका कर्मचारीहरूको भनाइ छ । समिट एअर जुफालका प्रमुख पूर्णजंग शाहीले भने टिकटका लागि दबाब आउने गरे पनि बिरामीहरूलाई प्राथमिकताका साथ उडाएको बताए । ‘एक दिन एक–दुईवटा मात्र उडान हुँदा सबैलाई पठाउन सकिँदैन । झन् अहिले चाडपर्वको समय छ । यात्रुहरू खचाखच छन् । त्यसमा पनि आफ्ना मान्छे उडाउन दबाब दिँदै हाकिमदेखि मन्त्रीसम्मका फोन आउँछन् । सबैलाई मिलाएर हाल्नुपर्ने बाध्यता छ,’ शाहीले नयाँ पत्रिकासँग भने, ‘तैपनि हामीले बिरामीहरूलाई प्राथमितामा राखेर उडाएका छौँ ।’ उनले उडान थप गर्न सके यात्रुहरूले सहजै टिकट पाउने सुझाव दिए ।

सुरक्षा प्रमुख विमानस्थलमै पुगेर बिरामीलाई जहाजमा पठाए
हुम्ला÷ टिकट अभावमा उपचार गराउन जान नपाएका दुई बिरामीलाई हुम्ला प्रशासनले नेपालगन्ज पठाएको छ । प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यको निर्देशनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी हेरम्भ शर्माले सिमकोट विमानस्थल पुगेर दुई बिरामीलाई नेपालगन्ज पठाएका हुन् । 

जहाजको टिकट नपाएपछि खार्पुनाथ गाउँपालिका– १ प्युसका ६० वर्षका वीरजित शाहीलगायत १२ बिरामी नेपालगन्ज र सुर्खेत जान पाएका थिएनन् । दमले थलिएका शाहीलाई सिमकोटस्थित जिल्ला अस्पतालले थप उपचारका लागि तत्काल सुर्खेत लैजान रेफर गरेको थियो । तर, टिकट नपाएपछि आफन्तले स्ट्रेचरमै राखेर विमानस्थलबाट होटेलमा राखेका थिए । मंगलबार नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि शाही र कुरुवा बसेकी नातिनी अस्मितालाई स्थानीय प्रशासनले समिट एयरको जहाजबाट नेपालगन्ज पठाएको हो । 

प्रजिअ आचार्यले व्यवस्थित रूपमा टिकट वितरण नगरी निजी एयरलाइन्सले मनपरी गरेकाले बिरामीसमेत समस्यामा परेको बताए । समाचार प्रकाशित भएपछि उनले सीता, तारा र समिट एयरलाइन्सका स्थानीय प्रमुखलाई बोलाएर छलफल गरेका थिए । छलफलले बुधबारबाट लाइनमा राखेर टिकट वितरण गर्ने निर्णय गरेको छ । 

ad
ad