मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कुपण्डोल हाइटको हाल समिट होटेल भएको स्थानमा निर्माण हुन लागेको सेन्ट रेजिस होटेल भवनको डिजाइन । यो होटेल तीन व्यावसायिक घराना सिजी ग्रुप, एनई ग्रुप र पुरानो समिट ग्रुपको संयुक्त लगानीमा बन्ने भएको हो ।
नवीन अर्याल नयाँ पत्रिका
२०७८ कार्तिक ६ शनिबार १०:०५:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

बदलिँदै होटेल ट्रेन्ड, होटेलसँग जोडिँदै रियल इस्टेट 

Read Time : > 3 मिनेट
नवीन अर्याल, नयाँ पत्रिका
२०७८ कार्तिक ६ शनिबार १०:०५:००

लगानीकर्ता अपार्टमेन्टसहितको होटेल निर्माणमा केन्द्रित, लक्जरी होटेलसँगै अपार्टमेन्ट, सपिङमल, मल्टिप्लेक्स पनि

पछिल्लो समय निर्माण सुरु भएका पाँचतारे होटेल परियोजनाभित्र अपार्टमेन्ट पनि समावेश हुन थालेको छ । ठूला लगानीकर्ताहरूले लक्जरी होटेलसँगै अपार्टमेन्ट, सपिङमल, मल्टिप्लेक्स पनि ल्याउन थालेका हुन् । ललितपुरको कुपन्डोल हाइटमा रहेको समिट होटेल भत्काएर पाँचतारे होटेल निर्माण सुरु भएको छ । चौधरी ग्रुप, एनई ग्रुप र समिट ग्रुपले होटेलको १८ रोपनी क्षेत्रफलमध्ये आधा भागमा होटेल र आधा क्षेत्रफलमा अपार्टमेन्ट बनाउने तयारी गरेको छ । त्यस्तै, कर्मा ग्रुपले महाराजगन्जको काठमाडौं भ्याली पब्लिक स्कुल भएको ठाउँमा अपार्टमेन्टसहितकै होटेल बनाउँदै छ । दसैँ–तिहारलगत्तै अपार्टमेन्ट निर्माण कार्य सुरु हुने ग्रुपका अध्यक्ष कर्मा तेन्जिङले जानकारी दिए । यस्तै, गोल्यान ग्रुपले पनि ताहाचलमा अपार्टमेन्टसहितको पाँचतारे होटेल निर्माण गरेको छ । 

पोखराका होटेल व्यवसायी विप्लव पौडेलले फेवाताल किनार सेदीमा निर्माण गर्न लागेको पाँचतारे होटेलसँगै हाउजिङ र अपार्टमेन्टको पनि परिकल्पना गरेका छन् । चर्चित व्यवसायी विनोद चौधरी र रविभक्त श्रेष्ठले कुपन्डोलमा समिट परियोजनापछि कान्तिपथमा पनि लक्जरी अपार्टमेन्ट र होटेल सञ्चालनको तयारी गरिरहेका छन् ।

आफ्नो प्रोपर्टीको तत्कालै फाइदा लिन र होटेललाई सुरुदेखि ऋणमुक्त बनाउन पनि विलासी अपार्टमेन्ट बनाएर बिक्री गर्ने रणनीति बनाएको सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले बताए । ‘यो बिजनेस मोडल विश्वभरि नै चलेको छ, हामीले पहिल्यै सिक्नुपर्थ्यो, ढिला गर्‍यौँ, कोभिडले कम्तीमा सिकायो’ उनले भने, ‘अपार्टमेन्ट बिक्री गरेर होटेल बनाउन सकिन्छ, होटेल सुरुदेखि ऋणमुक्त पनि भयो, कसले चाहँदैन होला होटेल पूरै ऋणमुक्त होस् भनेर ।’ कुनै पनि देशमा ठूला होटेलमा लगानी गर्नु भनेको दीर्घकालीन हुन्छ । तत्कालै नाफा कमाउन सकिँदैन । त्यसैले, यस्तो योजना लाभदायक हुने उनको भनाइ छ ।

कर्मा ग्रुपका अध्यक्ष तेन्जिङ पनि आफ्नो प्रिमियम प्रोपर्टीको रिटर्न अफ इन्भेष्टमेन्ट पाउन होटेलसँगै अपार्टमेन्ट निर्माण गर्न कस्सिएको बताउँछन् । ‘हाम्रो महाराजगन्जमा ११ रोपनी जग्गा छ, जहाँ स्कुल चलिरहेको छ, सहरको हटस्पटमा स्कुल चलाउँदा रिटर्न अफ इन्भेष्टमेन्ट हुँदैन’ उनले भने, ‘त्यस्तो प्रिमियम लोकेसनमा होटेल मात्र बनाएर पनि कहिले प्रतिफल पाउनु ? त्यसैले जग्गाको रिटर्न लिनका लागि अपार्टमेन्ट सबैभन्दा उपयुक्त विकल्प लाग्यो ।’ काठमाडौं भ्याली पब्लिक स्कुल वनस्थलीमा सार्न पूर्वाधार निर्माणको काम भइरहेको उनले बताए । सो स्थानमा होटेल र अपार्टमेन्ट बनाउने उनको योजना छ ।

मुलुकको अग्रणी निर्माण कम्पनी सिई, एस होटेल समूहलगायतको संयुक्त लगानीमा भैरहवामा ‘द हब लुम्बिनी’ निर्माण हुँदै छ । करिब ६ अर्ब लगानी हुने यस परियोजनाभित्र होटेल, अपार्टमेन्ट, रेस्टुरेन्ट, सपिङमल, सिनेमा हल, थिएटर, मनोरञ्जन पार्कलगायतको सुविधा हुनेछ । लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर आधुनिक सुविधासहितको अपार्टमेन्ट, होटेल र मल्टिप्लेक्स सिनेमा हल निर्माण गर्ने तयारी भएको सिई ग्रुपका अध्यक्ष विजयराज भण्डारीले बताए । यस्तै, नगरकोटमा सिई समूह, एस होटेल, बैंकर पृथ्वीबहादुर पाँडेलगायतको सहकार्यमा ‘द हब नगरकोट’ परियोजना बन्दै छ । त्यहाँ विभिन्नस्तरका तारे होटेल, आवास, सपिङ सेन्टर, विभिन्न भेराइटी पाक्ने रेस्टुरेन्टहरू, रिक्रिएसन सेन्टर, सिनेमा हललगायत भएको एकीकृत प्रोपर्टी निर्माण गर्न लागेको एस होटेल समूहका अध्यक्ष योगेन्द्र शाक्यले बताए । 

धनाढ्य वर्ग विलासी आवासको खोजीमा छ । त्यसका लागि जतिसुकै मूल्य पनि तिर्न त्यस्तो वर्ग तयार छ । यसको पुष्टि कुपन्डोल हाइटमा निर्माण हुँदै गरेको समिट रेसिडेन्सीको बुकिङले पनि गर्छ । त्यहाँ एउटै फ्ल्याटलाई ३० करोडसम्म तिर्न मान्छे तयार भएका छन् । निर्माण सुरु नहुँदै अधिकांश अपार्टमेन्ट बुकिङ भइसकेको बताइएको छ । ‘हामीले ग्राहकको चाहना बमोजिमका विलासी अपार्टमेन्टहरू तयार पारिदिन्छौँ’ रविभक्त श्रेष्ठले भने, ‘एलिट वर्गका लागि प्रिमियम क्लासको अपार्टमेन्ट बनाउँदै छौँ, जसले अपार्टमेन्ट इन्डस्ट्रीमा नयाँ बेन्चमार्क खडा गर्नेछ ।’

गोल्यान ग्रुपले ताहाचलमा बनाएको अपार्टमेन्टमा परिवार नै बसोवास गर्दै आएका छन् । पहिलो चार–पाँच तलासम्म कर्पोरेट अफिस राखिएको छ । माथिका तलामा गोल्यान परिवार बस्दै आइरहेको छ । नजिकैको पाँचतारे हायात प्लेस यही नोभेम्बरदेखि सञ्चालनमा आउने ग्रुपका निर्देशक अक्षय गोल्यानले बताए । हायात प्लेसको १४ तले भवनमा एक सय ५३ कोठा छन् ।

बैंकर पृथ्वीबहादुर पाँडेले ठमेलमा पाँचतारे होटेलसहित सपिङ कम्पलेक्स सञ्चालनमा ल्याएका छन् । छायाँ सेन्टरको एउटै छानामुनि होटेल, रेस्टुराँ, क्लब, मल्टिप्लेक्स, ब्रान्डेड सप, कर्पोरेट अफिस छन् । छायाँ सेन्टरको पाँचतारे होटेल अन्तर्राष्ट्रिय होटेल चेन म्यारियटको अलफ्ट ब्रान्डले व्यवस्थापन गरिरहेको छ । विनोद चौधरीले चितवनको भरतपुरमा सपिङमल, मल्टिप्लेक्ससहितको दी फर्न बिजनेस होटेल सञ्चालनमा ल्याइसकेका छन् । विराटनगरका व्यवसायी एवं पूर्वराज्यमन्त्री मोतीलाल दुगडले विराटनगरमा सपिङमल, मल्टिप्लेक्स, रिक्रिएसन सेन्टर, विशालपार्कसहितको पाँचतारे होटेल सञ्चालनमा ल्याउँदै छन् । आफ्नो विराटनगरको प्राइम लोकेसनमा भएको जग्गालाई अधिकतम प्रयोगमा ल्याउन होटेलसहित विशाल परियोजना अगाडि सारेका उनी बताउँछन् ।

‘अहिले नयाँ होटेलका लागि सबैभन्दा ठूलो समस्या भनेकै ऋण हो, बैंकमा गएर यो गर्देऊ न, त्यो गर्देऊ न भन्नुपर्छ, ऋण नै नभए केही भन्नुपरेन’ चौधरीले भने, ‘सुरुमै होटेल ऋणमुक्त भयो भने नाफामा जान दीर्घकाल पनि कुर्न परेन, यसले होटेल इन्डस्ट्रिजमा नयाँ आयाम ल्याउँछ ।’ अब सिजीले विश्वभर सञ्चालन गर्ने नयाँ होटेलमा यही मोडल अंगीकार गर्ने सोच बनाएको उनले बताए । उनले थपे, ‘सक्सेस हुनका लागि होटेलसँग रियल इस्टेट जोड्नैपर्ने भइसक्यो ।’

कर्मा ग्रुपले महाराजगन्जमा बनाउन लागेको अपार्टमेन्टसहितको होटेल व्यवस्थापन गर्न म्यारियटको ‘ले मेरिडियन ब्रान्ड’ आउँदै छ । १२ तले होटेलको भवनमा १७० वटा कोठा हुनेछन् । ग्रुपले सुरुमा अपार्टमेन्ट निर्माण गर्दै छ । अपार्टमेन्टले एउटा रूप लिएको डेढ वर्षपछि होटेल निर्माण सुरु गर्ने कर्मा तेन्जिङ बताउँछन् । त्यहाँ पहिलो चरणमा ८२ युनिटको अपार्टमेन्ट बन्दै छ । दुई बिएचके, तीन बिएचके अपार्टमेन्टको मूल्य तीनदेखि पाँच करोडसम्म पर्ने उनले बताए । अपार्टमेन्टमा पनि होटेलमा जस्तै आधुनिक सेवा–सुविधा उपलब्ध हुनेछन् । उनका अनुसार, पाँचतारे होटेल र अपार्टमेन्टमा गरी करिब ६ अर्ब लगानी हुने अनुमान छ ।

चौधरी ग्रुप, एनई ग्रुप र समिट ग्रुपले कुपन्डोलमा निर्माण गर्ने समिट होटेल एन्ड रेसिडेन्सेस परियोजनामा दुई प्रकारका अपार्टमेन्ट हुनेछन् । एउटा समिट रेसिडेन्सेस् र अर्को समिट सिग्नेचर रेसिडेन्सेस् । अपार्टमेन्ट १७ तलाको हुनेछ । अपार्टमेन्टमा पाँचतारे होटेलसरहकै सुविधा उपलब्ध हुनेछन् । अहिले अपार्टमेन्टको ११ तलासम्म बुकिङ खुला गरेकोमा अलमस्ट अपार्टमेन्ट बुकिङ भइसकेका छन् । त्यहाँ सञ्चालनमा आउने होटेलमा विश्वको सबैभन्दा लक्जरीमध्येको एक म्यारियट ग्रुपको सेन्ट रिजिस ब्रान्ड आउँदै छ । होटेल ग्राउन्ड र सर्भिस तलासहित १७ तलाको हुनेछ जहाँ एक सय २० कोठाहरू हुनेछन् । यो विशाल परियोजना निर्माण सम्पन्न गर्न करिव सात अर्ब रुपैयाँ लगानी हुने अनुमान छ ।