![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/deuwa2021-10-21-05-32-49.jpeg)
प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षण गर्न गृहजिल्ला डडेल्धुरा पुगेका छन् । अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने सडक खण्ड भीमदत्त राजमार्गको साहुखर्कदेखि बुडर बजारसम्म झन्डै १८ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ ।
पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध बनेको सडक खोल्न दुई दिनदेखि एक्स्काभेटर, जेसिबीलगायतले काम गरिरहेको भए पनि अझै खुल्न सकेको छैन । सडक खुल्न अझै केही दिन लाग्ने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
बाढीपहिरोका कारण डडेल्धुराका गन्यापधुरा गाउँपालिका– १ को भातकाँडा र सोही पालिकाको सकायल भन्ने स्थानमा दुईजनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् भने सात पहाडी जिल्लाका राजमार्गसमेत चार दिन पूर्णतया अवरुद्ध भएको छ ।
बाढीपहिरोका कारण विभिन्न गाउँबस्तीहरूमा ठूलो क्षति भएको छ भने सडक, खानेपानी, बिजुलीसमेत अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।