मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
किरण दहाल काठमाडाैं
२०७८ कार्तिक ४ बिहीबार ०९:२०:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जहाँ बन्द छ संसद्को इतिहास

Read Time : > 3 मिनेट
किरण दहाल, काठमाडाैं
२०७८ कार्तिक ४ बिहीबार ०९:२०:००

सिंहदरबारस्थित संसद् सचिवालयको भवन नम्बर २ को ‘अन्डरग्राउन्ड’मा रहेको बन्द कोठाभित्र एउटा पुरानो घडी छ । पुरानो मोडेलको ठूलो घडी वर्षौँदेखि बन्द छ । घडीको सुई ७ बजेर ३८ मिनेटमा रोकिएको छ । सिसा फुटिसकेको छ, समयसँग घडीको कुनै तालमेल छैन । 

घडी राखिएको कोठामा वर्षौँदेखि ताला लगाइएको छ । पुस्तकालयछेउमै रहेको त्यो कोठाभित्र अरू के–के पुराना सामग्री छन् भन्नेबारे धेरै सांसद नै अनभिज्ञ छन् । सचिवालयकै अधिकांश कर्मचारीलाई पनि मेसो छैन । 

कोठासँगै त्यहाँ बन्द छ, संसद्को इतिहास । घडीसँगै बिग्रिएका छन्, अन्य महत्वपूर्ण सामान र दस्ताबेज पनि । कोठामा सधैँ ताल्चा झुन्डिएका कारण कोही मान्छे जाँदैनन् । कोठा हत्तपत्त खुल्दैन । जान चाहनेलाई पनि पहुँच छैन । उक्त कोठासँग सरोकार राख्ने संसद् सचिवालयकै एक कर्मचारी भन्छन्, ‘यहाँ कोही आउँदैनन् र पहुँच पनि दिइएको छैन ।’

त्यो अँध्यारो कोठाभित्र संसद् झल्काउने पुराना सामग्री छन् । यही कोठामा मुलुकमा लोकतन्त्र आउनुअघि संसद्मा प्रयोग गरिएको ‘रोस्ट्रम’ छ । काठमा बुट्टा भरेर बनाइएको रोस्ट्रम धुलाम्य बनेको छ । 

संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डे भन्छन्

असरल्ल रहेका मूर्तिहरू, पुराना–पुराना बहुमूल्य धातुका चिजहरू कता–कता थन्किएका छन् ! तिनीहरू सबैलाई व्यवस्थित गर्नका लागि संग्रहालय भवन चाहिन्छ । व्यवस्थित कोठा नभएसम्म सामग्री सुरक्षित हुने अवस्था छैन । अझै पनि कति सामान कता–कता परेका छन्, थाहा छैन । हामी पनि चिन्तित छौँ । संसद्सम्बन्धी पुराना सामग्रीलाई एकत्रित गरेर संग्रहालयका रूपमा राख्ने संसद् सचिवालयको योजना छ । तर, यसका लागि भवन अभाव छ ।

कोठामा संसद्सम्बन्धी पत्रपत्रिकामा छापिएका समाचार खातामा टाँसेर राखिएका छन् । ०४८ पछि झन्डै १० वर्षसम्म नेपाली पत्रपत्रिकाले संसद्का सम्बन्धमा के–के समाचार लेखे, सबै रहेको संसद् सचिवालय बताउँछ । दुईवटा र्‍याकमा भरिभरि त्यस्ता समाचार छापिएका पत्रपत्रिका छन् ।

तर, त्यस्ता पत्रपत्रिकाका ‘कटिङ’मा धुलो लाग्न थालिसकेको छ । जतन नभएकाले केही–केही त च्यातिएर पढ्नै नसक्ने भएका छन् । अँध्यारो कोठाभित्र लामो समयसम्म रहेकाले ओसिन थालेका छन् । कसरी सुरक्षित राख्ने ? सचिवालय नै अन्योलमा छ । विगतमा संसद्को कामकारबाही सञ्चालनसम्बन्धी अन्य कागजात पनि देखिन्छ । थुप्रै प्रतिवेदन छन् । फाइल छन् । पुराना पुस्तक पनि छन् । ती सबै र्‍याकमा कोचिएर राखिएका छन् ।

संसद्का अन्य सम्पत्ति पनि त्यही बन्द कोठामा थुपारिएको छ । नेपालका तर्फबाट संसद्का पदाधिकारी विदेश भ्रमणका वेला पाएका उपहारसमेत छन् । तर, कतिपय उपहारमा लोगो मेटिसकेको छ, कुनै–कुनैको हराएको छ । त्यसकारण कोबाट कसले उपहार पाएको हो भन्ने पनि थाहा पाउन कठिन छ । 

०५३ मा तत्कालीन सभामुख रामचन्द्र पौडेलले पाएको पानीजहाजको आकर्षक ‘डमी’ छ । उपहारको मुनि लेखिएको छ, ‘सम्माननीय सभामुख श्री रामचन्द्र पौडेलज्यूको टर्कीको इस्तानबुलमा सम्पन्न भएको अन्तरव्यवस्थापिका संघमा भाग लिन जानुहुँदा टर्कीका सभामुखले ०५३ साल वैशाखमा दिनुभएको उपहार ।’

त्यस्तै, ०५६ मा तत्कालीन सभामुख तारानाथ रानाभाटले जापानबाट पाएको उपहार पनि त्यहाँ छ । सिसाभित्र सिक्का आकारको उपहार छ । त्यही समयको सरोफेरोतिर नर्वे, अस्ट्रेलियालगायत देशका संसद्हरूबाट प्राप्त उपहार पनि छन् । झन्डै सयको हाराहारीमा यस्ता उपहार छन् । उपहार दराजमा ताला लगाएर राखिएको छ ।

बन्द कोठामा रहेका सबै सामग्री पुरानो संसद् भवनबाट ल्याइएको हो । ०७२ को भूकम्पले सिंहदरबारस्थित पुरानो संसद् भवनमा क्षति पु¥यायो । भवन क्षतिग्रस्त भएपछि संसद् सचिवालयले त्यहाँ रहेका सामानलाई बाहिर निकाल्यो र एकै ठाउँ राखेको हो ।

पुरानो भवनभित्र अझै पनि महत्वपूर्ण सामग्री यत्रतत्र छन् । ठुल्ठूला पेन्टिङ ओसिएका छन्, केही–केही च्यातिएका छन् । विगतमा सभामुख बस्ने ‘डाइस’ पनि धुलोले छोपेको छ । सांसद बस्ने गरेको कुर्सी, टेबुललगायत फर्निचर पनि सुरक्षित छैनन् । तिनलाई प्रयोगमा ल्याउन पनि सकिएको छैन । सजावटका अन्य फर्निचर पनि मिल्किएका छन् । काठमा बुट्टा कुँदेर संसद् सजाउन प्रयोग गरिएका सामग्री असरल्ल छन् ।

सामग्री सुरक्षित राख्न नसकिएको संसद् सचिवालयलाई पनि लागेको छ । ‘पुराना संसद् भवन सञ्चालन हुँदा त्यतिवेला आसपासका कोठा सबै व्यवस्थित थिए । सामान त्यहाँ सुरक्षित थिए,’ प्रवक्ता डा. रोजनाथ पाण्डेले भने, ‘भूकम्पपछि भवनमा प्रवेश गर्ने स्थिति भएन । अहिले पनि त्यहाँ बहुमूल्य सामान छन् । एकदमै महँगा पेन्टिङ, पोस्टर, मूर्ति त्यहीँ छन् । त्यसको संरक्षण गर्नुपर्ने दायित्व हाम्रै हो ।’

भवनबाट निकालिएका कतिपय सामग्री सचिवालय परिसरमै मिल्किएका छन् । संग्रहालयमा राख्ने भनिएका मूर्ति भाँचिएका छन् । संसद् सचिवालयको भवन नम्बर १ को तेस्रो तलाको बाहिरपट्टि पृथ्वीनारायण शाह र महेन्द्रको मूर्तिमा परेवाले बिस्ट्याएर चिन्न नसक्ने अवस्थामा छन् । मूर्ति अड्याउने ‘स्ट्यान्ड’ फूलको गमला राख्न प्रयोग गरिएको छ । 

प्रवक्ता पाण्डे भन्छन्, ‘असरल्ल रहेका मूर्तिहरू, पुराना–पुराना बहुमूल्य धातुका चिजहरू कता–कता थन्किएका छन् ! तिनीहरू सबैलाई व्यवस्थित गर्नका लागि संग्रहालय भवन चाहिन्छ । व्यवस्थित कोठा नभएसम्म सामग्री सुरक्षित हुने अवस्था छैन । अझै पनि कति सामान कता–कता परेका छन्, थाहा छैन । हामी पनि चिन्तित छौँ ।’

संसद्सम्बन्धी पुराना सामग्रीलाई एकत्रित गरेर संग्रहालयका रूपमा राख्ने संसद् सचिवालयको योजना छ । तर, यसका लागि भवन अभाव भएको बताउँछन्, पाण्डे । उनी भन्छन्, ‘संसदीय संकेत झल्काउने प्रतीकात्मक वस्तु संकलन गरेर संसदीय संग्रहालयका रूपमा विकास गरेर लैजाने योजना छ । पुरानो भवनमा के–कस्ता सामान थिए ? भूकम्पपछि ती सामान कहाँ–कहाँ राखिएको छ भनेर खोजिरहेका छौँ । संसद्सम्बन्धी संग्रहालय बनाउने योजनामा छौँ ।’ 

अन्तरिम व्यवस्थापिका, २०६३ सम्म संसद् बैठक पुरानो भवन (ग्यालरी बैठक)मा बस्थ्यो । ०१६ को पहिलो संसद् बैठक पनि यहीँबाट सञ्चालन भएको थियो । पञ्चायतकालमा राष्ट्रिय पञ्चायत पनि यहीँ बसेको थियो । ०४६ मा बहुदलीय व्यवस्था आएपछि पनि सोही भवनमा संसद् चलेको थियो ।

भवनमा साढे तीन सयजना क्षमताको बैठक कक्ष थियो । तर, ०६४ को संविधानसभाको चुनावपछि सांसद संख्या बढ्यो । त्यसवेला संसद् बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सारियो । त्यसयता त्यहीँबाट संसद् चलिरहेको छ । सचिवालय भने सिंहदरबारमै छ । अहिले सिंहदरबारमै संसद्को नयाँ भवन बन्दै छ ।