१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Saturday, 05 July, 2025
२o७८ असोज २५ सोमबार १८:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीमा मन्त्री बनेका डोबाटे विश्वकर्माले लिए शपथ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २५ सोमबार १८:४३:oo

गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । तेस्रोपटक मन्त्रिमण्डल विस्तारसँगै गण्डकीमा मन्त्रीको संख्या १२ पुगेको छ । गत ८ साउनमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिमण्डल विस्तारका क्रममा शपथका लागि  भनी बोलाएर अन्तिम समयमा नाम काटिएका डोबाटो विश्वकर्मा विना विभागीयमन्त्री नियुक्त भएका हुन् । 

शपथका लागि आफ्नो गृह जिल्ला तनहुँबाट पोखरा आउँदै गर्दा पोखरा आइनपुग्दै नाम काटिएर मन्त्री हुनबाट रोकिएका विश्वकर्मा त्यसको ८१ दिनपछि मन्त्री नियुक्त भएका हुन् । उनले सोमबारै प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिए । 

साउनमा मन्त्री हुन नपाएका विश्वकर्माको स्थानमा व्यापारिक पृष्ठभूमिका बिन्दुकुमार थापालाई मन्त्री बनाइएको थियाे । विश्वकर्मालाई मन्त्री नबनाएपछि त्यस समय मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसको चर्को आलोचनासमेत भएको थियो। मुख्यमन्त्रीले विश्वकर्मालाई मन्त्री बनाउनका लागि पार्टी सभापतिलाई एकसाता अघि काठमाडौं गएर कुरासमेत गरेका थिए भने पार्टी सभापति पोखरा आएका वेला उनलाई मन्त्री बनाउने निर्णय गर्दै मन्त्री नियुक्त गरिएको हो । 

१२ मन्त्रालयमध्ये नेपाली कांग्रेसले मुख्यमन्त्रीसँगै ६, नेकपा माओवादी केन्द्रले चार, जनता समाजवादी पार्टी र स्वतन्त्रले एक एक मन्त्रालयको जिम्मा पाएका छन् ।

कुल प्रदेश सभा सदस्यको २० प्रतिशतलाई मन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । गण्डकी प्रदेश सभा ६० सदस्य रहेको छ, यहाँ बढीमा १२ जनाभन्दा बढी मन्त्री बनाउन पाइँदैन।

सुरुमा प्रदेशमा सात मन्त्रालय मात्र रहेका थिए । गत पुसमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीको संख्याबाट बढाएर ११ पुर्याएका थिए। मन्त्रीको संख्या बढाए पनि उनले बढेको संख्याअनुसार मन्त्रिमण्डल विस्तार गर्न नपाउँदै उनको सरकार ढल्यो ।
हाल प्रदेशमा ११ मन्त्रालय रहेका छन् । मुख्यमन्त्रीले आन्तरिक मामिला आफैँ राखेका छन् । विश्वकर्मालाई हाल मुख्यमन्त्री कार्यालयमा विना विभागीय मन्त्रीका रूपमा पदस्थापन गरिएको छ । दसैँपछि उनले पाउने मन्त्रालयको टुंगाे लाग्ने बताइएको छ ।