युनेस्कोको अध्ययनमा चाँगुनारायण मन्दिर क्षेत्रको जमिन भासिएको देखिएको छ, त्यसैले मन्दिर पूर्णरूपमा तयार हुन अझै एक वर्ष लाग्ने
शुक्रबारको बिहानी पूजा सकाएर चाँगुनारायणका मूल पुजारी चक्रधरानन्द राजोपाध्याय सत्तलमा सुस्ताउँदै थिए । अरू दिनजस्तो भक्तजनको भिडभाड खासै थिएन । छिट्टै नियमित पूजा सकेर उनी फुर्सदिलो भए । पछिल्ला वर्षमा भूकम्पले मन्दिरमा क्षति अनि कोरोना महामारीको संक्रमणका कारण मन्दिर आउने भक्तजनको संख्यामा कमी हुँदै गएको छ । ‘पहिला–पहिला त स्थानीयभन्दा बाहिरका मान्छे धेरै यहाँ आउँथे रे,’ मूल पुजारी राजोपाध्याय भन्छन्, ‘यस्तो चौमास (तुलसीको बिरुवा रोपेदेखि तुलसी विवाहको अवधि) को वेला त दर्शन गर्नेको भिड थामिसक्नु हुँदैन थियो ।’
उनी सत्तलमा बसेर सुस्ताए पनि ढुक्क भने थिएनन् । मन्दिरको उत्तरपट्टि पुनर्निर्माणको काम भइरहेको छ । मिस्त्री (काठको काम गर्ने मजदुर) ले झ्याल राखेकोमा उनलाई त्यति चित्त बुझेको रहेनछ । पुनर्निर्माणको काम रेखदेख गर्नेसँग उनी खासखुस कुरा गर्दै थिए । तर, अलिकति हतारमा पनि देखिए । कारण, आफ्नो बासस्थान पनि छिट्टै पुग्नु थियो । मूल पुजारी राजोपाध्याय ०७२ को विनाशकारी भूकम्पअघि मन्दिरको मूलढोका छेवैको पुजारी घरमा बस्थे । त्यतिवेला मुख्य मन्दिरसँगै पुजारीघर पनि भत्कियो र उनको बसाइँ पनि सर्यो ।
चक्रधरानन्द राजोपाध्याय मूल पुजारी, चाँगुनारायण मन्दिर
पुनर्निर्माण सुरु गरेको तीन वर्षभन्दा बढी भयो, अरू सम्पदाजस्तै चाँगुनारायण पनि पहिलेकै स्वरूपमा आउनुपर्छ । मन्दिर कहिले सम्पन्न हुन्छ र पहिलाजस्तै भक्तजनले दर्शन गर्न पाउँछन् भन्ने हतारमा हामी छौँ, तर सपनाजस्तो पो भो ।
त्यसैले हिजोआज उनको मन्दिर आउजाउ अलि पातलै छ । विशेष पूजाका लागि मात्र मूल पुजारी मन्दिर पुग्ने गर्छन् । भताभुंग मन्दिरपरिसरका कारण आफूलाई यता आउन त्यति जाँगर नचल्ने उनी बताउँछन् । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको मुख्य मन्दिर पुनर्निर्माण भए पनि चौघेरा सत्तललगायतका ३० प्रतिशत पनि काम भएको छैन । ‘पुनर्निर्माण सुरु गरेको तीन वर्षभन्दा बढी भयो, अरू सम्पदाजस्तै चाँगुनारायण पनि पहिलेकै स्वरूपमा आउनुपर्छ । मन्दिर कहिले सम्पन्न हुन्छ र पहिलाजस्तै भक्तजनले दर्शन गर्न पाउँछन् भन्ने हतारमा हामी छौँ, तर सपनाजस्तो पो भो,’ उनले भने ।
पुनर्निर्माणकै क्रममा रहेको चाँगुनारायण नै पहिरोको उच्च जोखिममा छ । भूकम्पले मुख्य मन्दिरसँगै सबैजसो संरचनामा क्षति पुगेको चाँगुनारायण मन्दिरको पुरातत्व विभागले पुनर्निर्माण थालेको हो । २२ चैत ०७५ देखि मन्दिर पुनर्निर्माणको काम सुरु भएको थियो । सुरु गरेको झन्डै साढे दुई वर्षमा काम नसकिनु हेलचेक्र्याइँ नै भएको पुजारी राजोपाध्याय बताउँछन् ।
चाँगुनारायण मन्दिरवरपर १६ ठाउँमा पहिरो
पुरातत्व विभागले टेवा पर्खाल लगाएर पुनर्निर्माणलाई निरन्तरता दिए पनि भूकम्पको धक्का, बालुवा उत्खननले उच्च जोखिममा रहेको विभिन्न अध्ययनले देखाएका छन् । माटो, बालुवा उत्खनन गर्दा जमिन भासिने, धाँजा फाट्ने क्रम बढेको हो । मन्दिर क्षेत्रवरिपरि प्रत्येक वर्ष सानातिना पहिरो झर्ने क्रम रोकिने होइन कि झन् बढेको छ । मनोहरा खोलाको बालुवा निकाल्न एक्साभेटर, ट्याक्टरजस्ता भारी उपकरण प्रयोग, खेलमैदान, अन्यत्रको निर्माणमा बढ्दै गएको बालुवा उत्खननले मन्दिरको जमिन भासिँदै गएको युनेस्कोको ठम्याइ छ । यो वर्षा मात्रै मन्दिरवरपर १६ ठाउँमा पहिरो गयो । यसले जोखिम अरू बढाएको छ । भूकम्पपछि भएका विभिन्न अध्ययनले कमजोर भू–सतहका कारण मन्दिर उच्च जोखिममा छ ।
इटालीका भूगर्भविद्हरूले भूकम्पपछि चाँगुनारायण क्षेत्रको अध्ययन गरी पुरातत्व विभागलाई प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा कमजोर, बलौटे र सजिलै बग्ने माटो भएको स्पष्टसाथ भनिएको छ । सो प्रतिवेदनले भिरालो संरचना भू–क्षय र पहिरोबाट जोगाउन तत्काल माटो, बालुवाजन्य वस्तु उत्खनन रोक्नुपर्ने, बायो इन्जिनियरिङ टेक्नोलोजी अपनाउनुपर्ने र ठाउँ–ठाउँमा रिटेनिङ, ग्याबिन वाल लगाउनुपर्ने सुझाब दिइएको छ । यस्तै युनेस्कोले गरेको रियाक्टिभ मोनिटरिङमा चाँगुनारायण मन्दिर रहेको जमिन भासिएको देखाएको थियो । भूकम्पपछि सरकारले पठाएको रिपोर्ट र भूविज्ञहरूको सूचनाका आधारमा युनेस्कोको ‘वल्र्ड हेरिटेज सेक्सन’ले गरेको अनुगमनमा मन्दिरका संरचना भत्किएको र जमिन भासिएको उल्लेख गरेको छ ।
चाँगुनारायण मन्दिर अझै भताभुंगै अवस्थामा
मन्दिर पुनर्निर्माणका लागि २४ करोड लागत इस्टिमेट योजनाअन्तर्गत पश्चिमी भागस्थित पुजारी घर, उत्तरी र पूर्वी भागको काम अहिले पनि भइरहेको छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका अनुसार सम्पदा र वातावरण संरक्षण फाउन्डेसनको सहयोगमा दक्षिणी भागमा रहेको अमात्य सत्तल सकिएको छ । भूकम्पमा भत्किएका लगभग सम्पूर्ण सम्पदा पुरानै स्थितिमा फर्किसके पनि चाँगुनारायण मन्दिर भने अझै भताभुंगै अवस्थामा देखिन्छ । सत्तलहरू भत्काउँदै बनाउँदै गरिँदा निर्माण सामग्री जताततै छरपस्ट देखिन्छन् । चाँगुनारायण मन्दिरको प्राचीन सम्पदा नै धुलाम्य छ । निर्माण ठेक्का लिएको ठेकेदार कम्पनी र स्थानीयबीच टकरावले काममा केही असहज भएको हो । सम्पदाको संरचनाबारे विवाद टुंगिएको छैन । यहीकारण निर्माणमा ढिला भएको पुरातत्वविद्हरू बताउँछन् ।
सम्झौताअनुसार पुनर्निर्माण अवधि यसअघि नै सकिएको छ । चाँगुनारायण पुनर्निर्माण हेर्ने इन्जिनियर पूर्णबहादुर श्रेष्ठ भन्छन्, ‘मन्दिर पूर्ण रूपमा तयार हुन अझै एक वर्ष लाग्ने देखियो ।’ निर्माण समयको आलटालले यहाँका अमूर्त सम्पदा लोप हुने जोखिम बढेको स्थानीयको भनाइ छ । मूल पुजारी राजोपाध्याय भन्छन्, ‘पुनर्निर्माण सुरु गरेको तीन वर्षभन्दा बढी भयो । संरचना नै नहुँदा यससँगै जोडिएर आउने जात्रा, पूजा प्रभावित भएका छन् । कतै लोप त हुँदैन,’ उनले प्रश्नयुक्त भावमा भने । पुनर्निर्माणमा ढिलाइको मुख्य कारण यहाँ चलिरहेको पहिरो भएको श्रेष्ठको ठम्याइ छ ।
अर्मूत संरचना लोप हुँदै
मन्दिरको उत्तर–पश्चिम क्षेत्रमा ६ वर्षयता लगातार पहिरो गइरहेको छ । पश्चिमपट्टि रहेको चाँगुनारायणको नौमध्ये महत्वपूर्ण चन्द्रसूर्यको मठसम्म पहिरोले छोएको छ । पुरातत्वले सत्तल पुनर्निर्माणका लागि पर्खाल लगाए पनि डाँडामुनिको निरन्तर बालुवा उत्खननका कारण जुनसुकै वेला पहिरो झर्ने स्थानीयबासी बताउँछन् । त्यसो त दशकौँदेखि पहिरोको जोखिम मानिँदै आएको चाँगु क्षेत्रका सम्पदा नासिँदै गएका छन् । ‘यस क्षेत्रको मुख्य धरोहर नौ दह लगभग लोप हुने अवस्थामा पुगेका छन्,’ पुरातत्वविद् मोहनसिंह लामाले भने, ‘शंख दह, धनचा दह, सिन्हः पुखु, ग्वाल्दह, बाँदह, तेपोवुंग्वा दह, अजिमा दह, फादह, काली दहमध्ये अधिकांश अहिले अवशेषका रूपमा मात्र छन् ।’
मुख्य मन्दिरसँग जोडिएर आउने शंख दह ०१२ मा गएको पहिरोसँगै भासिएको थियो । चाँगुनारायण नगरपालिकाका मन्दिर क्षेत्रका वडाध्यक्ष बुद्धिलाल श्रेष्ठका अनुसार शंख दह संरक्षणका लागि कैयौँपल्ट बजेट विनियोजन गरिए पनि दहले मौलिक स्वरूप पाएको छैन । पुनर्निर्माण प्राधिकरणले पनि पाँच करोड रुपैयाँ छुट्याएको छ ।
गत २६ पुसमा शिलान्यास गरिएको शंख दहमा खाल्डो खन्ने काम मात्र भएको छ । वडाध्यक्ष श्रेष्ठ भन्छन्, ‘संरक्षणतर्फ भएका कुनै कामको वडालाई जानकारी गराइँदैन ।’ यो मात्रै होइन, अरू ऐतिहासिक दहका जमिन भासिने, धाँजा फाट्ने र सुक्दै जाने क्रम चलेको छ । मन्दिरको भौतिक संरचनाले मात्र सम्पदा नजोगिने उनको भनाइ छ । पर्वअनुसार नाच, भजन, जात्रा, बाजा आदिको संरक्षणप्रति पनि चासो दिनुपर्छ । नगरपालिकाले यही मन्दिर देखाएर पर्यटनतर्फ एक करोडको टेन्डर हालेको छ, तर नियमित पर्व पनि लोप हुने अवस्थामा पुगेका छन् ।