मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २४ आइतबार
  • Tuesday, 11 March, 2025
२o७८ असोज २४ आइतबार o७:o२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सीमा क्षेत्रका नेपालीका समस्या समाधान गर्न तयार छौं : आदित्यनाथ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २४ आइतबार o७:o२:oo

उत्तर प्रदेशका मुख्यमन्त्रीसँग कांग्रेस प्रतिनिधिमण्डलको भेट

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सीमा क्षेत्रमा नेपाली नागरिक ओहोरदोहोरमा समस्या, बनारसस्थित नेपाली मन्दिर संरक्षणलगायतका विषयमा चासो राखेको छ । भारत भ्रमणको तेस्रो दिन शनिबार बिहान नयाँ दिल्लीबाट लखनउ पुगेको प्रतिनिधिमण्डललाई मुख्यमन्त्री आदित्यनाथले नेपालीहरूलाई परेको कुनै पनि समस्या समाधान गर्ने आश्वासन दिएका छन् । उनले दुई देशबीच बलियो धार्मिक सांस्कृतिक सम्बन्धमा पनि जोड दिएका छन् । 

भेटवार्तामा कांग्रेसको प्रतिधिमण्डलका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशरण महत तथा पार्टी नेताहरू उदयशमशेर राणा र अजय चौरसिया सहभागी थिए । योगी आदित्यनाथसँग भाजपा विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले पनि सहभागी थिए । महतका अनुसार मुख्यमन्त्री आदित्यनाथले नेपालको राष्ट्रियता बलियो हुनुपर्ने र त्यो भारतको हितमा रहेको बताएका छन् । ‘विशेषतः धर्म संस्कृतिमा जोड दिँदै आदित्यनाथजीले नेपालको राष्ट्रियता बलियो हुनुपर्छ, नेपाल बलियो हुनु मात्रै भारतको हितमा छ भन्ने धाराण राख्नुभयो,’ महतले भेटवार्तापछि लखनउबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘उहाँको जोड बलियो सांस्कृतिक सम्बन्धमा थियो ।’ 

महतले नेपालसँग भारतको लामो सीमा जोडिने भएका कारण उत्तर प्रदेशको सीमा क्षेत्रमा नेपालीलाई आवतजावतमा समस्या नहुने वातावरण बनाइदिन आग्रह गरेका थिए । जवाफमा मुख्यमन्त्री आदित्यनाथको भनाइ थियो, ‘नेपालीहरू हाम्रा विश्वासिला मित्र हुन् । उनीहरूलाई हामी हरतरहले सहयोग गर्छौँ, गर्दै आएका छौँ । उत्तर प्रदेश सरकारले नेपालीको समस्यालाई जहिल्यै प्राथमिकतामा राख्नेछ । ’ 

मुख्यमन्त्री आदित्यनाथले नेपालीलाई आफ्नो राज्यमा समस्या हुन नदिने र अप्ठेरो परेमा आफैँ अघि सरेर सहयोग गर्न तयार रहेको पनि बताए । उनले सनातन धर्म संस्कृति नेपाल र भारतको राजनीतिक मानचित्र बन्नुभन्दा हजारौँ वर्ष पहिलेदेखि रहिआएको भन्दै यसले दुई देशका जनतालाई जोडेको पनि बताए । ‘धर्मसंस्कृति कुनै देशको पहिचान हो । नेपाल यसमा पनि बलियो हुनुपर्छ,’ मुख्यमन्त्री आदित्यनाथलाई उद्धृत गर्दै कांग्रेस सहमहामन्त्री महतले भने । 

काशी विश्वनाथ मन्दिरको करिडोर विस्तारका क्रममा त्यहाँ रहेको पुरानो नेपाली मन्दिर भत्किने हो कि भन्ने चासो महतले राखेका थिए । जवाफमा मुख्यमन्त्रीले काशी विश्वनाथ मन्दिर करिडोरले नेपाली मन्दिरलाई नछुने गरी काम अघि बढ्ने सुनिश्चित भएको बताए । उनको भनाइ थियो, ‘म आफैँ पुगेको छु । त्यहाँ नेपाली मन्दिर र सम्पदा संरक्षित र सुरक्षित हुन्छ ।’ 

महत नेतृत्वको प्रतिनिधिमण्डलले भाजपा नेता एवं उत्तर प्रदेशका स्वास्थ्यमन्त्री सिद्धार्थनाथ सिंहसँग पनि भेटवार्ता गरेको छ । कांग्रेसको प्रतिनिधिमण्डल शनिबार सांस्कृतिक नगरी वाराणसी पुगेको छ । आइतबार वाराणसीस्थित काशी हिन्दू विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रमा आयोजित कार्यक्रममा महतसहित नेपाली प्रतिनिधिमण्डलले नेपाल भारत सम्बन्धबारे सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रतिनिधिमण्डलले शुक्रबार भारतीय विदेशमन्त्री डा.एस जयशंकर तथा बिहीबार भाजपा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेको थियो । भाजपा विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेको निमन्त्रणामा कांग्रेसको प्रतिनिधिमण्डल भारत भ्रमणमा गएको हो । महतमार्फत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भाजपा अध्यक्ष नड्डालाई नेपाल भ्रमणको निमन्त्रणा पठाएका छन् ।

भारत भ्रमण अत्यन्तै उपयोगी : महत 
अत्यन्तै उपयोगी भ्रमण भएको छ । भाजपाका नेताहरूले हामीलाई उच्च महत्व दिनुभएको छ । विजय चौथाइवालेजीको नेपाल भ्रमणपछि हाम्रो भ्रमण भएको हो । भाजपा अध्यक्षदेखि विदेशमन्त्रीसँग खुला र उपयोगी छलफल भयो । विदेश मन्त्रालयमा पनि राम्रो कुरा भयो । सकारात्मक माइन्डसेटमा कुरा भयो । म जे कुरा जहाँ भन्नुपर्ने हो, त्यहाँ भन्नुपर्छ भन्नेमा विश्वास गर्छु । सत्तारुढ पार्टीको नेता र नेपालका नागरिकका रूपमा मैले मुलुकको रुचि र चासो स्पष्ट रूपमा राखेँ ।

हामीबीच कतिपय विवाद सानो छ, त्यो सम्बोधन गर्दा ठूलो सन्देश जान्छ त्यसकारण तुइनदेखि सीमाका विषयमा छलफल गरौँ भन्ने कुरा मैले राखेको छु । भाजपा कार्यालयमा हामीलाई त्यहाँका विभिन्न मोर्चाका प्रमुखहरूले पार्टी सञ्चालनका बारेमा जानकारी गराए । दुई पार्टीबीच अझै विभिन्न तहमा अन्तक्र्रिया बढाउनुपर्छ भन्नेमा हामी पुगेका छौँ । भारतीय राष्ट्रिय कंग्रेससहित अन्य पार्टीका नेताहरूसँग पनि भेटवार्ता गर्ने इच्छा हुँदाहुँदै पनि समय नपुगेर हुन सकेन । यद्यपि मैले पुराना मित्रहरू विजय प्रताप, सुधीन्द्र भदोरियाजीसँग पनि कुराकानी गरेँ ।