
प्रकृति, संस्कृति र जीवनशैलीमा आधारित तस्बिरहरूको राष्ट्रिय प्रतियोगिता हुने भएको छ । ‘फरेभर नेपाल’ नाम दिइएको प्रतियोगिता आगामी मंसिरमा हुने आयोजक धन्सार डटकमले जनाएको छ ।
राजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा धन्सारका संस्थापक विनोद अधिकारीले आगामी सहभागिताका लागि फोटो पठाउन आग्रह गरे । तीन विषयवस्तुका तस्बिर प्रत्येक विधाका तीन–तीनजना गरी नौजना फोटो पत्रकारलाई पुरस्कारका लागि छनोट गरिने अधिकारीले जानकारी दिए ।
प्रथमलाई ३३ हजार, द्वितीयलाई २२ हजार र तृतीयलाई ११ हजार पुरस्कार दिइने उनले जानकारी दिए । छनोटका क्रममा ४० प्रतिशत नम्बर सार्वजनिक मत र ६० प्रतिशत मत निर्णायकबाट लिइनेछ ।
वरिष्ठ फोटो पत्रकार विकास रौनियारको संयोजकत्वमा फोटो पत्रकार क्लबका अध्यक्ष श्रुति श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त, केपिएका अध्यक्ष दिगम्बर राजवंशी, फोटो पत्रकार विकास खतिवडा र म्युजिएम अफ नेपाली आर्ट्सका कार्यकारी निर्देशक राजन शाक्य रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।