मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३० शनिबार
  • Saturday, 16 October, 2021
मञ्जु टेलर काठमाडौं
२०७८ असोज २२ शुक्रबार ०८:३६:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सिजन सकिए पनि घटेनन् फ्लुका बिरामी 

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ असोज २२ शुक्रबार ०८:३६:००

बिरामी बढेपछि टेकु अस्पतालले नेसनल इन्फ्लुएन्जा सर्भिलेन्स नेटवर्क डेस्क नै स्थापना गरेर सेवा दिँदै आएको छ, लक्षणसहित दैनिक आउने बिरामीमध्ये चारदेखि सातजनासम्ममा फ्लु पोजेटिभ देखिने गरेको छ 

काठमाडौं बालाजुमा बस्दै आएकी २७ वर्षीया रेजिना सोमबार दिउँसो टेकु अस्पतालकोे ओपिडीमा चेकजाँच गर्न पालो कुरिरहेकी थिइन् । उनमा केही दिनदेखि लगातार ज्वरो आउने र कमजोरी महसुस हुने गरेको थियो । सामान्य औषधिले निको नभएपछि उनका श्रीमान्ले सोमबार बिहानै टेकु अस्पताल ल्याएका हुन् ।

चेकजाँचपछि उनमा इन्फ्लुएन्जा पोजेटिभ देखियो । टेकुमा कोभिडबाहेकका बिरामी भर्ना लिन नमिल्ने भन्दै उनलाई प्रेस्क्रिप्सनसहित अर्को अस्पताल रिफर गरिदिए । चेकजाँचमा संलग्न चिकित्सकका अनुसार उनलाई अत्यधिक टाउको दुख्ने र ज्वरो आइरहने भएपछि पिसिआर गरिएको थियो । उनमा इन्फ्लुएन्जा बी देखिएको थियो । 

शेरबहादुर पुन भाइरोलोजिस्ट

अस्पतालसम्म पुग्ने बिरामीमा देखिने इन्फ्लुएन्जाहरूमा पछिल्लो वर्षहरूको तुलनामा एच३ अर्थात् हङकङ फ्लु र भिक्टोरियाका संक्रमित बढी छन् । योसँगै फ्लु बीअन्तर्गत यमागार्टा र भिक्टोरियाभन्दा फरक फ्लु बढी देखिन थालेको प्रष्ट छ ।

५४ वर्षीय वीरबहादुर गुरुङ पनि लगातार ज्वरो आउने, टाउको दुख्ने, पखाला लागिरहने समस्या भएपछि टेकु अस्पताल पुगेका थिए । जेठ अन्तिमतिर कोभिड संक्रमण भएकाले उनी पोस्ट कोभिडको शंका लागेर परीक्षणका लागि अस्पताल पुगेका थिए । तर, परीक्षणको क्रममा उनलाई पनि एन्फ्लुएन्जा बी देखियो । चिकित्सकको सल्लाहमा औषधि लिएर उन घर फर्के । उनी भन्छन्, ‘कोभिड संक्रमण भएको वेलामा समेत मैले यति दुःख पाएको थिइनँ । डाक्टरले नयाँ किसिमको फ्लु देखियो भनेका छन्, यसले अझै कति दुःख दिने हो थाहा छैन ।’

नेपालमा सामान्यतया जुलाईदेखि सेप्टेम्बर अन्तिमसम्म फ्लु संक्रमण बढ्ने गरेको तथ्यांक छ । तर, यो वर्ष अझैसम्म पनि फ्लुको जस्तै लक्षण लिएर अस्पताल पुग्ने दैनिक ४० देखि ५० जना हुने गरेको चिकित्सकहरू बताउँछन् । बिरामी बढेपछि टेकु अस्पतालले नेसनल इन्फ्लुएन्जा सर्भिलेन्स नेटवर्क डेस्क नै स्थापना गरेर सेवा दिँदै आएको छ ।

लक्षणसहित दैनिक आउने बिरामीमध्ये चारदेखि सातजनासम्ममा फ्लु पोजेटिभ देखिने गरेको छ । चिकित्सकहरूका अनुसार अघिल्लो वर्षको तुलनामा यो सेप्टम्बर अन्तिमसम्ममा इन्फ्लुएन्जाका बिरामी बढिरहेका छन् । 

नेपालमा फेब्रुअरीदेखि मार्च र जुलाईदेखि सेप्टेम्बरलाई फ्लुको सिजन मानिन्छ । कहिलेकाहीँ फ्लु स्ट्रेनअनुसार सिजन लम्बिन पनि सक्छ । चिकित्सकहरूका अनुसार, फ्लुलाई ए, बी, सी र डी ग्रेडमा राखिन्छ । सी र डीले खासै असर पुर्‍याएको पाइँदैन । तर ए अन्तर्गतका फ्लुले महामारीको रूपसमेत लिन सक्छ । यसमा एचवानएनवान (स्वाइनफ्लु), एच३ (हङकङ फ्लु), एच५एन१ (बर्डफ्लु) पर्छन् । यस्तै बी अन्तर्गत लिनेजमा यमागार्टा र भिक्टोरिया पर्छन् । 

कोभिडपछि नयाँ फ्लु 
अस्पतालसम्म पुग्ने बिरामीमा देखिने इन्फ्लुएन्जाहरूमा पछिल्लो वर्षहरूको तुलनामा एच३ अर्थात् हङकङ फ्लु र भिक्टोरियाका संक्रमित बढी छन् । योसँगै फ्लु बीअन्तर्गत यमागार्टा र भिक्टोरियाभन्दा फरक फ्लु बढी देखिन थालेको भाइरोलोजिस्ट शेरबहादुर पुन बताउँछन् । उनी भन्छन्, ‘सन् २०२१ पछि ‘नट डिटरमाइन्ड’ अर्थात पहिचान नभएको अर्को फ्लु देखिन थालेको छ । तीन सातायता ‘फ्लू बी’ बढी आक्रामक देखिएको छ ।’ पिसिआर परीक्षणमा यस्ता फ्लुहरू देखिए पनि यसबारे अनुसन्धान नहुँदा छुट्याउन गाह्रो हुने गरेको उनले बताए ।

भ्याक्सिन प्रयोग न्यून
कोभिड महामारीपछि फ्लुको भ्याक्सिन छायामा परेको छ । भ्याक्सिन प्रयोगका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र सिडिसीले फ्लुको भ्याक्सिन लगाउन आग्रह गरिरहेका छन् । डब्लुएचओको तथ्यांकअनुसार विश्वमा इन्फ्लुएन्जाका कारण हुने समस्याबाट मात्रै बर्सेनि लाखाैंको ज्यान जाने गरेको छ । अमेरिका र युरोपमा फ्लुको भ्याक्सिन लगाउन क्याम्पियन चलाइएको छ । तर, प्रत्येक वर्ष हजारौँको संख्यामा इन्फ्लुुएन्जा देखिने भएकाले भ्याक्सिन प्रयोगकर्ताको यकिन तथ्यांकसमेत उपलब्ध छैन । नेपालमा इन्फ्लुएन्जाको भ्याक्सिन सबैभन्दा धेरै आयात गर्ने एटिकेम मेडिसिन डिस्ट्रिब्युटरका अनुसार प्रत्येक सिजनमा चारदेखि ६ हजार डोज खोप नेपाल आउने गर्छ । प्रत्येक वर्ष बढीमा २५ हजार डोज खोप नेपाल ल्याइने अनुमान छ । 

फ्लुको स्ट्रेन परिवर्तन भइरहने हुँदा तीन वा चार किसिमका मात्रै भ्याक्सिन बन्ने गरेको छ । जुन निजी अस्पतालदेखि फार्मेसीमा उपलब्ध हुन्छ । सामान्यतया फ्लुको सिजन सुरु हुनुभन्दा दुई साताअगाडि भ्याक्सिन लगाउनुपर्ने मान्यता राखिन्छ । तर, नेपालमा फ्लुलाई बेवास्ता गर्ने भएकाले बढी प्रभावित भइरहेको डा. पुनको भनाइ छ । उनी भन्छन्, ‘हामीकहाँ फ्लुले पार्ने असरबारे अध्ययन नै गरिँदैन । यसले पुर्‍याउने क्षतिबारे अनुमान नहुँदा झनै समस्या बढिरहेको छ । केही वर्षयता नेपालमा फ्लुकै कारण दुई दर्जनभन्दा बढीको मृत्यु भएको देखेको छु ।’

भ्याक्सिन शतप्रतिशत प्रभावकारी छैन, तर मृत्युदर घटाउँछ
फ्लुविरुद्धको भ्याक्सिन शतप्रतिशत प्रभावकारी मानिँदैन । तर, यसले अस्पताल भर्नादर, गम्भीर समस्या र मृत्युदर घटाउने गर्छ । सामान्य औषधि र आरामपछि केही दिनमा निको हुने भए पनि कतिपय फ्लुले महामारीको समेत रूप लिने गरेको पाइन्छ । फ्लुको भ्याक्सिनको माग न्यून रहने र कतिपय अवस्थामा ल्याइएको भ्याक्सिनसमेत खेर जाने गरेको औषधि आयात कम्पनीहरूको भनाइ छ । सहज उपलब्धता भए पनि बेवास्ता गरिँदा बर्सेनि हजारौँ बिरामी अस्पताल पुग्न बाध्य छन् ।