मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
२०७८ असोज २१ बिहीबार ०६:४२:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्रकृति संरक्षकलाई नोवेल शान्ति पुरस्कार देऊ

Read Time : > 3 मिनेट
२०७८ असोज २१ बिहीबार ०६:४२:००

आइपिबिइएसलाई नोवेल शान्ति पुरस्कार दिएमा जैविक विविधता बचाउन काम गरिरहेका वैज्ञानिकहरू प्रोत्साहित हुनेछन्

  • हुँआ म्यानुयल सान्तोष
  • क्यारोल डाइस्कबर्ग
  • ज्याक गोल्डस्मिथ
  • स्भेन्जा स्कुल्ज
  • टेरेसा रिबेरा
  • पास्कल क्यानफिन

जैविक विविधता र प्रकृतिले यस ग्रहमा बसोवास गर्ने मानिसले पाइरहेको योगदान असाधारण छ । तर, केही वर्षदेखि यसमा कमी आइरहेको छ । कारण हामी मानिस नै हौँ । मानवीय क्रियाकलापका कारण विश्वमा प्राणी तथा वनस्पतिको विविधतामा ह्रास आइरहेको छ । प्रजातिहरू तीव्र गतिमा लोप भइरहेका छन् । परिणामस्वरूप, मानव स्वास्थ्य, खाना र जल सुरक्षा तथा गरिबी न्यूनीकरणमा गम्भीर असर पर्न थालिसकेको छ । हामीले पृथ्वीबाट लोप हुने जोखिममा रहेका झन्डै १० लाख जीव र वनस्पतिलाई लोप हुनबाट रोक्ने प्रयास गर्नुपर्छ । किनकि, हामी मानिसको नियति पनि अन्य जीवसँग जोडिएको छ । साथै, हरेक अवस्थामा प्रकृतिले विश्वका ७.८ अर्ब जनसंख्यालाई कुनै न कुनै हिसाबमा सहयोग पुर्‍याइरहेको हुन्छ । 

प्रकृति संरक्षण गरे सर्वाङ्गीण मानवीय कल्याण, जनस्वास्थ्य, खाद्य सुरक्षाका अतिरिक्त हामीले अपूरणीय आर्थिक स्रोतलाई जोगाउन सक्छौँ । ‘वर्ल्ड इकोनोमिक फोरम’द्वारा जनवरी २०२० मा जारी रिपोर्टअनुसार विश्वको झन्डै आधा कुल गार्हस्थ्य उत्पादन जल शुद्धीकरण, परागसेचन र रोग नियन्त्रणजस्ता ‘प्राकृतिक सेवा’मा निर्भर छन् । जैविक विविधता र पर्यावरणले मानिसलाई अन्य कैयौँ खतराबाट सुरक्षा प्रदान गरिरहेको हुन्छ । खाना र पानी संकटदेखि स्रोतको अभावका कारण हुने हिंसात्मक द्वन्द्वसम्म जैविक विविधता तथा पर्यावरणले कम वा निर्मूल हुन्छ। 

सन् २०२१ र २०२२ प्रकृति संरक्षण तथा पुनर्स्थापनाको विश्वव्यापी प्रयासमा कोसेढुंगा हुँदै छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले प्रत्येक चार वर्षमा आयोजना गर्ने ‘वर्ल्ड कन्जरभेसन कंग्रेस’ गत महिना फ्रान्सको मारसेइमा आयोजना भयो । त्यसले कुन्मिङ चीनमा संयुक्त राष्ट्रसंघीय जैविक विविधता सम्मेलनका लागि मार्गप्रशस्त गरेको छ (चीनमा हुने सम्मेलन दुई भागमा आयोजना हुनेछ । पहिलो अक्टोबरमा हुनेछ भने दोस्रो अप्रिलमा) । सम्मेलनमा विश्वभरका प्रतिनिधिले प्रकृति संरक्षणसम्बन्धी नयाँ ढाँचा अंगीकार गर्ने अपेक्षा छ । 

सन् २००७ मा नोवेल कमिटीले जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानललाई नोवेल शान्ति पुरस्कार दियो । त्यस पुरस्कारले विश्वव्यापी उष्णता विश्वव्यापी नीतिगत एजेन्डामा पर्न थाल्यो । अब कमिटीले जैविक विविधता क्षतिविरुद्ध काम गरिरहेका संस्थाहरूलाई पहिचान दिलाउन सक्छ ।

दुर्भाग्यवश ! प्रकृतिको दुरवस्था र त्यसले शान्ति र सुरक्षामाथि पुर्‍याएको क्षतिबारे सार्वजनिक रूपमा निकै कमलाई मात्र थाहा छ । केही वर्षदेखि जलवायु परिवर्तन हाम्रो समयको सबैभन्दा ठूलो समस्याका रूपमा हेर्न थालिएको छ, तर त्यही स्तरमा जैविक विविधताको ह्रासको खतरा आममानिसले बुझेका छैनन् । जबकि, यसले पनि मानव समाजको अस्तित्वमा जोखिम पुर्‍याउँदै छ र यसमा पनि तीव्रताका साथ विनाश आइरहेको छ । यथार्थमा जलवायु परिवर्तन र जैविक विविधताको विनाश एक–अर्कासँग गहिरोसँग गाँसिएका छन् । दुवै मानव इतिहासको सबैभन्दा जोखिमपूर्ण तहमा पुगेका छन् । 

हामी अहिले ऐतिहासिक मोडमा उभिएका छौँ । हामीले यी दुई संकटलाई अन्तरसम्बन्धित परिघटनाका रूपमा एकैपटक जुध्ने योजना बनाउन पनि सक्छौँ । जसको सफलता सुनिश्चित गर्न नीतिनिर्माता तथा नागरिकले समस्याको वैज्ञानिक बुझाइ विकास गर्न आवश्यक पर्छ । तब मात्र हामीले तथ्यांकमा आधारित भएर मानिस र पृथ्वीको दिगो तथा शान्तिपूर्ण भविष्यतर्फको रूपान्तरणलाई गति दिन सक्छौँ । 

सन् २००७ मा नोवेल पुरस्कार दिने नोवेल कमिटीले जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी)लाई नोवेल शान्ति पुरस्कार दियो । आइपिसिसीले पुरस्कार पाएपछि तापक्रम वृद्धि सबै देशका नीतिगत एजेन्डामा पर्न थाल्यो । त्यसपछि नै जलवायु परिवर्तनलाई अस्वीकार गर्नेहरूलाई नीति निर्माणदेखि सार्वजनिक बहसमा तर्क गर्न कठिन हुन थाल्यो । अहिले नोवेल कमिटीले जैविक विविधताका लागि पनि त्यस्तै स्थिति सिर्जना गर्ने लक्ष्य लिनुपर्छ । सो उद्देश्य हासिल गर्न हामीले ‘इन्टर–गभर्नमेन्टल साइन्स पोलिसी प्ल्याटफर्म अन बायोडाइभरसिटी एन्ड इकोसिस्टम सविसेस (आइपिबिइएस)’लाई सन् २०२१ को नोवेल शान्ति पुरस्कारका लागि मनोनीत गरेका छौँ । 

आइपिबिइएसले जैविक विविधताको विद्यमान अवस्था तथा त्यसको मानवमाथिको असरबारे उपलब्ध अनुसन्धान र तथ्यांकमध्ये सबैभन्दा उत्कृष्ट पक्षलाई समायोजन गर्न सहयोग गर्छ । आइपिसिसीबाट प्रेरित भएर यसले आफूलाई जैविक विविधता क्षेत्रमा विश्वकै उत्कृष्ट प्राधिकारको रूपमा स्थापना गरेको छ । उसले दिएको ज्ञानले नीतिनिर्माताहरूलाई प्रकृतिको संरक्षणसम्बन्धी निर्णय गर्न आवश्यक सूचना प्रदान गर्छ । आइपिसिसीजस्तै आइपिबिइएसले पनि अर्बौं मानिसको जीवन तथा जीवनशैलीलाई प्रत्यक्ष असर गर्ने विविध मुद्दालाई समेटेको छ ।

संस्थाले खाद्य सुरक्षाको जोखिममाथि प्रकाश पारेको छ । भूक्षयको प्रवृत्तिलाई लिपिबद्ध गर्छ र विश्वका हरेक क्षेत्रको जैविक विविधताको स्तरको मापन गर्दै प्रजातिको लोप हुने जोखिमलाई न्यूनीकरण गर्न सघाउँछ । आइपिपिबिइएसलाई नोवेल शान्ति पुरस्कार दिएमा नोवेल कमिटीले प्रकृतिको मूल्य, विज्ञानप्रतिको हाम्रो विश्वास र विविधतापूर्ण ज्ञान प्रणालीबारे स्पष्ट संकेत दिन सक्छ । यसले अहिलेको महत्वपूर्ण क्षणमा जैविक विविधता विनाश र पर्यावरणीय ह्रासको सामना गर्ने प्रयासलाई सघाउ पुर्‍याउँछ । पुरस्कारले यो मुद्दामा विश्वभर वैज्ञानिकहरूलाई प्रोत्साहन गर्नेछ । जुन जलवायु परिवर्तनविरुद्धको लडाइँमा सहयोगी साबित हुन्छ । प्रकृतिमाथि गम्भीर संकट आइपरेको र विज्ञानसँग त्यसलाई सम्बोधन गर्ने उपाय छ भन्ने स्पष्ट गर्नका लागि अहिलेजति उत्तम समय अरू छैन । 

कोलम्बियाका पूर्वराष्ट्रपति हुआँ म्यानुअल सान्तोष नोवेल शान्ति पुरस्कार विजेता हुन् । स्भेन्जा स्कुल्ज, क्यारोल डाइस्कबर्ग, टेरेसा रिबेरा, ज्याक गोल्डस्मिथ क्रमशः जर्मनी, लक्जेमबर्ग, स्पेन, बेलायतका वातावरणमन्त्री हुन् भने पास्कल क्यानफिन युरोपेली संसद् सदस्य तथा सो संसद्की वातावरण समितिकी अध्यक्ष हुन्

© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य