मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज २० बुधबार १६:४२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से ६८ अंकले बढ्यो, कारोबार रकममा ५० प्रतिशतको वृद्धि 

Read Time : > 1 मिनेट
२०७८ असोज २० बुधबार १६:४२:००

यस साताका लागि बजार खुला हुने अन्तिम दिन पनि नेप्सेमा वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर दुई हजार ६ सय ८१ बिन्दुमा पुगेको छ । केही बैंकहरूले ब्याजदरमा वृद्धि गरेको सन्देश बचतकर्ताहरूलाई पठाइरहेका छन् । यद्यपि यस्तो बचतदरमा सामान्य मात्रै वृद्धि गरेको देखिन्छ । 

सरकारी खर्च बढ्न लागेकोले बैंकहरूमा तरलता अभावको समस्या समाधान हुन सक्ने अनुमान गरिएको छ । यद्यपि बैंकहरूले ब्याजदर सार्वजनिक गर्न बाँकी रहेको छ । 

केही लघुवित्तहरूको उच्च दरमा लाभांश घोषणा भइरहेको कारण पनि लाभांशप्रति लगानीकर्ताहरू आशावादी देखिन थालेका छन् । यस दिन मात्रै १२ वटा संस्थाको मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । यसरी सर्किट ब्रेक लाग्नेमा एक विकास बैंक, दुईवटा वित्त कम्पनी र बाँकी सबै लघुवित्त संस्थाहरू रहेका छन् । 

२८ प्रतिशत बोनस सेयर घोषणा गरेको ग्लोबल आइएमई  लघुवित्त, ३१ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश दिन लागेको सबैको लघुवित्तको मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ । १० प्रतिशत नै बोनस सेयर घोषणा गरेको सांग्रिला डेभलपमेन्ट बैंकको मूल्य भने करिब ३ प्रतिशतले वृद्धि भएको छ । 

लघुवित्त, विकास बैंक र वित्त कम्पनीमा लगानीकर्ताहरूको आकर्षण बढेको छ । लघुवित्त र वित्त कम्पनी समूहमा क्रमशः ५ दशमलव ८० प्रतिशतदेखि ६ दशशलव ५९  प्रतिशतसम्म वृद्धि भएको छ । यस दिन कारोबारमा आएका सबै समूहगत सूचकमा वृद्धि भएको छ । 

कारोबारमा आएका दुई  सय २७ किसिमका धितोपत्र तथा ऋणपत्रलगायतमा दुई सय पाँचवटाको मूल्य बढेको र १३ वटाको मात्र मूल्य घटेको छ । बुधबार कुल कारोबार रकममा पनि केही सुधार देखिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५० प्रतिशतले वृद्धि भएर चार अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएको हो । 

लाभांश दरमा चित्त नबुझाएका लगानीकर्ताले एनआइसी एसिया लघुवित्तमा भने कारोबार बढाएका छन् । दुई रुपैयाँले मूल्य घटे पनि कारोबारमा भने वृद्धि भएको छ । कारोबार रकम (१६ करोड ८५ लाख रुपैयाँ)का आधारमा यो कम्पनी दोस्रो स्थानमा छ । 

सिटिजन्स बैंकको सबैभन्दा धेरै २३ करोड रुपैयाँको कारोबार भएको छ । कम्पनीको मूल्य भने तीन रुपैयाँले वृद्धि भएको हो । १२ दशमलव ९१ प्रतिशत बोनस र तीन प्रतिशत नगद लाभांश घोषणा गरेको सिटिजन्स बैंकको लाभांश हात पार्ने अन्तिम दिन भएकोले कारोबारमा वृद्धि भएको हो । २२ असोजमा बैंकको सेयर दाखिला बन्द हुनेछ ।