१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज २० बुधबार ०८:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जलाशयले फेरिएको जीवनशैली : किनेर खानेहरू तरकारी बेच्न थाले

Read Time : > 1 मिनेट
२०७८ असोज २० बुधबार ०८:३४:००

घोराही उपमहानगरले बर्गदीमा जलाशय बनाइदिएपछि त्यहाँका स्थानीयलाई राहत भएको छ ।  सिँचाइ अभावका कारण ठूलो क्षेत्रफलको जमिनमा उत्पादन अत्यन्तै कम हुने गरेको थियो । जलाशयको निर्माणसँगै गाउँलेको जीवनस्तर बदलिएको छ । बाँझो र सुक्खा रहने खेतहरू तरकारीले हरियाली भएका छन् । त्यही तरकारीबाट उनीहरूले मनग्य आम्दानी गर्ने गरेका छन् । स्थानीय छल्लु चौधरी भन्छन्, ‘सधैँ तरकारी किनेर खाने हामी अहिले बेच्छौँ पनि । यसकै कमाइले परिवार पाल्न मात्र होइन, दुई–चार पैसा जोगाउन पनि सकेका छौँ ।’ 

जलाशय निर्माणपछि सिँचाइको सहज पहुँच पुग्दा किसानहरू उत्साहित छन् । अहिले वार्षिक करिब पाँच लाखसम्म आम्दानी हुने चौधरी बताउँछन् । ‘पहिले वर्षातको समयमा मात्रै धान रोपिन्थ्यो, त्यो पनि आकासेपानीको भरमा । अब भने बाह्रै महिना मन लागेको खेती लगाउन पाउने भएका छौँ । सिँचाइ सुविधा नहुँदा आकासेपानीको विकल्प थिएन,’ उनी भन्छन्, ‘जब जलाशय निर्माण भयो,  त्यसपछि हामीले वैशाखमा मकै खेती त्यसपछि धानखेती गर्छौँ । धान काटेको केही दिन पनि खेत खाली रहन्न । तरकारी लगाउन हतार हुन्छ ।’ 

यहाँका किसानले वर्षमा दुई सिजन त तरकारी खेती गर्छन् । मौसमी, बेमौसमी दुवै खालको बाली तथा तरकारी खेती मनग्य हुन्छ । यसबाट खान मात्र होइन आम्दानी पनि राम्रो हुने स्थानीय किसान बताउँछन् । हिउँदमा  पनि बोडी, सिमी, भिन्डी, काँक्रा, टमाटर तरकारी बाली हुन्छ । तोरी, मकै, गहुँ पनि राम्रो उत्पादन हुन्छ ।

उपमहानगरले जलाशय बनाएपछि कुनै जग्गा कतिखेरै बाँझो नरहने किसानहरू बताउँछन् । ‘अधिकांश जमिन बाँझै राख्नुपर्थ्याे, युवाहरू बिदेसिन्थे । किसानहरू काम नपाएर सधैँ भौतारिनुपर्ने,’ उनले भने, ‘अहिले अवस्था फेरिएको छ, गाउँ नै हराभरा छ, आर्थिक हिसाबले सशक्त भएको आभास हुन्छ ।’ चैत–वैशाखको खडेरीमा हरिया मकैका घोगा बेच्न पाउँदा आनन्द महसुस हुने अनुभव किसानहरू सुनाउँछन् ।

यो गाउँको छल्लु मात्र होइन, सबै स्थानीय कृषिकर्ममै आबद्ध छन् । दाङका प्रायः बजारहरूमा यही गाउँका तरकारी पुग्छन् ।  सोही ठाउँका अर्का किसान प्रेम रावतले भने, ‘हामीले उत्पादन गरेको तरकारी दाङका विभिन्न बजारमा पुग्ने गर्छ ।’ केहीले आफ्नै जग्गामा त, केहीले भाडामा लिएर पनि व्यावसायिक रूपमा तरकारी खेती गर्ने गरेका छन् । प्रायले ४–५ कट्ठामा व्यावसायिक खेती गर्ने गरेका छन् । रावतले धान भित्र्याएलगतै तरकारी रोप्ने तयारी सुनाए ।

विदेशबाट फर्किएका राजु चौधरी पनि करिब पाँच कट्ठा जग्गामा व्यावसायिक तरकारी खेती गर्छन् । उनी पनि तीन वर्ष विदेशमा बसे । अहिले घरमै बसेर मासिक पाँच लाखभन्दा बढी कमाउँछन् । सिँचाइ मात्रै होइन, निर्माण भएका यी ड्याममा माछापालन पनि उत्तिकै फस्टाएको छ । जलाशयमा माछा पालिएको छ । अब केही समयमा बेच्न हुन्छ । माछाका भुरा पनि घोराही उपमहानगरपालिकाबाटै प्राप्त भएको हो । बर्गदी  गाउँका १४–१५ किसानले व्यावसायिक रूपमा तरकारी खेती गरिरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए । 

घोराही उपमहानगरले यस्तै २६ वटा जलाशय निर्माण गरेको छ । घोराहीभित्रको ४०५.२६ हेक्टर जमिनमा सिँचाइ पुगेको छ । यो बहुउपयोगी भएकाले उपमहानगरले लगानी गरेको उनको कथन छ । ‘ती ड्याम बहुउपयोगी छन्,’ उनले भने, ‘त्यसैले हामीले जलाशयमा लगानी पनि बढाएका छौँ ।’