१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रसुवागढी नाका हुँदै चीनबाट भित्र्याएको भेडा– च्यांग्रा । तस्बिर : अनु आचार्य/नयाँ पत्रिका
अजित अधिकारी काठमाडौं
२०७८ असोज १८ सोमबार ०८:१५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँका लागि सरकारले खसी–बोका खरिद गर्न थाल्यो, व्यवसायीले चीनबाट ल्याइसके च्यांग्रा

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७८ असोज १८ सोमबार ०८:१५:००

आसन्न दसैँका लागि काठमाडौं उपत्यकामा मागअनुसार खसी–बोका र च्यांग्रा भित्र्याउन सरकार र निजी क्षेत्र क्रियाशील भएका छन् । सरकारको तर्फबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद प्रक्रिया अघि बढाएको छ भने व्यवसायीले मुस्ताङबाट हिँडाएका च्यांग्रा म्याग्दीको बेनी आइपुगेका छन् ।

यो वर्ष दसैँमा (घटस्थापनापछि) ५० हजारभन्दा बढी खसी–बोका र च्यांग्राको खपत हुने अनुमान छ । सोहीअनुसार आवश्यक तयारी भइसकेको चौपाया खरिद–बिक्री सेवासंघका पूर्वअध्यक्ष दीपक थापाले बताए । ‘दसैँमा उपभोक्ताले मागेजति खसी–बोका पाउन सक्नुहुन्छ,’ उनले भने, ‘भारत र नेपालका विभिन्न पकेट क्षेत्रबाट उपत्यकामा खसी–बोका ल्याइनेछन् ।’

उनका अनुसार दसैँमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय खसी–बोका उपलब्ध हुनेछन् । दसैँमा एकैपटक ठूलो मात्रामा खसी–बोकाको माग हुने हुँदा स्थानीय उत्पादनले धान्न नसकी आयात हुने गरेको हो । सामान्य अवस्थामा भने थोरै मात्रामा भारतीय, खसी–बोका आउने गरेको थापाले बताए । दसैँमा करिब ४५ सय च्यांग्रा उपत्यकामा उपलब्ध गराउने व्यवसायीको योजना छ । सोहीअनुसार पहिलो खेपका च्यांग्रा मुस्ताङबाट हिँडिसकेका छन् । ‘आइतबार म्याग्दीको बेनीमा च्यांग्रा आइपुगेका छन् । मुस्ताङबाट हिँडाएरै बेनीसम्म ल्याइएको हो,’ थापाले भने, ‘अब गाडीमा हालेर काठमाडौं ल्याइनेछ ।’ जिउँदो च्यांग्रा प्रतिकिलो एक हजार दुई सय रुपैयाँमा बिक्री गर्ने व्यवसायीको योजना छ ।

त्यस्तै, सरकारको तर्फबाट खाद्य कम्पनीले खसी–बोका खरिद प्रक्रिया अघि बढाएको छ । कम्पनीको सहायक महाप्रबन्धक श्रीमणि खनालका अनुसार दाङमा आठ सय खसी–बोका खरिद गर्न स्वीकृति दिइएको छ । त्यहाँका किसानबाट २५ किलोभन्दा माथिको जिउँदो खसी प्रतिकिलो पाँच सय ६५ रुपैयाँसम्म र २० देखि २४ किलोसम्मको जिउँदो खसी प्रतिकिलो पाँच सय ५० रुपैयाँसम्ममा खरिद गर्न स्वीकृति दिइएको हो ।

‘दाङबाट १८ किलोभन्दा बढी तौल भएको बोका किन्नु भनेका छौँ । त्यसको खरिद मूल्य पाँच सय ४५ रुपैयाँसम्म हुनुपर्ने गरी सीमा निर्धारण गरी बजेट पठाएका छौँ,’ खनालले भने, ‘अब सोमबारबाट खरिद प्रक्रिया सुरु हुन्छ ।’ कम्पनीले वीरगन्ज र हेटौँडालाई पनि चाँडै बजेट पठाएर खरिद प्रक्रिया अगाडि बढाउन लगाउने उनले बताए । सबै क्षेत्रबाट खरिद गरेका खसी–बोका काठमाडौंसम्म ल्याउँदाको लागत जोडेर बिक्री मूल्य निर्धारण गर्ने र त्यसमा १० रुपैयाँ प्रतिकिलो छुट उपभोक्ता मूल्य निर्धारण गर्ने खनालले बताए । खाद्य कम्पनीले घटस्थापनादेखि खसी–बोकाको बिक्री सुरु गर्ने योजना बनाएको छ । यसपटक सुरुमै दुई हजार खरिद गर्ने र अपुग भए थप खरिदका लागि तयारी अवस्थामा बस्ने खनालले जानकारी दिए ।

 मासुको मूल्य महँगिने
खसी–बोका र च्यांग्राको मासुको मूल्य दसैँमा महँगो पर्ने देखिएको छ । आजभोलि नै कलंकी खसी बजारमा जिउँदो भारतीय खसी प्रतिकिलो सात सय र नेपाली खसी प्रतिकिलो ६ सय ४० देखि ६ सय ५० रुपैयाँसम्ममा खरिद–बिक्री भइरहेको छ । पसलहरूमा काटेर तयार गरेको खसीको मासु प्रतिकिलो औसतमा एक हजार तीन सय रुपैयाँ छ । दसैँमा माग बढ्ने हुँदा मूल्यमा थप चाप पर्ने व्यवसायी दीपक थापा बताउँछन् ।

‘यस वर्ष दसैँमा खसी–बोका र च्यांग्राको मासुको मूल्य अझै बढ्छ । जिउँदो च्यांग्राको मासुको मूल्य प्रतिकिलो एक हजार दुई सय रुपैयाँ पुग्ने देखिएको छ,’ उनले भने । मासुको मूल्य नियन्त्रण गर्न खाद्य कम्पनीले दुई हजार खसी–बोका ल्याएर बजारभाउभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा बिक्री गर्ने निर्णय गरेको छ । यसले केही हदसम्म मूल्य नियन्त्रणमा सघाउ पुग्नेछ ।

कहाँ–कहाँबाट आउँछन् खसी–बोका ?
खाद्य कम्पनीले दाङ, वीरगन्ज र हेटौँडाबाट खसी–बोका ल्याउने तयारी गरेको छ । कम्पनीका सहायक महाप्रबन्धक श्रीमणि खनालका अनुसार कुल दुई हजार खसी–बोका ल्याउने योजना छ । ‘माग बढ्यो भने थप खसी–बोका पनि ल्याउन सकिन्छ,’ उनले भने । खाद्य कम्पनीले खसी–बोका खरिद गर्न करिब ६ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।

यसमध्ये दाङबाट आठ सय र वीरगन्ज तथा हेटौँडाबाट १२ सयवटा खसी–बोका ल्याउने गरी खरिद प्रक्रिया अघि बढाइएको छ । त्यस्तै, व्यवसायीले भारतको लखनउलगायत विभिन्न पाँच ठाउँबाट खसी–बोका ल्याउनेछन् । मुलुकभित्रका जनकपुर, बर्दिया, दाङ, कोहलपुर, सल्यान, रोल्पा, सुर्खेत, रामेछाप, ओखलढुंगा, नुवाकोट, धादिङलगायतका जिल्लाबाट उपत्यकामा खसी–बोका आउनेछन् । च्यांग्रा भने मुस्ताङबाट ल्याइनेछ ।