Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी काठमाडाैं
२०७८ असोज १६ शनिबार ०९:२७:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्नातक तहका १३२ विद्यार्थीलाई  दिएको शैक्षिक प्रमाणपत्र नै शंकास्पद

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ असोज १६ शनिबार ०९:२७:००

ठगी मुद्दामा पक्राउ परेका कलेज सञ्चालक सञ्जय थप अनुसन्धानको घेरामा

इन्टरनेसनल टिचिङ युनिभर्सिटी अफ जर्जियाबाट सम्बन्धन प्राप्त भन्दै काठमाडौंको इन्टरनेसनल कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टका एक सय ३२ विद्यार्थीलाई ट्रान्सक्रिप्ट वितरण, तर नेपालका कुनै पनि कलेजलाई सम्बन्धन नदिएको विश्वविद्यालयको जवाफ 

सञ्जय झा

कलेजको सेयर दिने भन्दै ठगी धन्दामा संलग्न रौतहट ईशनाथ– ३ का ५० वर्षीय सञ्जय झाले बाँडेको विदेशी विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र नै शंकास्पद देखिएको छ । सञ्जयले इन्टरनेसनल टिचिङ युनिभर्सिटी अफ जर्जियाबाट सम्बन्धन प्राप्त भन्दै काठमाडौंको इन्टरनेसनल कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट (आइसिएचएम)बाट बिएचएम (ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट) २०१३ ब्याचका एक सय ३२ विद्यार्थीलाई तीन वर्षअघि ट्रान्सक्रिप्ट बाँडेका थिए । तर, विश्वविद्यालयले नेपालस्थित कुनै पनि कलेजलाई सम्बन्धन नदिएको, विश्वविद्यालयमा कुनै पनि नेपाली विद्यार्थी भर्ना नभएको र दक्षिण एसियामै विश्वविद्यालयको क्षेत्रीय शाखा कार्यालय नभएको स्पष्ट पारेको छ । 

आइसिएचएमबाट बाँडिएको ट्रान्सक्रिप्ट शंकास्पद देखिएपछि सञ्जयका एक व्यापारिक साझेदारले विश्वविद्यालयका तत्कालीन मानार्थ प्रोफेसर डा. हबिल क्लाउज ओस्ट्रेचरलाई पत्र लेखेका थिए । क्लाउजले पटक–पटकको जवाफमा नेपालको कुनै पनि कलेजलाई युनिभर्सिटी अफ जर्जियाले सम्बन्धन नदिएको, विश्वविद्यालयमा कुनै पनि नेपाली विद्यार्थी अध्ययन नगरेको र कसैलाई ट्रान्सक्रिप्ट बाँडेको भए त्यो नक्कली रहेको बताएका छन् । ‘नेपालमा रहेको कुनै पनि संस्था र व्यक्तिलाई विश्वविद्यालयको नाममा शैक्षिक गतिविधि गर्न स्वीकृति दिएको छैन । यदि कसैले विश्वविद्यालयको नाममा शैक्षिक प्रमाणपत्र बाँडेको छ भने त्यसको कुनै मान्यता छैन । किनकि जर्जियाको शैक्षिक कानुनले त्यस्तो प्रमाणपत्र बाँड्न कसैलाई पनि अधिकार दिँदैन,’ क्लाउजले सोमबार पठाएको इमेलमा लेखेका छन् । 

स्रोतका अनुसार आइसिएचएम ब्लक ‘बी’ ललितपुरमा अध्ययनरत ४२ र आइसिएचएम पिंगलास्थानमा अध्ययनरत ९० विद्यार्थीलाई कलेजले हायात होटेलमा दीक्षान्त कार्यक्रम गरेरै युनिभर्सिटी अफ जर्जियाको ट्रान्सक्रिप्ट बाँडेको थियो । २०१८ जुलाईमा भएको दीक्षान्त कार्यक्रममा युनिभर्सिटी अफ जर्जियाको प्रतिनिधि भन्दै युनिस (युनिभर्सिटी इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड युरोप स्टडिज)का जोभन डेडरलाई ल्याइएको थियो । विद्यार्थीलाई बाँडिएको ट्रान्सक्रिप्टमा समेत उनै डेडरले हस्ताक्षर गरेका थिए । 

यसबारे पनि क्लाउजले इमेलमा लेखेका छन्, ‘युनिसका नाममा डेडरले बाँडेको प्रमाणपत्र आफैँमा नक्कली हो । जर्जिया विश्वविद्यालयले कुनै पनि प्रतिनिधिलाई प्रमाणपत्र डिजाइन गर्न अधिकार दिएको छैन । हामीले यो विषयमा बुझ्दा यो सब अंग्रेजी भाषा बोल्ने पश्चिम युरोपियन मुलुकको देन हो भन्थ्यो । त्यसवेला उसको जर्जियन शिक्षा मन्त्रालयसँग पनि राम्रो सम्बन्ध थियो । उसले मन्त्रालयमा पनि सल्लाह दिने गथ्र्यो । अहिले आएर त्यो व्यक्तिले बदमासी गरेको बुझेको छु ।’

प्रमाणपत्रको विषयमा विवाद बढेपछि युनिभर्सिटी अफ जर्जियाका रेक्टर प्रोफेसर डा. माजिया काटामाड्जेले तीन वर्षअघि नै आइसिएचएमले बाँडेको सबै प्रमाणपत्र झुटो रहेको प्रस्ट परेका थिए । ११ भदौ ०७५ मा सञ्जयका एक व्यापारिक साझेदारलाई माजियाले इमेल गरेका थिए, ‘जर्जिया विश्वविद्यालयको नाममा युनिस लेटरलेन्डले बाँडेको प्रमाणपत्रका बारेमा ध्यानाकर्षण भयो । बाँडिएका प्रमाणपत्र हामीले अध्ययन गर्‍यौँ । ती विश्वविद्यालयबाट स्वीकृत गरिएका होइनन् । न प्रमाणपत्रमा हस्ताक्षर गर्न विश्वविद्यालयले कसैलाई अधिकार नै दिएको छ । विश्वविद्यालयबाट शैक्षिक प्रमाणपत्र लिन विद्यार्थी भौतिक रूपमै कलेजमा हाजिर हुनुपर्छ । तर, हाम्रो कलेजमा कुनै पनि नेपाली विद्यार्थी अध्ययन गरेको रेकर्ड हामीसँग छैन । त्यसो हुँदा बाँडिएका सबै प्रमाणपत्र नक्कली हुन् ।’

ठगीमा संलग्न सञ्जय अहिले पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन् । उनलाई गत ११ भदौमा प्रहरीले पक्राउ गरेको हो । २९ भदौमा काठमाडौं जिल्ला अदालतले गरेको आदेशपछि उनी पुर्पक्षका लागि जेल गएका हुन् । केन्ट ग्रुपबाट सञ्चालित केन्ट कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टको सेयर दिने प्रलोभनमा उनले धनुषा दुहवी– ३१ का ४२ वर्षीय प्रवीणकुमार झालाई दुई करोड ४४ हजार एक ३४ रुपैयाँ ठगेका थिए । 

शिक्षा मन्त्रालयमा पेस गरिएका कागजात पनि शंकाको घेरामा

मन्त्रालयमा पेस कागजातअनुसार आइसिएचएम काठमाडौंले २८ नोभेम्बर ०१६ (१३ मंसिर ०७३)मा जर्जियास्थित इन्टरनेसनल टिचिङ युनिभर्सिटी अफ जर्जियाबाट सम्बन्धन लिएको देखाएको छ । कागजातमा विश्वविद्यालयका तर्फबाट प्रोफेसर डा. हबिल क्लाउज ओस्ट्रेचरले नै हस्ताक्षर गरेको देखिन्छ । तर, उनै क्लाउजले पटक–पटक इमेल लेखेर नेपालका कुनै पनि कलेजलाई विश्वविद्यालयले सम्बन्धन नदिएको बताउँदा मन्त्रालयमा पेस कागजात शंकास्पद देखिन्छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले आइसिएचएमको सम्बन्धनको विषयमा भएको विवादबारे आफू जानकार नभएको बताए । 

नक्कली प्रमाणपत्र बाँड्न माइन्युट 

आइसिएचएम कलेज काठमाडौं र आइसिएचएम कलेज ललितपुर भारतको कर्नाटकस्थित कर्नाटक ओपन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त भई सञ्चालित थिए । कर्नाटकले भारतबाहेक अन्य मुलुकका कलेजलाई सम्बन्धन दिन नसक्ने भनेपछि आइसिएचएम काठमाडौं र आइसिएचएम ललितपुरसँग विश्वविद्यालयको सम्बन्धन टुट्यो । तर, दुवै कलेजले विद्यार्थी लिई पठनपाठन भने यथावत् राखेका थिए । 

आइसिएचएम काठमाडौंले १३ मंसिर ०७३ मा मात्रै जर्जियास्थित इन्टरनेसनल टिचिङ युनिभर्सिटी अफ जर्जियाबाट सम्बन्धन लिएको व्यहोराको कागजात शिक्षा मन्त्रालयमा पेस गरेको छ । तर, कलेजमा अध्ययनरत त्यसअघिका विद्यार्थीको सम्बन्धनमा कुनै सम्बोधन नभएपछि उनीहरूले कजेजमा दबाब दिन थाले । समस्या समाधान गर्ने भन्दै यही वेला देखा परे, बुद्धनगरस्थित केन्ट (कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट)का सञ्चालक सञ्जय । १५ जेठ ०७५मा केन्टका सञ्चालक सञ्जय आइसिएचएम कलेज काठमाडौंका सञ्चालक शिवकुमार श्रेष्ठ, आइसिएचएम कलेज ललितपुरका व्यवस्थापक रवीन्द्र नाथ, प्रमोदकुमार बानियाँ र मनोजकुमार श्रेष्ठबीच बैठक भयो । बैठकबाट काम बाँडफाँडको माइन्युट नै तयार गरियो । माइन्युटअनुसार विद्यार्थीको लब्धांक, ट्रासक्रिप्ट एउटै फम्र्याटमा बनाउने र विद्यार्थीबाट रकम असुल्ने जिम्मा सञ्जयले लिए । विश्वविद्यालय (इन्टरनेसनल टिचिङ युनिभर्सिटी अफ जर्जिया)सँग समन्वय भने बैठकमा सहभागी सबैले गर्ने निर्णय गरे । 

निर्णयअनुसार नै विश्वविद्यालयको नाम राखेर रातारात प्रमाणपत्र तयार गरियो । हायात होटेलमा दीक्षान्त समारोह गरियो । कार्यक्रममा विश्वविद्यालयको प्रतिनिधि भन्दै युनिभर्सिटी इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड युरोपियन स्टडिज, नेदरल्यान्डका जोभन डेडरलाई ल्याइयो । शैक्षिक प्रमाणपत्रमा उनैलाई हस्ताक्षर गर्न लगाइयो । इन्टरनेसनल टिचिङ युनिभर्सिटी अफ जर्जियाका तत्कालीन रेक्टर प्रोफेसर डा. माजिया काटामाड्जे र मानार्थ प्राध्यापक प्रोफेसर डा. हबिल क्लाउज ओस्ट्रेचरले त्यही वेला नै इमेल गरेर नेपालका कुनै पनि विद्यार्थी विश्वविद्यालयमा नपढ्ने र विश्वविद्यालयका कुनै पनि प्रतिनिधि नेपाल नपठाएको स्पष्ट पारेका थिए ।

सम्बन्धन सन् २०१६ मा लिएर त्यसअघिका विद्यार्थीलाई पनि प्रमाणपत्र बाँडेका हौँ : सविता श्रेष्ठ, सञ्चालक, आइसिएचएम काठमाडौं

आसिएचएम काठमाडौंले पहिला कर्नाटक युनिभर्सिटीबाट सम्बन्धन लिएको थियो । भारतबाहेकका मुलुकका कलेजलाई सम्बन्धन दिन नसक्ने भनेपछि विश्वविद्यालयसँगको हाम्रो सम्बन्धन टुट्यो ।

त्यसपछि हामी अर्को विश्वविद्यालयको खोजीमा लाग्यौँ । यही क्रममा युनिसमार्फत इन्टरनेसनल टिचिङ युनिभर्सिटी अफ जर्जियाको सम्पर्कमा पुग्यौँ ।

०१६ मा हामीले सम्बन्धन लिएका हौँ । तर, कलेजमा त्यसअघिका विद्यार्थी पनि थिए । उनीहरू सबैलाई हामीले नयाँ सम्बन्धनप्राप्त विश्वविद्यालयकै प्रमाणपत्र दिएका हौँ । विश्वविद्यालयका प्रतिनिधि पनि काठमाडौं आएका हुन् ।

उनीहरूले नै प्रमाणपत्रमा हस्ताक्षर गरेका हुन् । तर, अहिले विश्वविद्यालयबाट कसैलाई पनि सम्बन्धन नदिएको भन्ने व्यहोरायुक्त इमेल आएको छ । मैले पनि एउटा इमेल हेरेँ । विश्वविद्यालयकै रेक्टरबाट यस्तो इमेल आएपछि हामी छक्क परेका छौँ । यस विषयमा छलफल हुँदै छ ।