रुपन्देहीको तिलोत्तमा– ५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारीको रहस्यमय मृत्युको २६ दिन बित्दा पनि उनको शव उठ्न सकेको छैन । सीताका आफन्तहरूले उनको हत्या भएको भन्दै सोहीअनुसार मुद्दा अगाडि बढाउनुपर्ने माग राख्दै आएका छन् ।
प्रहरीले आत्महत्या दुरुत्साहनमा अनुसन्धान अगाडि बढाएको छ भने सीताका आफन्तहरू आन्दोलनमा छन् । घट्ना भएको २६ दिन बित्दासमेत अनुसन्धान नभएको र न्याय नपाइएको गुनासो आफन्तहरूको रहेको छ । उनीहरूले पछिल्ला दिनमा सडकमा उत्रिएर विरोध प्रदर्शनसमेत गर्न थालेका छन् ।
सीताकी आमा पुनम भण्डारीले छोरीको हत्या नै भएका तमाम प्रमाणहरू रहँदासमेत प्रहरीले सोहीअनुसार अनुसन्धान र कारबाही अगाडि नबढाएकाले शव बुझ्न नसकिएको बताइन् । न्याय नपाउँदासम्म शव नबुझ्ने उनको भनाइ छ । पीडित पक्षले बुधबार सिद्धार्थ राजमार्गमा नारा लगाउँदै प्रर्दशन गरेका थिए । उनीहरूले बिहीबार दिउँसो पनि नारा लगाउँदै विरोध प्रर्दशन गरे ।
दोषीलाई कारबाही र महिला हिंसा रोक्न उनीहरूको माग छ ।
सिआइबीले पनि अनुसन्धान गर्दै
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरीप्रमुख प्रहरी उपरीक्षक मनोज केसी प्रहरीले घट्ना अनुसन्धान गरिरहेको बताउँछन् । ‘आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएर अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘तीनजना हिरासतमा छन्, प्रहरीले यसबारेमा अनुसन्धान जारी राखेको छ ।’
एसपी केसीका अनुसार अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पनि खटिएको छ । सीताकी आमा पुनमले सिआइबीको रिपोर्ट १० दिनमा आउँछ भनिए पनि नआएपछि सडकमाा उत्रिएर न्याय मागिएको बताइन् ।
तीनजना पक्राउ
सीता भण्डारी मृत्यु प्रकरणमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सीताका श्रीमान् टीका पौडेल, जेठाजु हरि पोडेल र आमाजु विष्णुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरू पक्राउ परेको २० दिन भएको प्रहरीले जनाएको छ ।
अनुसन्धान फितलो हुने आशंकामा आन्दोलन
आत्महत्या नभई हत्या नै हो भनेर किटानी जाहेरी दिँदा पनि प्रहरीले दर्ता नै नगरेको सीताका आफन्तहरूले बताएका छन् । ‘तमाम तथ्य र प्रमाणहरू हुँदाहँुदै पनि अनुसन्धान प्रभावकारी भएको हामीले पाएका छैनौँ,’ सीताका मामा आकाश पोखरेलले भने ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी सीताको रहस्यमय मृत्युपछि उनको शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । उनको शवको पोस्टमार्टम भएको छ । प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टमा सीताको मृत्यु झुन्डिएर भएको उल्लेख छ ।