मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर २० सोमबार
  • Monday, 06 December, 2021
डा. संजीवकुमार ठाकुर
२०७८ असोज १२ मंगलबार १०:२९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रेबिज : रोकथाम गर्न सकिने प्राणघातक रोग

Read Time : > 2 मिनेट
डा. संजीवकुमार ठाकुर
२०७८ असोज १२ मंगलबार १०:२९:००

२८ सेप्टेम्बर २००७ देखि सुरु भएको थियो ‘विश्व रेबिज दिवस’ । ‘रेबिज : तथ्य, डर होइन’ भन्ने नाराका साथ १५औँ दिवस आज विश्वभर मनाइँदै छ । यस वर्ष कोभिड–१९ ले रोगको फैलावट र खोपबारे उब्जाएको शंका र गलत धारणा चिर्नकै लागि यो नारा आएको हो । नारामा तथ्य भन्नाले रोगबारे जागरुकता बढाउन, रेबिजको रोकथाम गर्न, खोप लगाउन र रेबिजका खतराबारे मानिसलाई शिक्षित गर्न आवश्यक छ भन्ने बुझिन्छ । त्यस्तै डर शब्दले तीन अर्थ राख्छ । सर्वप्रथम, रेबिजका कारण हुने सामान्य डर, मानिसलाई पागल जनावरको सामना गर्दा अनुभव हुने डर र रेबिजद्वारा पीडित समुदायमा बस्ने डरसँग सम्बन्धित छ । दोस्रो अर्थ सीधै डरको लक्षण हो, जुन पीडा रेबिजसँग संक्रमित हुँदा अनुभव गर्न सकिन्छ । अन्त्यमा, डर ‘नक्कली समाचार’ वा रेबिजबारेको अन्धविश्वाससँग सम्बन्धित छ । 

यो दिवस मनाउनका लागि यो प्राणघातक रोगबाट बचाउन खोप बनाउने लुइस पास्चरको पुण्यतिथि २८ सेप्टेम्बरलाई रोजिएको थियो । यसको उद्देश्य यस रोगबारे जनचेतना फैलाउनु, रोकथामका उपायको चर्चा गर्नु र सरोकारवाला निकायबीचको अन्तरसम्बन्धलाई अझ बलियो बनाउनु हो । हरेक वर्ष विश्वमा रेबिजबाट लगभग ५९ हजार मानिसको मृत्यु हुने गरेको छ । एसियामा मात्रै यस रोगले ३५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । नेपालमा हरेक वर्ष रेबिजका सय नयाँ बिरामी देखिन्छन् ।

पहिले–पहिले खोपअभाव वा जानकारीको कमीले मानिस रेबिज लागेर मर्ने गर्थे भने अहिले सर्वसुलभ र धेरै अस्पतालबाट निःशुल्क खोप उपलब्ध हुने भएर पनि रेबिजबाट मानिसको मृत्युक्रम रोकिएको छैन
 

९५ प्रतिशत रेबिज बौलाहा कुकुरको टोकाइबाट हुने गरेको छ । नेपालको आधा जनसंख्या रेबिजको उच्च जोखिममा र एकचौथाइ जनसंख्या मध्यम जोखिममा छ । पहिले–पहिले खोपको अभाव वा जानकारीको कमीले मानिस रेबिज लागेर मर्ने गर्थे भन्ने अहिले सर्वसुलभ र धेरै अस्पतालबाट निःशुल्क उपलब्ध हुने भएर पनि मानिस मर्न छाडेका छैनन् । लापर्बाही, रोग सर्ने माध्यमबारे जानकार नहुनु, बौलाहा कुकुरको र्‍याल घाउ, मुख, आँखामा पर्दा पनि रोग सर्न सक्छ भन्ने थाहा नहुनु, खोप टोकेको दिन मात्र लगाए काम गर्छ, नत्र काम छैन भन्ने गलत धारणा बोक्नु, रेबिज इमुनोग्लोबिनको प्रयोगबारे जानकारी नहुनु इत्यादि प्रमुख कारणले गर्दा यस रोगबाट हुने मृत्युदर घट्नुको साटो बढ्दै गएको छ । त्यसैले सन् २०३० सम्म बौलाहा कुकुरको टोकाइबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य पूरा गर्न कठिन छ । 

यसका लागि स्थानीय तहले निम्न पक्षमा ध्यान दिनु जरुरी छ :
स्थानीय निकायले कुकुर गणना गर्ने, कुकुरलाई खोप लगाउने, सरकारी भेटेरिनरी अस्पताल र विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा कुकुरको बन्ध्याकरण शिविर चलाउन, सामुदायिक कुकुर पाल्न प्रोत्साहित गर्ने, दर्ता गरेर मात्र कुकुर पाल्ने व्यवस्था गर्ने, रेबिजसम्बन्धी जनचेतनामूलक कार्यक्रम नियमित रूपमा चलाउने आदि । 
रेबिज लागेको कुकुरको लक्षण : मालिकलाई नटेर्ने, अनावश्यक रूपमा भुक्ने, जथाभावी भौँतारिने, खाना खान छाड्ने, आवाजमा परिवर्तन हुने, नचाहिने कुरा टोक्ने, र्‍याल काढ्ने, बंगारा पूरै बन्द गर्न नसक्ने, लडखडाउने आदि ।

रेबिजबाट बच्न के गर्नुपर्छ ? : जंगली वा नचिनेका जनावरलाई नचलाउने, बालबालिकालाई कुकुरसित खेल्न नदिने वा एक्लै नछोड्ने, कुकुरले खान खाने वेला, सुतेको वेला, बच्चासित भएको वेला, सम्भोगको वेला, झगडा गरेको वेला र बिरामी भएको अवस्थामा नजिस्काउने, खोप नलगाई कुकुर नपाल्ने, बजार लाँदा मुखौटा लगाएर मात्र लाने, कुकुरलाई मुख चाट्न नदिने, कुकुरले झम्टिहाल्यो र भाग्ने ठाउँ छैन भने शान्त भएर मुढा वा रुखजस्तो उभिने र कुकुरको आँखामा नहेर्ने आदि ।


कस्तो अवस्थामा रेबिजविरुद्धको खोप लिने ?

प्रथम श्रेणी (जोखिम नभएको)
जनावरलाई छुँदा वा खुवाउँदा, घाउ नभएको छालामा चाट्दा 
दोस्रो श्रेणी (जोखिम भएको)
रगत नआउने गरी छाला खोस्रिँदा घाउ सफा गर्ने, १५ मिनेटसम्म साबुनपानीले धुने, एन्टिसेप्टिक दल्ने र तुरुन्त खोप लगाउने 
तेस्रो श्रेणी (उच्च जोखिम)
गहिरो घाउ हुने गरी टोकेको, कुकुरको र्‍याल घाउ वा म्युकस मेम्ब्रेन (आँखा, मुख, योनी) मा परेको, जंगली जनावरको टोकाइ, चमेरोको प्रत्यक्ष सम्पर्क आदिको अवस्थामा १५ मिनेटसम्म साबुनपानीले धुने र एन्टिसेप्टिक दल्ने, तुरुन्त खोप लगाउने र 
घाउमा बेसार, खुर्सानी, माटोलगायत अन्य घरेलु उपचार÷झारफुक, चिरफार नगर्ने ।
(डा. ठाकुर भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, महोत्तरीका निमित्त कार्यालय प्रमुख हुन् ।