मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज १२ मंगलबार ०८:३७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इजरायल रोजगारीका लागि १६ सय सिफारिस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज १२ मंगलबार ०८:३७:००

वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि १६ सयजनाको अन्तिम छनोट गरेको छ । भाषा परीक्षा र अन्तर्वार्ताबाट विभागले रोजगारीका लागि अन्तिम सूची सार्वजनिक गरेको हो । जसमा ७० प्रतिशत महिला छन् भने ३० प्रतिशत पुरुष रहेका छन् । अन्तिम सूचीमा परेकाहरूलाई इजरायलस्थित पपुलेसन इमिग्रेसन र बोर्डर अथोरिटी (पिआइबिए) मा बुझाइने विभागले जनाएको छ । छनोट भएकाहरूको योग्यताक्रम सूची तयारी पारी नेपालस्थित इजरायली राजदूतावासमार्फत पिआइबिएमा पठाइने विभागले जनाएको हो । 

 दसै‌अगाडि नै कामदारलाई इजरायल पठाइने
अन्तिम छनोटमा परेका कामदार दसैँअगाडि नै इजरायल जान सक्ने विभागले जनाएको छ । भाषा परीक्षा र अन्तर्वार्ताबाट छनोट भएका १६ सयजनालाई विभागले पिआइबिएमा पठाउनेछ । पिआइबिएले छनोटमा परेका कामदारलाई रोस्टरमा राख्नेछ । रोस्टरमा राखिएको नाम सूचीबाट इजरायलका रोजगारदाताले माग गरेअनुसार चिट्ठा प्रणालीमार्फत कामदारको छनोट गरिनेछ । यस वर्ष इजरायलले एक हजार कामदारको माग गरेको छ । जसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष कामदार पठाइनेछ । चिट्ठा प्रणालीमार्फत छनोट भएका कामदारको नाम विभागमा पठाइनेछ । विभागले कामदारसँग पाँच दिनभित्रमा सम्झौता गरी भिसा प्रक्रिया सुरु गर्नेछ । भिसा नेपालस्थित इजरायल दूतावासले तय गर्नेछ । भिसा तय भएपछि कामदार आफैँले जहाजको टिकट खरिद गरी इजरायल जान सक्नेछन् ।

इजरायल रोजगारीमा रोजगारदाता र श्रमिकबीच पहिलोपटक एक वर्षका लागि सम्झौता हुनेछ । तर, रोजगारदाताले चाहेमा पाँच वर्षसम्मका लागि गर्न सक्नेछ । तर, पाँच वर्षपछि भने कामदार अनिवार्य रूपमा नेपाल फर्कनुपर्नेछ । इजरायल जाने कामदारले सरकारलाई एक लाख ६५ हजार रुपैयाँ बुझाउनुपर्नेछ । इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च कामदार आफैँले व्यहोर्नुपर्नेछ । केयर गिभरमा जानेले हप्ताको ४२ घन्टा काम गर्नुपर्नेछ । नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउनेछन् । इजरायलको सरकारले तोकेअनुसार कामदारले मासिक एक लाख ८६ हजार रुपैयाँ (स्थानीय ५३ सय अथवा १६ सय अमेरिकन डलर) पारिश्रमिक पाउनेछन् ।

 साढे नौ हजारको आवेदन 
विभागले गत साउन १२ गतेदेखि इजरायल रोजगारीका लागि अनलाइन आवेदन माग गरेको थियो । गत साउन मसान्तसम्ममा विभागमा नौ हजार ६ सय ९९ जनाको आवेदन परेको थियो । आवेदन दिएकामध्ये पाँच हजार चार सय ९९ जना पुरुष र चार हजार दुई सयजना महिला छन् । विभागमा परेको आवेदन प्रमाणीकरण गर्दा करिब साढे सात हजार छनोट भएका हुन् । विभागले गत भदौ २८ गते लिएको पहिलो चरणको लिखित परीक्षामा ६ हजार तीन सय ९७ उपस्थित भएका थिए । भाषा परीक्षाबाट एक हजार तीन सय ९५ महिला र ६ सय ४४ पुरुष गरी कुल दुई हजार ३९ उत्तीर्ण भएका थिए । भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये एक हजार आठ सय तीनजना अन्तर्वार्तामा सहभागी भएका थिए । जसबाट एक हजार एक सय २० महिला र चार सय ८० पुरुष गरी कुल एक हजार ६ सय छनोट भएका हुन् । अन्तर्वार्ता गत असोज ४ गतेदेखि ९ गतेसम्म चलेको थियो ।