मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
किशोर नेपाल काठमाडाैं
२०७८ असोज ८ शुक्रबार ११:०६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सन्दर्भमा किशुनजी, कांग्रेस र पदक

अग्रलेख

Read Time : > 4 मिनेट
किशोर नेपाल, काठमाडाैं
२०७८ असोज ८ शुक्रबार ११:०६:००

राजतन्त्र र कम्युनिस्ट शासनमा जस्तै अहिले पनि आफ्ना मानिसलाई छानी–छानी पदक दिइएको छ

संविधान दिवसको उपलक्ष्यमा नेपाल सरकारका तर्फबाट राष्ट्रपति विद्या भण्डारीले देशका गन्यमान्य महिला तथा सज्जनवृन्दलाई प्रदान गरेका तक्मा र पदक विवादको बबन्डरमा परेका छन् । सरकारले पदकको राजनीतीकरण गरेकोमा कुनै शंका छैन । यति गर्दागर्दै पनि गणतान्त्रिक सरकारले पहिलोपल्ट लोकतन्त्रका अथक अभियन्ता कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त ‘नेपाल तारा’को सम्मान दिएर उहाँप्रति कृतज्ञ भाव प्रकट गरेको छ । पक्कै पनि उहाँ नेपाल तारा हुनुहुन्थ्यो । यसमा कुनै शंका छैन । उहाँलाई जनताले दिएको सम्मान थियो : सन्त नेता । कृष्णप्रसाद भट्टराई जीवित रहनुभएको भए उहाँले सरकारी सम्मान स्वीकार गर्नुहुने थिएन । किनभने, देशको सेवा गरेबापत छातीमा तक्मा ढल्काएर हिँड्ने प्रवृत्ति थिएन उहाँमा । एउटा सानो बक्सा र सुराही जसको जीवनको प्रतीक बनेको छ, उसका लागि देखावटी सम्मानको महिमा नै के भयो र ? 

देशका केही गणतन्त्रवादीहरू किशुनजीको नाम सुनेर नजानिँदो ढंगले निधार खुम्च्याउँछन् । दोस्रो जन–आन्दोलनमा उहाँको सहभागिता नरहेको संकेत र इसारा धेरै देखिन्छ । तर, किशुनजी गणतन्त्रविरोधी हुनुहुन्नथ्यो । उहाँको भनाइ यति मात्रै थियो कि नेपाली कांग्रेसले आफ्नो घोषणापत्रबाट विधिवत् संवैधानिक राजतन्त्रलाई बिदाबारी गरेको छैन । स्थापनाकालदेखिको यो प्रावधानलाई महाधिवेशनमार्फत संशोधन नगरेसम्म पार्टीमा गणतन्त्रको वैधानिकता स्थापित हुन सक्दैन । दोस्रो, उहाँले सक्रिय राजनीति त्याग्नुभएको थियो । सत्ताको ‘मोह’ पनि उहाँको घाँटीसम्म आइसकेको थियो । जुन प्रकारले उहाँलाई प्रधानमन्त्रीको पदबाट हटाइयो, त्यो उहाँको असम्मान थियो । त्यो असम्मानविरुद्ध संसद्मा आफूलाई किशुनजीका हितैसी र पक्षधर भन्ने कसैले एक शब्द बोलेन । यस प्रसंगमा पार्टीले उहाँविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गर्नुपर्ने पनि थिएन । सभापति गिरिजाप्रसाद कोइरालाले उहाँसँग वार्ता गरेको भए किशुनजीका लागि कुर्सी कुनै ठूलो थिएन । आफ्ना विरुद्ध वातावरण धमिलो देखिनेबित्तिकै किशुनजीले प्रधानमन्त्रीको पद छाडिदिनुभयो । त्यसपछिको उहाँको समय राजनीतिबाट अलग रह्यो ।

किशुनजीमा कहिले पनि राजतन्त्रप्रति कुनै आकर्षण रहेन । उहाँले ७ फागुन २०१९ मा आफ्नो डायरीमा लेख्नुभएको छ ः नेपालका अहिलेका शासकमा न बुद्धि छ, न शक्ति । यिनीहरू कल्पनाशील पनि छैनन् र यिनीहरूको चरित्र पनि छैन । यिनीहरू लोभ र अहंकारको पकडमा जकडिएका छन् । यस्ता मानिसको समूह अरू जे भए पनि देशभक्त हुन सक्दैन । किशुनजीले आफू सत्तामा रहँदा माओवादी जनयुद्ध समाप्तिका लागि सक्दो प्रयास नगर्नुभएको होइन । तर, उहाँलाई पार्टी र राजाले साथ दिएनन् । प्रधानमन्त्रीका रूपमा उहाँले फ्रान्सको भ्रमण गर्न चाहनुभएको थियो । फ्रान्सबाट फर्किएपछि प्रधानमन्त्रीबाट राजीनामा गर्ने उहाँको इच्छा थियो । तर, उहाँको यो इच्छा पूरा भएन ।

किशुनजी स्वतन्त्रताको उपयोग स्वच्छन्दताको हदसम्म हुनुपर्ने मान्यता राख्नुहुन्थ्यो । सामाजिक अध्येता रुचि श्रेष्ठको विचारमा किशुनजीमा आफ्नो आध्यात्मिक लक्ष्यमा एकाग्र भएर पनि राजनीतिको मूल धारमा सक्रिय रहन सक्ने व्यक्तित्व थियो । यस्तो गुण आचार्य चाणक्यमा थियो । किशुनजी आफ्नो विचारमा सधैँ दृढ रहनुभयो । उहाँ सबैभन्दा लामो समय जेल बस्नुभयो । कुनै प्रकारको समर्पण गरेर जेलबाट छुट्न चाहनुभएन । जेलबाट छुटेर पनि उहाँ निर्वासनमा जानुभएन । ‘राजाले मलाई पक्राउ गरे भने मेरो उद्देश्य पूरा हुन्छ । त्यसो भएपछि किन भाग्नु ? राजाले पक्रिनु भनेको मेरो प्रतिरोध सफल हुनु हो ।’

पहिलो राष्ट्रिय जनआन्दोलन (२०४६) को सफलतापछि कांग्रेसमा घात–प्रतिघातको खेल सुरु भयो । यस खेलमा पार्टी नराम्रोसँग ध्रुवीकृत भयो । यस्तो जटिल समयमा पनि किशुनजीले धैर्य र संयम गुमाउनुभएन । उहाँ गिरिजाप्रसाद कोइरालाका पक्षमा विद्रोहमा उत्रिन तयार भएका ‘प्रिय साथी’हरूको हुलमा मिसिनुभयो । कांग्रेस पार्टी जोगियो । शेरबहादुर देउवाको नेतृत्वमा पार्टी विभाजित भएपछि उहाँ राजनीतिबाटै अलग हुनुभयो । कांग्रेस विभाजनको पीडाले उहाँको मनमा गहिरो असर पारेको थियो ।

कृष्णप्रसाद भट्टराई जीवित रहनुभएको भए उहाँले सरकारी सम्मान स्वीकार गर्नुहुने थिएन । देशको सेवा गरेबापत छातीमा तक्मा ढल्काएर हिँड्ने प्रवृत्ति थिएन उहाँमा । 
 

सन्दर्भमा किशुनजीको चर्चापछि, पदकबारे अहिले उठेका विवादको समीक्षा गर्नैपर्छ । गणतान्त्रिक सरकारले गणतन्त्र दिवसको अवसरमा देशका भद्र–भलादमी, नेता र कर्मचारीवर्गलाई मान, पदवी, पदक र विभूषण वितरणको चलन चलाएपछि पदक पाउनेहरू कोको हुन् ? कोको हुनुपर्छ ? यसमा विचार पुर्‍याउनैपर्ने हो । तर, यता कसैले विचार पुर्‍याउन खोजेको देखिएन । पदकहरूको गाईजात्रा भयो । उसो त हिजो देशमा राजतन्त्र रहँदा पनि पदकहरूको ‘गाईजात्रा’ नै हुन्थ्यो । त्यो समयमा पदक धेरै बाँडिन्थ्यो । शासन सत्ताको चाकडीमा लागेका मानिस धेरै थिए । तक्मा पाउने कर्मचारीले सरकारी ढुकुटीबाट तक्मा भत्ता पाउने चलन थियो । राजा–रानीको जन्मोत्सव, संविधान दिवस, ७ फागुन र विशेष अवसरमा दिइने तक्मा, पदक, विभूषण वितरणमा आफन्तहरूलाई प्राथमिकता दिने काम त्यस वेला झन् धेरै हुन्थ्यो । त्यति वेला पनि पदक नपाउनेले पदक पाउनेको आलोचना गर्थे । तर, आलोचनाको स्वर कमजोर हुन्थ्यो । अहिले आलोचनाको स्वर चर्को छ ।

पदकबारे धनगढीका पत्रकार दिलबहादुर छत्यालले संविधान दिवसका दिन सामाजिक सञ्जाल, फेसबुकमा मज्जाको टिप्पणी लेखेका छन् : साँच्चिकै महत्वपूर्ण योगदान गरेका समाजका हिरोहरूले पनि पदक पाएका छन्, तिनीहरूलाई हार्दिक बधाई छ । तर, कालोसूचीमा परेका, तस्करी गरेका, सरकारी जमिन हडपेकालगायत ‘बेग्लै खुबी र पहिचान’ भएकाहरूले पनि पदक पाउँदा इमानदारको अवमूल्यन मात्र भएको होइन, पदक पाउने महान् व्यक्तित्वको मान–मर्दन हुने अवस्था भएको छ । छत्यालको यो कथन अहिलेका विवेकीहरूका लागि चेतावनी हो । छत्यालको यो सानो टिप्पणीले पदक र विभूषणको मामिलामा चेतनशील वर्गबीच फैलिएको असन्तोषको झलक देखाउँछ । ‘बेग्लै खुबी र पहिचान भएका व्यक्ति’ पदक र विभूषणको हकदार हुँदैनन् भन्नेमा सबभन्दा बढी ध्यान दिनुपर्छ पदक वितरकहरूले ।

यसपाला पत्रकारका नाममा वितरण भएका पदकहरू फिर्ता भए । यसरी पदक फिर्ता हुनु राम्रो हो । पत्रकारले नै पदक अस्वीकार गरेपछि पदक पाउने अरू मानिसको हैसियत थाहा हुन्छ । राजतन्त्र र कम्युनिस्ट शासनमा जस्तै अहिले पनि आफ्ना मानिसलाई छानी–छानी पदक दिइएको छ । जसले पदक चाहेका थिएनन्, उनले पाएका छन् । जसलाई पदकको आकांक्षा थियो, उनले पाएका छैनन् । पदक र विभूषणका कुरामा राजाका पालामा अहिलेको जस्तो हेलचेक्य्राइँ हुँदैनथ्यो । एकपटक राजदरबारले मलाई पदक दिन खोजेको रहेछ । दरबारका सचिवहरूले मेरो इच्छा र अनिच्छा बुझेपछि मात्रै पदक पाउनेको सूचीमा मेरो नाम राखे । त्यतिवेला देशको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । बडामहारानी कोमल र प्रधानमन्त्री देउवाले पदक प्रदान गर्नुभएको थियो ।

देशको शासन व्यवस्थामा दिन–प्रतिदिन अनुशासन र इमानदारी चुक्दै गएको छ । हरेक कुरालाई हलुका ढंगले आँक्ने र जे त होला भन्ने प्रवृत्तिले हाम्रो सामाजिक व्यवस्थालाई सखाप पार्दै छ । राजनीतिक नेतृत्व नै अनुशासनहीन भएर परस्परमा गाली गर्ने संस्कार विकसित भइरहेको स्पष्ट देखिएको छ । यो छाडातन्त्रले हामीलाई कहीँ पुर्‍याउँदैन । देशमा समस्याको चाङ छ, नेताहरू आपसमा बाझाबाझ गर्दै छन् । यो त मगन्ते चरित्र हो । यसबाट बाहिर आएर सबैले आफ्नो होस नसम्हाल्ने हो भने देशको भविष्य अन्धकारमय हुनेछ । यसमा शंका नगरे हुन्छ ।