१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ६ बुधबार १४:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितानिवास जग्गा प्रकरणबारे गच्छदारले भने– राजनीतिक प्रतिशोध साध्न ममाथि मुद्दा चलाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ६ बुधबार १४:२८:००

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललितानिवास जग्गा प्रकरणमा आफूलाई राजनीतिक प्रतिशोध साध्न मुद्दा चलाइएको बताएका छन्। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन्। डेढ वर्षपछि सार्वजनिक मञ्चमा प्रस्तुत भएका गच्छदारले मन्त्रिपरिषद् बैठकको सामूहिक निर्णयको विषयमा एक्लैलाई छानीछानी मुद्दा चलाइएको बताएका थिए। उनले आफूले जिम्मेवारी सम्हाल्नुअगाडिबाटै प्रधानमन्त्रीनिवासको बाटो विस्तारको योजना अगाडि बढेको स्पष्ट पारेका छन्।

‘प्रधानमन्त्रीनिवास बाटाे विस्तारको योजना म जिम्मेवारीमा आउनुअगाडिबाटै सुरु भएको थियो,’ उनले भने, ‘म जिम्मेवारीमा आएपछि तहतहबाट आएको टिप्पणीलाई मैले मन्त्रिपरिषदमा पेस मात्र गरेको थिएँ। मन्त्रिपरिषद् बैठकको सामूहिक निर्णयमा म एक्लैलाई छानीछानी मुद्दा चलाइयो।’

उनले आफूले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा मन्त्रिपरिषदमा फाइल प्रस्तुत गरेको पत्रकार सम्मेलनमा जानकारी दिए। उनले मन्त्रिपरिषद् बैठकको सामूहिक निर्णयमा एक्लैलाई मुद्दा चलउनु राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र रहेको स्पष्ट भएको उल्लेख गरे।  

उपसभापति गच्छदारले तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रतिपक्षमा रहेको नेपाली कांग्रेससहितका दलहरूलाई तर्साउन संवैधानिक आयोगलाई प्रयोग गरेर मुद्दा चलाउनुपर्नेलाई राजनीतिक संरक्षण गरेको र आफूलगायतलाई छानीछानी मुद्दा चलाएको दाबी गरेका थिए।

यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत प्रयोग हुन पुगेको गच्छदारको भनाइ छ। उनले यसबारे न्यायालयमा न्याय पाएपछि मात्र अभिव्यक्ति दिने पक्षमा रहे पनि अहिले नै  यसबारे स्पष्ट पार्नुपर्ने अवस्था आएको बताए। उनले पाँच दशक लामो आफ्नो सार्वजनिक जीवन समाप्त पार्ने षड्यन्त्रविरुद्ध स्पष्ट पार्न पत्रकार सम्मेलनको आयोजना गरिएको बताए। राजनीतिक छायाका आधारमा अख्तियारले काम गरेको गच्छदारको आरोप छ। उनी ०७८ असार ३० मा  विशेष अदालतमा उपस्थित भएका थिए। उनलाई  विशेष अदालतले धरौटीमा  रिहा गरेको थियो।