मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ५ मंगलबार ०९:१७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विद्यार्थीमाथि पूर्वाञ्चल विश्वविद्यालय र कलेजको खेलबाड : अव्यवस्थित परीक्षा गरायो, अपूरो नतिजा दियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ५ मंगलबार ०९:१७:००

 कोरोना महामारीका कारण पूर्वाञ्चल विश्वविद्यालयले गत वर्ष ०७७ भदौमा बिएस्सी एजी सातौँ तथा भेटेरिनरी सातौँ र नवौँ सेमेस्टरका विद्यार्थीको परीक्षा घरबाटै (अनलाइन टाइम बाउन्ड सिस्टममा) लिएको थियो । परीक्षा सकेको दुई घन्टाभित्र उत्तरपुस्तिका बुझाउनुपर्ने व्यवस्था गरेको थियो । तर, प्राविधिक कारण केही मिनेट ढिला भएका विद्यार्थीको पनि उत्तरपुस्तिका स्वीकार गरेन । खेलबाड यत्तिमै रोकिएन, विश्वविद्यालय र कलेजले ती विद्यार्थीलाई मौका परीक्षाको अवसरबाट समेत वञ्चित गराए । अहिले ‘रिजल्ट’ नै अपूरो आउँदा तीनवटा कलेजका करिब सयजना विद्यार्थी तनावमा छन् । 

काठमाडौंको हिकास्ट, चितवनको नेपाल पोलिटेक्निक इन्स्टिच्युट (एनपिआई) र मोरङ गोठगाउँस्थित विश्वविद्यालयको आंगिक क्याम्पसका विद्यार्थी पियू र आफ्नै कलेजले गरेको खेलबाडको सिकार बनेका हुन् । विश्वविद्यालयले दिएको समयअनुसार बिहान ११ बजेसम्म दिएको परीक्षाको उत्तरपुस्तिका दिउँसो १ बजेभित्र पठाउनुपर्ने थियो । आफूले १ बजेभित्रै पठाएको, तर कलेजले फेरि पठाउन भनेका कारण समय नाघेको एनपिआईका एक पीडित परीक्षार्थीले गुनासो गरे । त्यसपछि पनि विश्वविद्यालयले मौका दिएका वेला कलेजले परीक्षा नलिएर थप लापरबाही गरेको र अपूरो नतिजा दिएको उनले बताए । 

‘१ बजेभित्रै उत्तरपुस्तिका पठाउँदा कलेजले फेरि पठाउन भनेपछि केही मिनेट ढिला भयो । त्यसले समस्या पार्छ कि भनेर कलेजलाई सोध्दा ‘केही फरक पर्दैन’ भन्ने जवाफ आयो,’ ती विद्यार्थीले भने, ‘पछि विश्वविद्यालयले टाइम बाउन्डमा छुटेकालाई मौका परीक्षाको व्यवस्था गरेको रहेछ । तर, कलेजले जानकारी नै दिएन । अहिले अपूरो नतिजा दिएर हाम्रो भविष्यमाथि चरम खेलबाड गरिएको छ ।’ 

केही समयअघि आएको नतिजाले तनावमा रहेका पीडित विद्यार्थी विश्वविद्यालय र कलेजविरुद्ध उजुरी दिने तयारीमा छन् । कलेज भने विद्यार्थीको भविष्य अन्योल पर्नुमा विश्वविद्यालयको दोष रहेको तर्क गर्छ । एनपिआईका पिन्सिपल बाबुराम उपाध्यायले विश्वविद्यालयको अनलाइन परीक्षा संयोजक बिजुकुमार थपलियाका कारण विद्यार्थी र कलेजले दुःख पाएको आरोप लगाए । थपलियाले २ बजेसम्म पठाएको उत्तरपुस्तिकालाई मान्यता दिने र त्यसपछि पठाउनेलाई मात्रै मौका परीक्षामा राख्न भनेको उपाध्यायले बताए । 

‘विश्वविद्यालयको अनलाइन परीक्षा संयोजक बिजुकुमार थपलियाले २ बजेसम्म बुझाएको उत्तरपुस्तिकालाई मान्यता दिने भन्नुभएको थियो । उनीहरूको उत्तरपुस्तिका परीक्षण गर्न पनि लगाउनुभयो । त्यसैले २ बजेसम्म उत्तरपुस्तिका बुझाउनेलाई मौका परीक्षामा सहभागी गराउनुपर्छ भन्नेतर्फ हामीले सोच्ने कुरै भएन । तर, नतिजा त १ बजेभित्र बुझाउनेको मात्रै आयो,’ उपाध्यायले भने । विश्वविद्यालयको सूचनासमेत २ बजेपछि बुझाउनेलाई मात्रै मौका परीक्षामा सहभागी गराउनू भन्ने रहेको उनको दाबी छ । 

पियूका परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत भने विश्वविद्यालयले गल्ती नगरेको बताउँछन् । उनले परीक्षा सकिएको दुई घन्टामा उत्तरपुस्तिका नबुझाएका र छुटेकाहरूलाई पछि मौका दिएको बताए । त्यतिवेला ‘टाइम बाउन्ड’ परीक्षा सञ्चालनका लागि कमिटी गठन गरेर काम गरेको उनको भनाइ छ ।  विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन डा. पवनकुमार झाले भने केही विद्यार्थीमा समस्या आएकाले समाधानको उपाय खोज्ने बताएका छन् । ‘केही विद्यार्थीको सवालमा समस्या आएको छ, एक–दुई दिनमा समाधान गर्छौँ,’ उनले भने ।