Skip This
ad
२८बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १३:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

२८बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:३८:oo

२८बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेस्रो विश्व नेपाली स्वास्थ्य  सम्मेलन आइतबार  सम्पन्न भएको छ।  ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न  विषम परिस्थितिमा देखाएको धैर्य र साहसका लागि सबै नेपाली स्वास्थ्यकर्मी र आमनेपाली नागरिकको सराहना गरेको छ।

‘हामी स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताका लागि अमूल्य निधि भएको, र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका  लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौँ I नेपालीहरूलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हामी हरेकको अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिनुहुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारहरूको योगदानको कदर गर्दै उहाँहरूलाई सहयोगको प्रतिबद्धता जाहेर गर्दछौँ,’ घोषणापत्रमा भनिएको छ।

सम्मेलनले  संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिहरूको सीप, अनुभव एवं सम्पर्क सञ्जाल नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई  आह्वान पनि गरेको छ।

समापन समारोहमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, दक्षिण कोरियाका डा. देवी बस्नेतलगायतका वक्ताले सम्मेलन कोभिड महामारीका वेला जनचेतना जगाउन उपयोगी भएको बताए। पत्रकार भगीरथ योगी तथा डा. दिनेश ज्ञवालीले अंग्रेजी तथा नेपाली भाषामा घोषणापत्र पढेर सुनाएका थिए।   

शुक्रबारदेखि विभिन्न सत्रहरू सञ्चालन गरिएको र शनिबार लन्डनस्थित नेपाली दूतावासमा औपचारिक रूपमा सुरुवात गरिएको सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिकका कार्यपत्र प्रस्तुत गरिएका थिए भने ५० भन्दा बढी कार्यशाला सञ्चालन गरिएका थिए।  

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले यो सम्मेलन नेपालबाहिर आयोजना  गरिएको  स्वास्थ्यसम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए । उनले  महामारीको वेलामा नेपालीहरूको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीनदिने सम्मेलन केन्द्रित रहेको जानकारी दिए ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालबाट  संयुक्त रूपमा  उद्घाटन गरेका थिए ।  कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको सुरुदेखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैरआवासीय नेपाली संघ तथा संसारभरि रहेका नेपाली चिकित्साकर्मीहरूलाई धन्यवाद दिए।  उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुर्‍याउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाए। 

कार्यक्रममा नेपालका लागि ब्रिटिस राजदूत निकोल पोलिट, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला,  नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मनकुमारी राई,  वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकेल ग्रिफिन, वायल कलेज  अफ नर्सिङकी उपाध्यक्ष ट्रेसी बडिंग,  सेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्रयु लि, सम्मेलनको सहआयोजक एनआरएनए एनसिसी युकेका अध्यक्ष प्रेम गाहामगरलगायतका वक्ताले शुभकामना दिएका थिए। 

सम्मेलनको वैज्ञानिक समितिका अध्यक्ष प्रा. पदम सिम्खडा तथा डा. बोधराज सुवेदीले सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गरेका थिए। सम्मेलनले एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन अस्ट्रेलियामा गर्ने निर्णयसमेत गरेको छ ।

ad
ad