गत सोमबार अमेरिकी अधिकारीहरूका संयुक्त प्रमुखहरूका उपाध्यक्ष जेनरल जन इ. हाइटेनले भने, ‘हाम्रो उद्देश्य चीन र रुससँग कहिल्यै युद्धमा जानुहुँदैन भन्ने नै हुनुपर्छ । यदि हामी यी मुलुकसँग युद्धमा गयौँ भने यो ग्रह र हाम्रा मुलुकका लागि विनाशकारी दिन सिद्ध हुनेछ ।’ अवकाशप्राप्त अमेरिकी नौसेनाध्यक्ष एवं अमेरिकी प्यासिफिक कमान्डका पूर्वप्रमुख ह्यारी ह्यारिसले पनि चीनसँग ‘सम्भावित युद्ध रोक्न हामीले जे गर्नुपर्छ त्यो गर्नु सबैभन्दा महत्वपूर्ण काम हो’ भनेका छन् ।
हालैका दिनमा अमेरिकामा अमेरिकाले चीनसँग सैन्य द्वन्द्व निम्त्याउनुहुँदैन भनेर थुप्रै मत सतहमा आइरहेका छन् । यस्ता मत आउनु अस्वाभाविक पनि होइन, किनभने दुवै मुलुकबीचको सम्बन्धमा तनाव बढ्दो देखिन्छ । दुवै मुलुकका अग्रभागका सेना नजिक हँुदै गइरहेका छन् । यस्तो अवस्थामा अमेरिका अप्रत्यासित वा गम्भीर मुठभेडलाई लिएर चिन्तित छ । यहाँसम्म कि, अमेरिका अप्रत्यासित गोलाबारीलाई लिएर सन्त्रस्त छ ।
चीन र अमेरिकाबीचको सैन्य मुठभेडको जोखिम बढेर गएको छ । यो अवस्था सिर्जना हुनुको कारण दुई मुलुकबीच रणनीतिक शत्रुता बढ्दै जानु र यी दुई मुलुकबीचका परस्पर विश्वास लगभग शून्यप्रायः हुनु हो । लाक्षणिक रूपमा भन्ने हो भने बतास चलेर यदि ढोका बजारिन्छ भने दुवै मुलुकले अर्को मुलुकले ढोका बजारिरहेको छ भन्ने आशंका राख्ने अवस्था छ अहिले । यदि सन् २००१ मा झैँ दक्षिण चिनियाँ समुद्रमा भएको जस्तो मुठभेड अहिले हुन्छ भने स्थितिले गम्भीर मोड लिनेछ, अर्थात् दुवै पक्ष शान्त रहने र समस्याको समाधान शान्तिपूर्ण ढंगले हुने सम्भावना निकै न्यून छ । यदि यस्तो चिन्ताजनक अवस्था निम्तिन्छ भने यसको जिम्मेवार को ?
चीनका तर्फबाट युद्धबाट पछि हट्ने कुनै सम्भावना रहँदैन । एक चीन नीति हाम्रो आधारभूत नीति हो र यसमै हाम्रो जोड रहन्छ । जब डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी नेतृत्व ‘स्वतन्त्र ताइवान’लाई प्रोत्साहन गर्छ भने हामी किन यो प्रोत्साहनलाई नरोक्ने ? यदि अमेरिकाले चीनको ताइवान क्षेत्रमा कुनै पनि किसिमको द्वन्द्व नचाहने हो भने त्यसका लागि दुई उपाय छन् ।
पहिलो उपाय, अमेरिकाले डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी नेतृत्वलाई कुनै पनि किसिमको समस्या ननिम्त्याउन दबाब दिनुपर्छ । यदि चिनियाँ र अमेरिकी नेतृत्व ‘ताइवान स्वतन्त्रता’विरुद्ध एक ठाउँमा आउँछन् भने डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी नेतृत्व डरले मौन रहन बाध्य हुन्छ । दोस्रो उपाय, अमेरिकी हस्तक्षेपको अन्त्य हुनुपर्छ । यदि महादेशीय चीनले ताइवानका पृथक्तावादीमाथि कारबाही गर्छ भने अमेरिकाले कुनै पनि किसिमको हस्तक्षेपको प्रयास गर्नु हुन्न । यदि दोस्रो उपाय अमेरिकाले मान्छ भने ताइवानलाई लिएर चीन र अमेरिकाबीच कुनै पनि किसिमको द्वन्द्व हुनेछैन ।
तर, समस्या अमेरिकाले डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी नेतृत्वलाई उक्साउनुमा रहेको छ । यस पार्टी नेतृत्वलाई यदि ताइवान टापुले आधार रेखा मात्रै पनि छुने हो भने वासिंगटनले समर्थन गर्ने जनाइसकेको छ । यता उक्साहट बढाइरहेको अमेरिका चीनलाई अमेरिकासँगको तथाकथित प्रतिस्पर्धा नगरेर द्वन्द्व रोक्न सुझाब दिइरहेको छ । हामी प्रश्न गर्छांै– के वासिंगटन ताइवानमा जे गरिरहेको छ, त्यो ‘प्रतिस्पर्धा’ हो ? हामी वासिंगटनलाई आफ्नो धारणा स्पष्ट राख्न सुझाब दिन्छौँ । स्मरण रहोस्, महादेशीय चीनमा राजनीतिक उपद्रवको कार्यनीतिले काम गर्न सक्दैन ।
चीन र अमेरिकाबीचको सैन्य द्वन्द्व रोक्न र शतप्रतिशत सुरक्षाको प्रत्याभूतिका लागि अमेरिकाले चिनियाँ स्वार्थ खलबल्याउने गतिविधिबाट पछि हट्नैपर्छ । दक्षिण चिनियाँ समुद्रमा ‘नाविक परिवहनको स्वतन्त्रता’ समस्या कहिल्यै थिएन भने अमेरिका चिनियाँ टापुहरूनजिक किन आउन खोज्दै छ ? नाविक परिवहनका लागि दक्षिण चिनियाँ समुद्र एकदमै चौँडा हुँदाहुँदै पनि समस्या निम्त्याउन अमेरिका चीनका टापुनजिक किन आइपुग्छ ?
यस्तो गतिविधिलाई कुनै पनि दृष्टिकोणबाट नाविक परिवहन भन्न मिल्दैन, यो त खुल्लमखुला उत्तेजना एवं धम्की हो । चिनियाँ जनताले जति सहनुपर्ने हो, त्यति सहेका छन् । यस्तै गतिविधि चलिरहने हो भने अमेरिकासँग कुनै तर्कसंगत वार्ता सम्भव छैन, हामी चिनियाँ जनताले हाम्रा सामथ्र्य र कारबाहीबाट मात्रै संवाद गर्नेछौँ । हाइटेनले चीन र रुससँग अमेरिकाले कहिल्यै पनि युद्धमा जानुहुँदैन भन्दै गर्दा उनले ‘आणविक शक्तिसँग युद्धमा जानु वाञ्छनीय होइन’ भनेको सम्झिन्छु । वास्तवमा अमेरिका चीन र रुसका आणविक हतियारसँग सन्त्रस्त रहेको छ ।
मेरो निष्कर्षमा बलियो सैन्य सामथ्र्य विशेषतः राणनीतिक आणविक सामथ्र्यका कारण अमेरिका चीनको सामना गर्न डराउँछ । चीन आफैँ जाई नलागुन्जेल ऊसँग निहुँ खोजेर आत्मघाती युद्ध गर्नुहुन्न भनेर अमेरिका सचेत छ । आफ्नो राष्ट्रिय स्वार्थ रक्षा गर्दा चीन नैतिक रूपमा बलियो र भयरहित रहेको छ ।
ग्लोबल टाइम्सबाट