केही पश्चिम नियन्त्रित मानव अधिकार संगठनले हालै राष्ट्र संघीय मानव अधिकारका लागि उच्चायुक्त मिसेल ब्याचेलेटमाथि क्रुर हमला गरेका छन् । लामो समयदेखि चीनको सिन्जियाङको अवस्थालाई विकृत गर्दै आएका छद्म जर्मन विद्वान् एड्रियान जेन्जले त ब्याचेलेटको राजीनामा नै मागेका छन् । मानव अधिकार समूहको अपेक्षाअनुरूप ब्याचेलेटले सार्वजनिक रूपमा चिनियाँ सरकारलाई हप्काइनन् ।
बरु उनले सिन्जियाङमा स्थानीय अधिकारी र नागरिकसँग व्यापक अन्तर्क्रिया गरेको र सिन्जियाङमा चीनको आतंकवादविरोधी कार्यक्रमले अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड पूरा गरेनन् भन्नेमा आफू चिन्तित भएको बताइन्, तर उनले चीनको आतंकवादविरोधी कार्यक्रमको आलोचना गरिनन् । ब्याचेलेटका अनुसार सिन्जियाङको यात्रा कुनै सोधपुछ मात्रै नभई बरु चीनको स्थितिलाई थप राम्रोसँग बुझ्ने र चिनियाँ नेतृत्वलाई आफ्ना चिन्ता सम्प्रेषण गर्ने अवसर थियो ।
चीनले हालैका वर्षमा जनताको जीवनस्तर उकास्ने, महिला तथा बालबालिकाको अधिकार रक्षा गर्ने, अल्पसंख्यक जातीय विकासलाई प्रोत्साहन गर्ने, राष्ट्रिय स्वास्थ्य सेवा र निवृत्तिभरण प्रणालीको निर्माणलगायत आधारभूत मानव अधिकारका मुद्दामा उल्लेखनीय प्रगति गरेको छ । चीन आउने जोकोहीले चीनले कसरी आफ्नो मानव अधिकार स्थितिलाई पूर्ण रूपमा बदलेको छ भनेर हेर्न सक्छन् ।
कुनै वेला सिन्जियाङ आतंकवादी हमलाबाट आक्रान्त भएको थियो । पूर्वाग्रहविना जोकोहीले पनि यस क्षेत्रमा शान्ति र स्थिरता पुनस्र्थापनाको आवश्यकता देख्न सक्छ । जब ब्याचेलेट सिन्जियाङ आइपुगे, मलाई विश्वास छ, उनले पश्चिमा मिडियाले रिपोर्ट गरेभन्दा धेरै फरक देखिन् वा सुनिन् । ब्याचेलेटले सिन्जियाङका बासिन्दासँगको संवाद स्वतन्त्र थियो र भ्रमणका क्रममा आफूमाथि निगरानी नगरिएको स्पष्ट पारेकी थिइन् । सिन्जियाङको वर्तमान शान्ति र अमनचैनको अवस्थालाई सबै जातीय समूहका स्थानीयले राम्रोसँग स्वीकार गरेका छन् भनेर उनले पक्कै महसुस गरेको हुनुपर्छ ।
पश्चिमा राजनीतिक मत एवं जनमतमा विश्वास गर्ने सम्भ्रान्तहरूले आफू मात्रै उइगुर समुदायप्रति चिन्तित छु भन्नु लज्जाजनक नैतिक आत्ममुग्धतामा डुब्नु हो । चिनियाँ सरकार नै उइगुरको हितबारे चिन्तित छ, जहाँ उसले उइगुर समुदायलाई अन्य जातीय समुदायजत्तिकै आरामसँग बाँच्न र आधारभूत अधिकारको प्रत्याभूति गरेको छ । र, सिन्जियाङ दीर्घकालीन स्थिरताको आधारशिला हो र यति भन्दै गर्दा मानवतावादको आधारभूत नैतिकतालाई चिनियाँ सरकारले नजरअन्दाज गरेको छैन ।
पश्चिमको मानव अधिकार विशेषतः अमेरिकी रेकर्डलाई एकफेर हेरौँ । कोभिड– १९ महामारीका मामिलामा अमेरिकाले कम आय भएका व्यक्ति र अल्पसंख्यकको सामूहिक मृत्युदरलाई पूर्ण रूपमा स्वीकार गर्दै सामाजिक डार्विनवादलाई आक्रामक रूपमा पछ्याएको छ । अमेरिकामा बन्दुक हिंसाको विस्तार जारी छ र अमेरिकी अधिकारीले दुःख व्यक्त गर्न तथा घटनास्थलमा सहानुभूति प्रदान गर्नबाहेक कुनै अर्थपूर्ण उपाय अवलम्बन गरेको छैन । वासिङ्टन विशेषतः पश्चिममा आधारित मानव अधिकार संगठन सिन्जियाङ मामिलामा मानव अधिकारलाई लिएर ठूलै कोकोहोलो मच्चाउँछ । तर, यी संगठन पश्चिममा मानव अधिकार विपत् परेका वेला सिन्जियाङमा जस्तो आक्रामक हुँदैनन् । के यी संगठन पाखण्डी होइनन् ? के यो पाखण्ड यी संगठनले भूराजनीतिक स्वार्थका लागि गरेका होइनन् ?
चिनियाँ सरकारले एक अर्ब ४० करोड जनता भएको एक भीमकाय समाजलाई शासन गर्छ र चिनियाँ कम्युनिस्ट पार्टीको मुख्य लक्ष्य जनताको सेवा गर्नु हो । र, उसले सिन्जियाङलाई पनि प्रभावकारी ढंगले शासन गर्नेछ । पश्चिमा राजनीतिज्ञ र मानव अधिकार संगठनले सिन्जियाङको मानव अधिकारबारे चासो राखेजस्तो गर्नु आवश्यक छैन । चीन र राष्ट्र संघको मानव अधिकार आयोगले ब्याचेलेटको भ्रमणलाई सम्भव बनाउन बारम्बार संवाद गरेका थिए र दुई पक्ष महत्वपूर्ण सम्झौतामा पुगेको संकेत गर्दै अन्तिममा भ्रमण सम्पन्न भयो । वास्तवमा भ्रमणमा ब्याचेलेटको प्रेस सम्मेलनमा धेरै टिप्पणी थिए जसलाई चीन सुन्न चाहँदैनथ्यो । उदाहरण, उनले आतंकवादविरुद्धका अभियान तथा व्यावसायिक शिक्षा र तालिम केन्द्र सञ्चालनलगायत ‘डिरेडिकलाइजेसन’ (कट्टरपन्थबाट मुक्ति)का उपायमा स्वतन्त्र न्यायिक पर्यवेक्षणको कमीबारे आफ्नो शंका र चिन्ता व्यक्त गरेकी थिइन् । यो मतले सिन्जियाङ मामिलामा विकृत पश्चिमी जनमतको संकेत गर्छ । यद्यपि, चिनियाँ पक्षले ब्याचेलेटसँग यो मुद्दा उठाएन र सधैँ उनको सम्मान गर्यो ।
ब्याचेलेट चीन पुग्नुअघि नै अमेरिकी विदेश मन्त्रालयले उनको भ्रमणलाई ‘त्रुटिपूर्ण’ घोषणा गर्यो र ब्याचेलेटले भ्रमण गरे पनि उनलाई ‘संवेदनशील क्षेत्र’मा जान नदिइनुपर्ने बताएको थियो । त्यसैवेला बेलायत र अन्य अमेरिकी सहयोगीले ब्याचेलेटलाई तथाकथित सिन्जियाङ दमनलाई उजागर गर्ने कागजात जारी गर्न समन्वय पनि गरेका थिए । यी सबै ब्याचेलेटलाई प्रभावित पार्ने र चीनलाई रणनीतिक रूपमा दमित गर्ने गरी अमेरिकापरस्त मानवअधिकार प्रतिवेदन प्रकाशित गर्न बाध्य पार्नका लागि थियो ।
यद्यपि, राष्ट्र संघीय मानव अधिकार आयोगको प्रतिवेदन वासिङ्टन र लन्डनले अपेक्षा गरेजस्तो आएन । नतिजा मानव अधिकार संगठनलाई ब्याचेलेटलाई हमला गर्न उक्साइयो र ब्याचेलेट चिनियाँ प्रोपगान्डाको सिकार भइन् भन्ने दाबी पनि गरियो । पश्चिमा शक्तिलाई मानव अधिकारसम्बन्धी राष्ट्र संघीय आयोगप्रति शून्य सम्मान छ । यी केवल आयोगलाई एक संयन्त्रका रूपमा प्रयोग गर्न चाहन्छन् र आफूअनुकूल नतिजा नआउँदा यसविरुद्ध सार्वजनिक धारणा निर्माण गर्छन् । तर, तथ्य सधैँ झुटभन्दा शक्तिशाली हुन्छन् । अमेरिकाले सिन्जियाङको अवस्था परिवर्तन गर्न सक्नेछैन । र, अमेरिका सिन्जियाङबारे झुटो ‘तथ्य’ निर्माण गर्न र बाँकी संसारलाई सो ‘तथ्य’ हो भनेर विश्वस्त पार्न कहिल्यै सक्षम हुनेछैन । ग्लोबल टाइम्सबाट