मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ असोज २ शनिबार १०:०१:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खोपमा भइरहेको विश्व राजनीतिले नेपाल पनि प्रभावित

विश्व स्वास्थ्य संगठनले मान्यता दिएका सबै खोपलाई सबै मुलुकले मान्यता नदिँदा विदेश भ्रमणमा समस्या

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ असोज २ शनिबार १०:०१:००

-अमेरिका, बेलायतसहित युरोपियन युनियनसम्बद्ध मुलुकमा चिनियाँ खोप सिनोभ्याक्स र भेरोसेललाई छैन मान्यता 
-भारतको कोभिसिल्ड र अमेरिकी जोन्सन एन्ड जोन्सनलाई चीनले मान्यता दिएन
-क्यानडामा फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनेका खोपलाई मात्रै मान्यता, चिनियाँ खोप अमान्य
-युरोपियन मेडिसिन एजेन्सीले दिएन भारतमा उत्पादित कोभिसिल्ड, चिनियाँ र रुसी खोपलाई मान्यता, मोडर्ना, फाइजर, एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सनलाई मात्रै मान्यता 
-कोभिसिल्डलाई जर्मनी, स्पेन, ग्रिस, स्लोभानिया, आइसल्यान्ड, अस्ट्रिया, स्विटजरल्यान्डमा मान्यता 
-रुसको स्पुतनिक भी खोपलाई विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त छैन, ग्रिसमा मात्रै मान्यता 

नेपालमा कोभिड– १९ विरुद्धको खोप अभियान तीव्र छ । चीनको भेरोसेल, भारतको कोभिसिल्ड, अमेरिकाको जोन्सन एन्ड जोन्सन र जापानको एस्ट्राजेनेका खोप नेपालमा प्रयोग भइरहेको छ । तर, थरीथरीका खोप लगाउँदा नेपालीलाई पनि विदेश भ्रमणमा समस्या भएको छ । 

विश्व स्वास्थ्य संगठनले मान्यता दिएका सबै खोपलाई सबै मुलुकले मान्यता नदिँदा विदेश भ्रमणमा समस्या हुने देखिएको हो । भारतको कोभिसिल्ड र अमेरिकी जोन्सन एन्ड जोन्सनलाई चीनले मान्यता दिएको छैन । अमेरिका, बेलायतसहित युरोपियन युनियनसम्बद्ध मुलुकले चिनियाँ खोप सिनोभ्याक्स र भेरोसेललाई मान्यता दिएका छैनन् । चीन सरकारले गत चैतमा जारी गरेको सूचनाअनुसार चीन प्रवेशका लागि भेरोसेल वा चिनियाँ खोप लगाएको हुनुपर्ने प्रावधान छ । नेपालमा भेरोसेल खोप सबैभन्दा धेरै आएको छ । तर, यो खोप लगाएकाहरूलाई युरोप र अमेरिका जान अप्ठ्यारो पर्ने देखिएको छ । 

सामान्यतया कोभिसिल्ड भ्याक्सिन बेलायतमा उत्पादन भएको र अमेरिकाले पनि मान्यता दिइसकेका कारण सबैतिर प्रयोगमा आइरहेको छ । तर, बेलायत र अमेरिकाजस्ता शक्तिराष्ट्रहरूले भेरोसेल खोपलाई मान्यता नदिएका कारण चीनले समेत कोभिसिल्डलाई मान्यता नदिएको हुन सक्ने वरिष्ठ भाइरोलोजिस्ट डा. जनक कोइराला बताउँछन् ।

‘खोपबारे प्रत्येक देशहरूले आफ्नै मापदण्ड बनाएका छन् । आफूले उत्पादन गरेको खोपलाई अघि बढाउन अनि अन्तर्राष्ट्रिय शक्तिसमीकरण इत्यादिका कारण यस्तो हुन सक्छ,’ कोइरालाको भनाइ छ, ‘तर, अनुदान र सहयोगको भरमा सीमित खोप ल्याएर प्रयोग गरिरहेको नेपालजस्तो देशका लागि यस्ता प्रावधानले समस्या आएको छ । विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेका खोपलाई विश्वभरि मान्यता दिनुपर्छ । यसका लागि सम्बन्धित देशहरूसँग कुराकानी गर्नुपर्छ ।’ 

हालसम्म भएका क्लिनिकल अध्ययनअनुसार कोभिडविरुद्ध खोपको प्रभावकारिता ६ देखि ९ महिनासम्म रहन्छ । खोपको प्रभाव बढाउन सम्बन्धित खोपको बुस्टर डोजबारे विभिन्न अनुसन्धान भइरहेका छन् । तर, उपलब्ध भ्याक्सिन सबै देशमा मान्यता प्राप्त नहुनु र छोटो समयमा एकभन्दा बढी भ्याक्सिन प्रयोग गर्न नमिल्ने हुँदा समस्या भइरहेको चिकित्सकहरू बताउँछन् । डा. कोइराला भन्छन्, ‘क्लिनिकल रूपमा एउटै समयमा एकभन्दा बढी कम्पनीले उत्पादन गरेको खोप लगाउन मिल्दैन ।’ 

क्यानडाले फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनेका खोपलाई मात्रै मान्यता दिएको छ । त्यहाँ चिनियाँ निर्मित खोपलाई मान्यता छैन । युरोपियन मेडिसिन एजेन्सीले अनुमति दिएका खोपहरूमा मोडर्ना, फाइजर, एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन छन् । एजेन्सीले चिनियाँ र रुसमा उत्पादित खोपलाई मान्यता दिएको छैन । रुसमा निर्मित स्पुतनिक भी खोपलाई विश्व स्वास्थ्य संगठनले नै मान्यता दिन बाँकी छ ।

चीनमा निर्मित सिनोभ्याक खोप ३२ देशमा प्रयोग भइरहेको छ भने भेरोसेल खोप ६१ देशमा प्रयोग भइरहेको छ । नेपालमा पनि चीनबाट ल्याइएको भेरोसेल खोप धेरै प्रयोगमा छ । इयूको मेडिसिन एजेन्सीले भारतमा उत्पादित कोभिसिल्ड खोपलाई पनि मान्यता दिएको छैन । रुसको स्पुतनिक भी खोप भने विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त छैन । केवल ग्रिसले मात्रै यो खोपलाई मान्यता दिएको छ ।

कोभिड महामारी विश्वव्यापी समस्या भएका कारण विश्व स्वास्थ्य संगठनले अनुमति दिएपछि प्रयोगमा आइरहेका सबै खोपले विश्वव्यापी मान्यता पाउनुपर्ने परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ बताउँछन् । विश्व स्वास्थ्य संगठनले नै यसबारे स्पष्ट पार्नुपर्ने श्रेष्ठको भनाइ छ । ‘खोप उत्पादक राष्ट्रहरूले आफ्नो स्वार्थपूर्तिका लागि अन्य मुलुकमा उत्पादित खोपलाई मान्यता नदिनु सही होइन, यो गलत छ,’ पूर्वराजदूत श्रेष्ठले भने, ‘खोप कुन देशमा उत्पादन भएको हो भन्दा पनि कोभिडविरुद्धको खोप हो कि होइन भन्ने कुरालाई हेर्नुपर्छ । र, खोप विश्वव्यापीकरण हुनुपर्छ । एक देशमा उत्पादित खोप अर्को देशमा मान्यताप्राप्त नहुनु नेपालजस्ता मुलुकका लागि गम्भीर समस्या हो ।’ 

जर्मनीले खोपको डोज पूरा गरेका सबैलाई जान दिएको छ । कोभिसिल्ड खोपलाई जर्मनी, स्पेन, ग्रिस, स्लोभानिया, अस्ट्रिया, आइसल्यान्ड, स्विट्जरल्यान्डलगायतले भने मान्यता दिएका छन् । युरोपियन युनियनको मापदण्ड बेग्लै भए पनि देशअनुसार बेग्लै नियम छन् । युरोपमा देशअनुसार अन्तर्राष्ट्रिय आवागमनको नियम फरक–फरक छ । 

बेलायतले नेपाललाई अहिले रेड जोनमा राखेको छैन । तर, खोप पूरा गरेका नेपाली यात्रुलाई पनि १० दिन क्वारेन्टिन अनिवार्य गरेको छ । ‘दश दिन होटेलमा क्वारेन्टिनमा बस्दा करिब दुई हजार पाँच सय पाउन्ड खर्च हुन्छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘नेपालमा कोभिडको अवस्थामा सुधार हुँदै आएको र पूरा खोप लगाइसकेकाको हकमा सहजीकरण गरिदिन कूटनीतिक च्यानलमार्फत अनुरोध गरेका छौँ ।’ 

खाडी मुलुकले चिनियाँदेखि अमेरिकी, जर्मनी सबै खोपलाई मान्यता दिएको परराष्ट्रका अधिकारीहरूको भनाइ छ । ‘खोपको पूरा डोज पुगेको प्रमाणपत्रका आधारमा नेपालीहरू खाडी मुलुकमा गइरहेका छन्, समस्या देखियो भन्ने जानकारी आएको छैन,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने । 

विश्वमा १८ अर्ब ७० करोड डोज खोप उत्पादन भएको छ । युनिसेफको पछिल्लो तथ्यांकअनुसार कोभ्याक्सअन्तर्गत एक सय ४१ देशमा २७ करोड ९५ लाख डोज खोप पु¥याइएको छ । कोभ्याक्समा पाँच अर्ब सात करोड डोज खोप सुरक्षित छ । कोभ्याक्सअन्तर्गत नेपालले अमेरिका, जापान र भारतबाट खोप प्राप्त गरेको छ । 

यसैगरी, हालसम्म एक सय ८४ मुलुकका ३७.९ प्रतिशत जनसंख्याले कोभिड– १९ विरुद्धको खोप पूरा गरेका छन् । ब्लुम्बर्गले बिहीबार साँझ प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार प्रतिदिन औसतमा तीन करोड तीन लाख २६ हजार ६ सय १२ डोज खोप विश्वभरि लगाइएको छ । हालसम्म पाँच अर्ब ८३ करोड डोज खोप लगाइएको छ । यही अनुपातमा जनसंख्याको ७५ प्रतिशतलाई खोप पूरा गर्न थप ६ महिना लाग्ने अनुमान छ । 

विश्व स्वास्थ्य संगठनले मान्यता दिएका २१ खोप हाल विश्वभरि प्रयोगमा छन् । विश्वमा एक सय १७ खोप पहिलोदेखि चौथो परीक्षणका क्रममा छन् भने एक सय ८५ खोप पूर्वपरीक्षणको अवस्थामा छन् । पहिलो चरणमा ४०, दोस्रो चरणमा ३५, तेस्रो चरणमा ३४ र चौथो चरणमा आठ खोप परीक्षणका क्रममा छन् । 

देशको जनसंख्याको अनुपातमा सबैभन्दा धेरै युएईका ९० प्रतिशत जनताले खोप लगाएका छन् । पोर्चुगलमा ८७, स्पेनमा ८०, सिंगापुरमा ७९, चीनमा ७६, क्यानडामा ७५, बेलायतमा ७१, जर्मनीमा ६६, जापानमा ६६, अमेरिकामा ६३, भारतमा ४२ र रुसमा ३२ प्रतिशत जनसंख्याले कोभिडविरुद्धको खोप लगाएका छन् । तर, सबैभन्दा बढी डोज खोप लगाउने मुलुकमा भने चीन, भारत, अमेरिका, ब्राजिल, जापान, इन्डोनेसिया, मेक्सिको र जर्मनी छन् । 

नेपालजस्ता मुलुकका लागि गम्भीर समस्या :  परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ 
खोप उत्पादक राष्ट्रहरूले आफ्नो स्वार्थपूर्तिका लागि अन्य मुलुकमा उत्पादित खोपलाई मान्यता नदिनु सही होइन, यो गलत छ । खोप कुन देशमा उत्पादन भएको हो भन्दा पनि कोभिडविरुद्धको खोप हो कि होइन भन्नेलाई हेर्नुपर्छ । र, खोप विश्वव्यापीकरण हुनुपर्छ । एक देशमा उत्पादित खोप अर्को देशमा मान्यताप्राप्त नहुनु नेपालजस्ता मुलुकका लागि गम्भीर समस्या हो । 

डब्लुएचओले मान्यता दिएकालाई विश्वभरि मान्यता  दिनुपर्छ : वरिष्ठ भाइरोलोजिस्ट डा. जनक कोइराला 
खोपबारे प्रत्येक देशका आफ्नै मापदण्ड छन् । आफूले उत्पादन गरेको खोप अघि बढाउन अनि अन्तर्राष्ट्रिय शक्तिसमीकरण इत्यादिका कारण यस्तो हुन सक्छ । तर, अनुदान र सहयोगको भरमा सीमित खोप ल्याएर प्रयोग गरिरहेको नेपालजस्तो देशका लागि यस्ता प्रावधानले समस्या आएको छ । विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेका खोपलाई विश्वभरि मान्यता दिनुपर्छ ।

यी देश जहाँ कोभिड महामारी भएन
विश्वव्यापी कोरोना महामारीमा पनि केही देश सुरक्षित रहे । चीनको छिमेक उत्तर कोरियामा कोरोना महामारीको असर देखिएको छैन । दुई करोड ५८ लाख जनसंख्या भएको उत्तर कोरियाको दक्षिणी क्षेत्रमा गत वर्ष जुलाईमा एउटा शंकास्पद केस देखिएको थियो । तर, त्यो कोरोना नभएको पुष्टि भयो । उत्तर कोरियाले तत्कालै सीमा बन्द गरेको थियो । प्रवेश गर्ने विदेशी वा स्वदेशी नागरिकलाई एकदेखि दुई महिना अनिवार्य क्वारेन्टिनमा बस्ने नियम लागू भएको थियो ।

मध्य एसियाको तुर्कमेनिस्तानमा पनि कोरोना महामारी देखिएन । ६० लाख ३१ हजार जनसंख्या रहेको यो देशको सीमा काजकस्तान, उज्वेकिस्तान, ताजकिस्तान, इरान र अफगानिस्तानसँग जोडिएको छ । कोरोनाको महामारी सुरु हुनासाथ यो मुलुकले चीनसँग सबै उडान बन्द गरेको थियो । उसले छिमेकी मुलुकसँग सीमा पनि तत्कालै बन्द गरेको थियो । 

टोङ्गा ओसनियामा पनि कोरोना भाइरको महामारी देखिएको छैन । फिजीमा कोरोना भाइरसको केस देखिनासाथ टोङ्गाले विदेशीका लागि सीमा बन्द गरेको थियो । टोङ्गाले अन्तर्राष्ट्रिय उडानमा पनि ६० जनाको संख्यामा सीमित गरेको थियो । होटेलमा समेत प्रहरी परिचालन गरेर कडा क्वारेन्टिनको नियम लागू गरेको थियो । त्यहाँ आठवटा शंकास्पद केस भेटिए पनि सबै नेगेटिभ देखिए । 

टुभालु भन्ने अर्को मुलुक पनि कोरोना महामारीमुक्त रह्यो । जम्मा ११ हजार सात सय जनसंख्या भएको यो मुलुकमा प्रतिवर्ष दुई सयभन्दा कम पर्यटक जाने गर्दछन् । नौरु नामक अर्को देशमा पनि कोरोना महामारी देखिएन । जम्मा १० हजार आठ सय जनसंख्या भएको यो मुलुक एकै दिन घुम्न सकिन्छ । यो देश विदेशी नगण्य जाने ठाउँ हो ।