मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३० बुधबार १८:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थलमार्ग हुँदै काठमाडौं छिरेका १४ रोहिंग्याबारे अनुसन्धान गर्दै गृह मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३० बुधबार १८:३९:००

पाँच दिनअघि झापाकाे काँकडभिट्टा सीमा हुँदै नेपाल छिरेका १४ जना रोहिंग्या शरणार्थी भएको पाइएको छ । उनीहरू स्थलमार्ग हुँदै लुकेर नेपाल छिरेको भए पनि प्रहरीले उनीहरूलाई बाटोमा कहीँ कतै नरोकेको पाइएको छ ।

स्थलमार्ग हुँदै काठमाडौंको बौद्धमा आइपुगेपछि मात्रै प्रहरीले पत्तो पाएको थियो । उनीहरूलाई तीन दिनअघि मात्रै प्रहरीले पक्राउ गरेको थियो । कोही कसैले ल्याएर छाडेको हुन सक्ने प्रहरीको अनुमान छ । 

उनीहरूमाथि गृह मन्त्रालयले अनुसन्धान थालेको छ । उनीहरूले नेपाल आउँदा कुनै अनुमति कागजात नबोकेको र रोहिंग्या भनेर परिचय दिएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले उनीहरूमाथि अनुसन्धान भइरहेको बताए । ‘अहिले उनीहरूलाई नियन्त्रणमै राखेर अनुसन्धान गर्ने कार्य भइरहेको छ, यो काम अध्यागमन विभागको टोलीले गरेको छ,’ उनले भने । 

प्रहरीले उनीहरूलाई अध्यागमन विभागको जिम्मा लगाएको छ । विभागले उनीहरूमाथि निगरानी राखेको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार यदि शरणार्थीकै रूपमा नेपाल प्रवेश गरेका भए गृहले टुंगो लगाएर उनीहरूलाई शरणार्थी पत्र दिने बताइएको छ ।

 ‘अहिले गृहले अध्ययन गरेको छ, उनीहरूले अवैध रूपमा नै नेपाल प्रवेश गरेका हुन्, तर शरणार्थी हुन् वा होइनन् भन्ने अध्ययनपछि मात्रै थाहा हुन्छ,’ उनले भने । 

प्रहरीका अनुसार उनीहरू बंगलादेशबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका थिए । झापाको काँकडभिट्टा सीमा क्षेत्रबाट उनीहरू नेपाल प्रवेश गरेका हुन् । ‘उनीहरू पैदल यात्रा र कहीँ कतै सवारीसाधन चढेर काठमाडौं आइपुगेका रहेछन्,’  गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘उनीहरूलाई कोही व्यक्तिले काठमाडौं ल्याएर छाडेको हुन सक्छ, यसबारेमा अनुसन्धान भइरहेको छ ।’ 

आफ्नो देशमा बस्न नसक्ने अवस्था आएपछि बास खोज्दै नेपाल आएको प्रहरीले सोध्ने क्रममा उनीहरूले प्रतिक्रिया दिएका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।