मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २९ मंगलबार
  • Thursday, 19 December, 2024
प्रदीप गिरि
२o७८ भदौ २९ मंगलबार ११:oo:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भावी कांग्रेस नेतृत्वको कार्यभार

कांग्रेसको युवा नेतृत्वको लोकप्रियता र योग्यता असन्दिग्ध सर्वमान्य छ । भावी नेपालको तस्बिरसहित आगामी दिनका निमित्त ठोस र सगुण प्रस्तुति कांग्रेसका भावी नेताहरूको प्रमुख कार्यभार हो ।

Read Time : > 5 मिनेट
प्रदीप गिरि
नयाँ पत्रिका
२o७८ भदौ २९ मंगलबार ११:oo:oo

नेपाली कांग्रेसको महाधिवेशनको पूर्वसन्ध्या उत्साहजनक छैन । महाधिवेशनको तिथि हेरफेर भइरहनु निर्वाचन प्रमुखले गुनासो गरिरहनु सामान्य घटना भइसकेको छ । थप अशोभनीय घटनाक्रम पनि प्रकट हुँदै छ । नेपालको समकालीन राजनीतिमा नैतिक र लोकतान्त्रिक मूल्य र मर्यादा मानौँ विलुप्त भएका छन् । पार्टीभित्रको बेथितिको कुरो छोडिदिउँ । सिंगो संवैधानिक व्यवस्थामा एकपछि अर्को प्रश्नचिह्न उठेका छन् । राजनीतिक दल कुनै पनि प्रजातान्त्रिक व्यवस्थाका आधारस्तम्भ हुन् । तर, दल–बदल स्थापित मान्यतासँग खेलवाड गर्नमा सबै राजनीतिक दल समान रूपमा उद्यत् देखिन्छन् । संसदीय लोकतन्त्रको इतिहासमा दल–बदलको स्वरूप र सार विश्वभरि चर्चाको विषय रहेको छ । तर, नेपालमा त्यस्तो विमर्श र अनुभवबाट कुनै शिक्षा लिइएको छैन । नेपालका हकमा नेपाली कांग्रेसलाई संसदीय प्रजातान्त्रिक व्यवस्थाको पक्षधर र प्रवर्तक मान्न सकिन्छ । नेपाली कांग्रेसले समेत त्यसतर्फ ध्यान दिएन । नेपाली कांग्रेसको नेतृत्वमा वर्तमान सरकार चलिरहेको छ । तर पनि संसद्मा अहिले कहीँ नभएको जात्रा हाँडीगाउँ उखान चरितार्थ भएको छ ।

अहिले त कुरो महाविधेशनको छ । यस महाधिवेशनले नेपाली कांग्रेसका पदाधिकारीको निर्वाचनभन्दा अन्यमा ध्यान दिएको देखिँदैन । तर, यो आज एक दिनको कुरा होइन । ०४७ सालमा बहुदलीय व्यवस्थाको पुनर्बहाली भयो । नेपाली कांग्रेसको सरकार बन्यो । त्यस दिनदेखि हुँदै आएका महाधिवेशन कुनैले पनि विचार र कार्यक्रमलाई आफ्नो कार्यभार बनाएनन् । नेपाली कांग्रेसको केन्द्रबिन्दु चुनावी राजनीति रह्यो । बालिग मताधिकारका आधारमा हुने चुनावका आफ्ना बाध्यता र सम्झौता हुन्छन् । यो सत्य हो । तर, नेपालको हकमा अति नै भएको छ । नेपाली कांग्रेसले नेतृत्व गरेको व्यवस्थालाई चुनौती दिँदै माओवादीलगायत कतिपय शक्ति यसबीच अगाडि आए । तर, उनीहरूको गतिविधिले पनि जुन जोगी आए पनि कानै चिरेको भन्ने मान्यतालाई मात्र बलियो बनायो ।

१ पुस, २०१७ सालमा नेपाली कांग्रेसका जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई राजा महेन्द्रले राष्ट्रिय सेनाको दुरुपयोग गर्दै, आफैँले लेखाएको संविधानलाई कुल्चँदै गिरफ्तार गरे । त्यसपछि ३० वर्षको लामो समयसम्म राजनीतिक दलहरू प्रतिबन्धित रहे । निर्वासन र कारावास दलहरूको नियति रह्यो । ती ३० वर्षका अवधिमा कम्युनिस्ट शक्ति झाँगिए । उनीहरूका माझ अनेकन् किसिमका वैचारिक द्वन्द्व भए । विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवाद, सामाजिक साम्राज्यवाद, जडसूत्रवाद, वामपन्थी अवसरवाद, वामपन्थी भड्काउ जस्ता शब्दहरू प्रचलनमा रहे । यी शब्दहरूको आज सान्दर्भिकता छैन । तर, तिनताकाको विवाद र विमर्शले कम्युनिस्ट नेताहरूको वर्तमान पुस्तालाई शिक्षित र वाकपटु बनायो । युवावर्ग उनीहरूप्रति आकृष्ट भए । नेपाली कांग्रेसको विकासको ऐतिहासिक क्रम यस्तो रहेन । ०१७ सालदेखि ०४७ सम्मको कालावधिमा नेपाली कांग्रेसले संसदीय व्यवस्थाको पुनर्वहाली र प्रजातन्त्रको अनिवार्यताबाहेक अरू कुरातर्फ ध्यान पुर्‍याएन ।

०४७ सालमा नेपाली कांग्रेसले सहज बहुमत ल्यायो । अन्तरिम कालका प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई निर्वाचन हार्नुभयो । कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला महामन्त्री–प्रधानमन्त्री छानिनुभयो । त्यसपछिको कथाव्यथा अझै पनि हामीमध्ये अधिकांशको स्मृतिपटलमा छ ।गिरिजाप्रसाद कोइरालाका धेरै विशेषता थिए । उहाँ एक सहृदयी नेता हुनुहुन्थ्यो । प्रजातन्त्रको पुनस्र्थापनाको लडाइँमा उहाँ कहिल्यै पछि रहनुभएन । भावी नेपालको एउटा छुट्टै समाजवादी परिकल्पना चाहिन्छ भन्ने कुरोले भने उहाँलाई कहिल्यै बडै घचेटेन । प्रजातन्त्र स्थापना हुनासाथ नेपालका सामाजिक आर्थिक समस्या समाधान हुन्छन् भन्नेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो । अधिकांश कांग्रेसी नेताहरू कदाचित यस्तै सोच्दथे । एकजना गणेशमान सिंह अवश्य अपवाद देखिनुभयो । तर, त्यो प्रसंग यथासमय आउला ।

०४७ सालमा एउटा विशेष वातावरणमा संसदीय लोकतन्त्रको पुनर्वहाली भएको थियो । सोभियत युनियन विघटनको भोलिपल्ट सिंगो संसारमा बजारवाद, निजीकरण, नवपुँजीवाद, नवउदारवाद एक मात्र विचारधाराका रूपमा विश्वमा प्रतिष्ठित र प्रचलित भएको थियो । अब विश्वलाई उन्नति, विकास, सुख–सम्पदा दिने काम मुक्त बजारले नै गर्छ भन्ने विश्वास दुनियाँभर प्रचारित र प्रवाहित भयो । नेपाली कांग्रेसको आर्थिक नीति पनि यसै प्रवाहमा बग्यो । स्थापनाकालदेखि नै नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादको एउटा मौलिक किसिमको दृष्टिकोण प्रतिपादन गरेको थियो । पार्टीका संस्थापक नेता बिपी कोइराला स्वयं यस लोकतान्त्रिक समाजवादको भाष्यकार हुनुहुन्थ्यो । जीवनका आखिरी वर्षमा कोइरालाले आफ्ना सबै भाषणमा यही दृष्टिकोणको विशेष वकालत गर्नुभएको छ । तेस्रो विश्व अझ खासगरी दक्षिण एसियाको ठोस वस्तुस्थितिलाई ध्यानमा राखेर यस किसिमको विचारधाराको निर्माण भएको थियो ।

भारतका समाजवादी नेता जयप्रकाश नारायण–लोहियाले, नेपालमा बिपी कोइरालाले लोकतान्त्रिक समाजवादको विचारधारालाई अगाडि बढाउनुभएको थियो । सन् १९५३ मा रंगुनमा भएको एसियाली समाजवादी सम्मेलनमा यो विचारधाराको वरिपरि एसियाका अधिकांश देशका समाजवादी नेताले आ–आफ्नो दृष्टिकोण अगाडि सारेका थिए । नेपाली कांग्रेस पनि बिपी कोइरालाको नेतृत्वमा उक्त सम्मेलनमा सहभागी थियो । सन् १९९० पछि चलेको भूमण्डलीकरणको नारामा यी सब कुरा उड्यो । विचारधाराका दृष्टिले नेपाली कांग्रेस विपन्न र पराश्रित हुन पुग्यो । कांग्रेसको आजको दिशाविहीनताका निमित्त विचारशून्यता सर्वाधिक ठूलो संकट भएको छ । नेपाली कांग्रेस स्थापनाकालदेखि नै जुझारु पार्टीका रूपमा प्रतिष्ठित रह्यो । आफ्ना लक्ष्य प्राप्तिका निमित्त कांग्रेसले प्रतिबन्ध, निर्वासन, जेलनेल, हत्या, हिंसा सबै सामना गर्नुपर्‍यो । तर, कांग्रेस कहिल्यै पनि आफ्नो पथबाट विचलित भएन । यसको स्पष्ट कारण छ ।

माओवादीका नाममा जडसूत्रवाद छोड्न नसक्दा त्यत्रो महान् संघर्षले बाटो बिरायो । एकातिर कांग्रेसको वैचारिक आत्मसमर्पण, अर्कोतिर माओवादीको पथभ्रष्टता र जडसूत्रवादले आज नेपाल एकपटक फेरि घनघोर निराशाको खाडलमा फसेको छ । मुलुकका किशोर र युवा बेचैन छन् । आफ्नो दुरवस्था देखेर उनीहरू छटपटिएका छन् ।
 

कांग्रेससँग सुदूरभविष्यको एउटा सपना थियो । कांग्रेसलाई त्यस सपनाले सधैँ डोर्‍यायो, प्रेरित र उत्साहित गर्‍यो । त्यसै सपनाको आलोकमा नेपाली कांग्रेस एउटा उच्च आदर्शको वाहक भएर बाँच्न र अगाडि बढ्न सफल भयो । बिपी कोइरालाले आफ्नो जीवनभरि दोहोर्‍याइराख्नुभयो कांग्रेसका कार्यकर्ताहरूले जोगीजस्तो निष्काम हुनुपर्छ । पद र पैसाको प्रलोभनबाट सञ्चालित हुनुहुँदैन । कोइरालाका रचनावलीमा आफ्ना एक सहयोगीलाई बडो मार्मिक शैलीमा लेख्नुभएको एउटा पत्र आज पनि पढ्न सकिन्छ, ‘‘....सानोतिनो स्वार्थपूर्तिका लागि हामी लाग्न थाल्यौँ भने, सानोतिनो स्वार्थका आधारमा बनेका विभिन्न पार्टीहरूलाई हामीले स्थान दिन थाल्यौं भने देशले उन्नति गर्न सक्तैन । चुनावको दिन पनि आउँदै छ । चुनाव प्रजातन्त्रको मुख्य ध्यान हो । जनताले यस चुनावको राम्ररी प्रयोग गर्नुपर्छ, नत्र भने नेपालको भविष्य धमिलिने डर हुन्छ । यो सत्यलाई राम्ररी बुझेर चुनावको तयारी गर्नुपर्छ । प्रत्येक व्यक्तिले आफ्नो स्वार्थ छाड्नुपर्छ । देशको उन्नति हाम्रो लक्ष्य हो, कांग्रेस संस्था हाम्रो साधन हो, हामी सेवक हौँ भन्ने भावना सबैको मनमा हुनुपर्छ । चुनावमा स्वार्थी व्यक्तिहरूलाई मौका दिनुहुँदैन । हामी सबैले निःस्वार्थ सेवाको व्रत लिनुपर्छ । गेरुवा रङको लुगा नलगाए पनि हामीले मनमा जोगीको जस्तो निष्काम प्रवृत्ति धारण गर्नुपर्छ । कुनै ठूलो पदमा पुगिन्छ भने पनि हामीमा अभिमान नभएर सेवाभाव हुनुपर्छ ।’ (प्रस्तुत पत्र बिपी कोइरालाले १० पुस, ०१३ मा ओमप्रसाद थकाली बाग्लुङलाई लेख्नुभएको हो । स्रोत : विश्वेश्वरप्रसाद कोइराला प्रतिनिधि संकलन) ।

आजको कांग्रेसमा यस्तो भावना कतै छैन । कांग्रेसको मात्र किन कुरा गर्ने, कुनै पनि राजनीतिक पार्टीमा आत्मत्यागको किञ्चित सोच पनि छैन । मै खाऊँ, मै लाऊँ, मोजमस्ती मै गरूँ भन्ने संस्कारले पार्टीका कार्यकर्ताहरू ग्रस्त छन् । नेकपा माओवादीको नेतृत्वमा मुलुकले कोल्टे फेर्छ कि भन्ने आभास दिएको थियो । माओवादीले नेपालको उत्पीडित जनसमूहको ठूलो तप्कालाई संघर्षका निमित्त राजनीतिमा उतारेको थियो । त्यो एक विस्मयजनक परिघटना थियो । माओवादीको आह्वानमा दलित, महिला, जनजाति, मधेसीसमेत राजनीतिमा सोत्साह समावेश भए । तर, माओवादीले उनीहरूलाई वाञ्छनीय नेतृत्व दिन सकेन । नेपालको परिस्थिति बुझ्न सकेन । माओवादीका नाममा जडसूत्रवाद छोड्न नसक्दा त्यत्रो महान् संघर्षले बाटो बिरायो । एकातिर नेपाली कांग्रेसको वैचारिक आत्मसमर्पण, अर्कोतिर माओवादीको पथभ्रष्टता र जडसूत्रवादले आज नेपाल एकपटक फेरि घनघोर निराशाको खाडलमा फसेको छ । मुलुकका किशोर र युवा बेचैन छन् ।

आफ्नो दुरवस्था देखेर उनीहरू छटपटिएका छन् । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा किशोर र युवाले सहभागी हुने जाँगर देखाएका छन् । तर, नेपाली कांग्रेससँग उनीहरूलाई दिने कुनै गतिलो सामल छैन । उहिल्यै राजतन्त्र रहँदासम्म सबै समस्याका निमित्त राजालाई औँलो देखाइन्थ्यो । नौलो जनवादको अव्यावहारिक नारा दिएर कहीँ नपुगेपछि माओवादीले राजतन्त्रलाई आफ्नो भारी बिसाउने तारो बनायो । यसमा कुनै शंका छैन, एक्काइसौँ शताब्दीको नेपालमा राजतन्त्र कलंकित र दुर्वह बोझ मात्र थियो । राजतन्त्रको बिदाइ एक आवश्यक कदम थियो । आज पनि नेपालमा आमजनताका माझ यस विषयमा अनेकौँ भ्रम छन् । हाम्रो नेतृत्वको कमी कमजोरी र अनैतिक धरातलका कारण राजतन्त्र चर्चामा आइरहन्छ । सौभाग्यवश विद्यार्थी र युवामा राजतन्त्रप्रति कुनै मोह छैन । उनीहरूलाई अन्य अनेकानेक प्रश्नले व्याकुल बनाएका छन् । वैचारिक दिशाविहीनता, बेरोजगार, भविष्यको चिन्ताले बेचैन छन्, युवा । सञ्चार क्रान्तिले युवाहरूलाई मानसिक र बौद्धिक क्षितिज उघारिदिएको छ । आगामी दशकहरूमा विश्व कता जाने हो, कसैलाई थाहा छैन । मानवनिर्मित बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स) र जैवीय प्रविधि (बायो टेक्नोलोजी)ले आमकिशोरलाई चमत्कृत बनाएको छ । हाम्रो राष्ट्रिय नेतृत्व विश्वमा आइरहेको यस्तो चमत्कारदेखि उदासीन देखिन्छ ।

इतिहासलाई अगाडि डोर्‍याउन नेतृत्वको भूमिका निर्णायक हुन्छ । नेतृत्वले देश, काल, परिस्थिति हेरेर अगाडिको लक्ष्य र बाटो टुंगो गर्नुपर्छ । सिंगो मुलुकलाई स्वेच्छाले त्यता डोर्‍याउनुपर्छ । नेपालको वर्तमान नेतृत्व आज यस अवस्थामा देखिँदैन । मुलुकमा मानौँ वृद्धतन्त्र हावी भएको छ । अझ पितृतन्त्र भने पनि हुन्छ । प्रधानमन्त्री ओलीलाई उनका कार्यकर्ताले बा भन्दा उनी मक्ख पर्थे । ऐतिहासिक कालमा पितृतन्त्रको आफ्नै महत्व थियो । त्यो त्यस समय ठिकै थियो होला । तर, विगत ४० वर्षमा विश्वमा परिवर्तनको रफ्तारले विगतका सबै प्रतिमान (रेकर्ड) तोडेको छ । वृद्धतन्त्र र नयाँ पुस्तामा कुनै सम्बन्ध र संवाद देखिँदैन ।

अहिले नेपाली कांग्रेसको नेतृत्व लिन युवा समुदाय अत्यन्त उत्सुक देखिएका छन् । नेपाली कांग्रेसभित्र र बाहिरसमेत युवा नेतृत्वको चहलपहल छ । यो स्वस्थ र शुभ थालनी हो । तर, उमेरका आधारमा मात्र कोही तन्नेरी हुँदैन । मुलुकले खोजेको परिवर्तनको स्वरूप र सारको चिनारी गरेर अगाडि बढ्नु तन्नेरीको विशेष पहिचान हो । महाधिवेशनको मूल परिघटनाका निमित्त अहिले पर्याप्त समय छ । हाम्रा लोकप्रिय युवा नेताहरूले आफ्नो उद्देश्य र कार्यक्रम स्पष्ट गर्दै लैजानु आजको आवश्यकता हो । यसै पनि नेपालको राजनीति यो समय चुनौतीपूर्ण मोडमा छ । यो चुनौतीले सर्वथा मौलिक जुक्ति, शक्ति र भक्तिको अपेक्षा राखेको छ । नेपाली कांग्रेसको युवा नेतृत्वको लोकप्रियता र योग्यता असन्दिग्ध सर्वमान्य छ । भावी नेपालको तस्बिरसहित आगामी दिनका निमित्त ठोस र सगुण प्रस्तुति कांग्रेसका भावी नेताहरूको प्रमुख कार्यभार हो ।
(गिरि हाल दिल्लीमा उपचाररत छन्)