१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७८ भदौ २८ सोमबार ०६:२८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्ड र नेप्से नेतृत्वविहीन बनेपछि राफसाफ कोष योजना प्रभावित

Read Time : > 1 मिनेट
२०७८ भदौ २८ सोमबार ०६:२८:००

सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेतृत्वविहीन बन्न पुगेपछि राफसाफ कोष खडा गरी रकम जम्मा गर्ने योजना प्रभावित बन्न पुगेको छ । १ साउनबाटै कार्यान्वयनमा ल्याउन बोर्डले निर्देशन दिए पनि बोर्ड र नेप्से आफैँ नेतृत्वविहीन बनेपछि कोष खडा गर्ने र आवश्यक रकम जम्मा गर्ने योजना प्रभावित बनेको हो ।कोषलाई कार्यान्वयनमा ल्याउन बोर्डले ४ जेठमा नै पत्र काटेर नेपाल स्टक एक्सचेन्ज, केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) र ब्रोकरलाई निर्देशन दिएको थियो । बोर्डले निर्देशन दिए पनि कुनै कार्यविधिविना कोषमा जान नसकिएको ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली बताउँछन् ।

साउनमा पनि यसबारे छलफल भएको थियो, तर कुनै ठोस निर्णय हुन नसक्दा अहिले झनै अलमल भएको मैनालीको भनाइ छ । ब्रोकरले पैसा लगेर कति दिनसम्म सञ्चालन गर्न पाउने हो ? अहिले पुरानो त्यो कोष खारेज भएको हो कि होइन ? रकम जम्मा भएपछि कसरी सञ्चालनमा आउँछ ? यस्ता कुराहरूको समाधान बोर्डले गरेको छैन, नेप्सेबाट पनि ब्रोकरलाई कुनै जानकारी नआएको उनले बताए । ‘ब्रोकरहरू कोषमा जाने हो, तर रकम सञ्चालन कसरी हुन्छ ? यसको कार्यविधि बनाएर बोर्डले आजसम्म दिएको छैन, त्यसकारण पनि अलमल भएको हो,’ मैनालीले भने, ‘कार्यविधि बनाएर नयाँ फन्डको व्यवस्थापन गर्न सके राम्रो हुन्छ, तर अहिले त नियामक निकायहरू नै नेतृत्वविहीन छन्, केही समय अझै रोकिन्छजस्तो छ ।’ 

बोर्डले आर्थिक वर्ष ०७७/७८ भित्र ५० करोड, आव ०७८/७९ भित्र थप ३० करोड र आव ०७९/८० भित्र थप २० करोड गरी कुल एक अर्बको कार्यान्वयनयोग्य कोष स्थापना गरी सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो । सेयर खरिदकर्ताले समयमै भुक्तानी गर्न नसकेमा ब्रोकरले राफसाफ कोषबाट नगद सापटी लिन पाउँछन् । सापटी लिएर निश्चित अवधिमा पुनः रकम कोषमै राख्नुपर्ने हुन्छ । यसअघिको कोषमा पैसा जम्मा नभएर कार्यान्वयनमा नआएको कोषलाई पैसा राख्न भुुक्तानीको सुनिश्चित गर्न भनेको थियो ।

निर्देशन दिएपछि सम्पूर्ण कार्यको जिम्मा नेपाल स्टक एक्सचेन्जको भएको धितोपत्र बोर्डको भनाइ रहेको छ । बोर्डका प्रवक्ता नीरज गिरी भन्छन्, ‘हामीले कार्यान्वयनमा ल्याउन भनेका हौँ, तीनवटै निकायलाई रकम छुट्याएका छौँ, कार्यविधि बनाएर जानुपर्छ, कुनै अलमल छ भने त्यसमा बसेर छलफल गर्न सकिन्छ, भोलि लगानीकर्ता र ब्रोकरकै हितका लागि यो कोषलाई जीवित राख्न खोजिएको हो, यसमा अलमल हुुुनुपर्ने कुनै कारण छैन ।’राफसाफ कोषमा धितोपत्र बजारले समग्रमा कोषको ५० प्रतिशत रकम, राफसाफ सेवा प्रदान गर्ने संस्थाले समग्रमा कोषको ३० प्रतिशत रकम र राफसाफ सदस्यहरू (ब्रोकर) ले समग्रमा कोषको २० प्रतिशत रकम जम्मा गर्नुपर्ने बोर्डले तोकेको छ । 

नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुली पहिला नै कोष स्थापना भइसकेको र त्यस कोषका लागि कुनै पनि लगानीकर्ता खोजी गर्न नआएको बताउँछन् । ‘नेतृत्व हुँदैको वेलादेखि सञ्चालनमा पुरानै कोष स्थापना छ, त्यसमा केही रकम पनि छ, तर कोषकै पैसा आवश्यक पर्‍यो भनेर कुनै पनि लगानीकर्ता आएका छैनन्,’ उनले भने । अर्को नियामक निकाय सिडिएससी पनि कोषमा जाने सम्बन्धमा अझै छलफलमै रहेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपाने बताउँछन् । ‘कोष सञ्चालनमा ल्याउनुपर्छ भन्नेमा हाम्रो जोडदार माग हो, यसलाई छिटो कार्यान्वयनमा ल्याउनुपर्छ,’ न्यौपानेले भने, ‘अन्य निकायसँग छलफल भइरहेको छ, केही निकायहरूको असन्तुष्टिलाई समाधान गरेर अघि बढ्ने तयारी छ ।’