१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २१ सोमबार
  • Sunday, 29 September, 2024
२o७८ भदौ २१ सोमबार २o:४८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जिसस प्रमुखसहित खोटाङका १० जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २१ सोमबार २o:४८:oo

एमालेबाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गरेका छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङसहित १० जना जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय खोटाङमा आएर नेकपा (एकीकृत समाजवाद)मा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्ने जनप्रतिनिधिहरूमा जिल्ला समन्वय समितिकै सदस्य उदयबहादुर कार्की र रञ्जना राई तथा बराहपोखरी गाउँपालिका– ४ फाक्टाङका वडाध्यक्ष भुवलराज राईसमेत रहेका छन् । 

बराहपोखरी गाउँपालिका– ५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, सोही नगरपालिका– ८ दोर्पा बुवालुङका वडा सदस्य हरि चाम्लिङ, जन्तेढुंगा गाउँपालिका– ६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राई र काेपिलासगढी गाउँपालिका– ५ सप्तेश्वरका रामकुमार बस्नेतले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

एमालेबाट विद्रोह गरेर माधव नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेसँगै निर्वाचन आयोगले दल रोज्नका लागि २२ भदौसम्मको समय दिएपछि जिल्लाका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्नेक्रम जारी रहेको नेकपा (एकीकृत समाजवादी)का जिल्ला सचिव जलशेर राईले बताए । ‘नेकपा (एकीकृत समाजवादी)मा ४१ जना जनप्रतिनिधि खुल्नुभएको छ,’ उनले भने, ‘भौगोलिक हिसाबले टाढा रहनुभएका ६ जना वडाध्यक्षसहित अन्य जनप्रतिनिधिले मंगलबार सनाखत गर्ने तयारी गर्नुभएकाे छ ।’

०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका दश स्थानीय तहमध्ये पाँचमा प्रमुख र उपप्रमुख तथा दुई स्थानीय तहमा उपप्रमुख जितेको थियो । स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहित ९८ प्रतिशत जनप्रतिनिधि एमालेमै रहेको एमाले  खोटाङका सचिव कुमार आचार्यले बताए । 

एमालेका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य राजन राईले यसअघि नै नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरिसकेका छन् । एमाले खोटाङका इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई एमालेमै रहेका छन् ।  

अधिकांश वडाध्यक्ष र वडा सदस्य पनि एमालेमै रहने देखिएको छ 

यसैबीच, नेकपा एमाले खोटाङले सूर्य चिह्नबाट निर्वाचित आफ्ना जनप्रतिनिधिलाई पार्टी विभाजनको पक्षमा नलाग्न औपचारिक रूपमा आग्रह गरेको छ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराएर समावेश हुने मौका दिइरहेको भन्दै एमालेले सोमबार विज्ञप्ति जारी गरेर विभाजनको पक्षमा नलाग्न आग्रह गरेको हो ।