
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सिलिङ हट्नुपर्नेलगायतका विभिन्न माग राख्दै पुँजी बजार सुधार संघर्ष समितिले राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ। संघर्ष समितिले विभिन्न नीतिमार्फत आफूहरूलाई पिल्साउन खोजिएको भन्दै १८बुँदे माग राखी सोमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालसमक्ष ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा लघुवित्त कम्पनीहरूले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका विभिन्न माग राखिएको छ। आफूहरूको माग पूरा नभएसम्म निरन्तर आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्। माग पूरा नभए भदौ २३ गतेदेखि २९ गतेसम्म रिले अनशन बस्ने र ३० गतेदेखि आमरण अनशन बस्ने साना लगानीकर्ता आदित्य सिवाकोटीले बताए।
समितिले नेपाल राष्ट्र बैंकअगाडि ‘१२० दिनको औसत मूल्य कायम गर’, ‘सेयर बजार जुवा होइन जीविका हो’, ‘गभर्नरलाई बर्खास्त गर’ लगायतका प्लेकार्ड तथा ब्यानरसहित प्रदर्शन र नाराबाजी गरेकाे थियाे।