मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २१ सोमबार ०९:२३:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दार्चुला घटनाको दोषीमाथि कारबाहीको अनुरोध गर्दै भारतलाई पत्र लेख्दै सरकार

परारष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सोमबार पत्र पठाउने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २१ सोमबार ०९:२३:००

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको विषयमा सरकारले भारत सरकारलाई पत्र लेख्ने भएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित छानबिन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा समस्या समाधानका लागि अनुरोध गर्दै भारत सरकारलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाउन लागिएको हो ।

परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सोमबार उक्त पत्र पठाउने गरी मन्त्रालयले तयारी गरिसकेको छ । घटनाबारे गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिले तयार पारेर सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा पत्र पठाउने गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । 

‘सरकारले दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनामा अध्ययन गर्न गठित छानबिन समितिको सिफारिसअनुसार भारतलाई पत्र लेख्ने तयारी गरेको छ,’ स्रोतले भन्यो, ‘आइतबार पत्रको मस्यौदा तयार पारिएको छ । समस्या समाधानका विषयमा समितिले गरेको सिफारिसअनुसार नै भारतीय पक्षले पनि चासो लिएर दोषीलाई कारबाही गर्न अनुरोधसहितको पत्र तयार हुँदै छ । निर्देशनअनुसार काम अघि बढिसकेको छ । सोमबारसम्म पत्र पठाइसक्ने तयारी भइरहेको छ ।’ 

घटनाबारे छानबिन गर्न गठित गृह मन्त्रालयको समितिले धामी बेपत्ता घटना एसएसबीको उपस्थितिमै घटेको देखिएको भन्दै उनीहरूमाथि अनुसन्धानका लागि कूटनीतिक पहल गर्न सिफारिस गरेको थियो । समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएपछि गृह मन्त्रालयले १७ भदौमा भारतसँग यस विषयमा कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो । त्यसैका आधारमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई पत्र लेख्न लागेको स्रोतको दाबी छ । घटनालाई लिएर राजनीतिक र कूटनीतिक रूपमा पहल नगरेको भन्दै चौतर्फी आलोचना खेपिरहेको सरकारले पत्राचार गर्न खोजेको हो । 

गत १५ साउनमा दार्चुलाको व्याँस गाउँपालिकाका जयसिंह धामी सोही गाउँपालिकामा पर्ने मालघाटबाट तुइनको प्रयोग गरी भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइनको तारसँगै महाकाली नदीमा बेपत्ता भएका थिए । घटनापछि १७ साउनमा मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव गौतमको नेतृत्वमा सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेर प्रतिवेदन बुझाउन दश दिनको समय दिएको थियो । 

तर, १५ भदौमा मात्रै सरकारलाई बुझाएको प्रतिवेदनमा समितिले धामी बेपत्तामा एसएसबीकै संलग्नता रहेको र दोषीलाई कडा कारबाही गर्न सिफारिस गरेको थियो । प्रतिवेदनमा छ, ‘उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुुसन्धान गरी दोषीउपर कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’ 

दार्चुलाको व्याँस गाउँपालिका– २ का ३३ वर्षीय धामी हालसम्म बेपत्ता छन् । बेपत्ता भएपछि उनको खोजी गरिए पनि भेटिएका छैनन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार महाकाली नदी तर्न लाग्दा एसएसबीले तुइन काटिदिएपछि उनी महाकालीको भेलसँगै बगेका थिए । भारतीय पक्षले भने दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सो घटनामा एसएसबीको संलग्नता नरहेको स्पष्टीकरण दिएको थियो । बेपत्ता भएका धामीका परिवार र दार्चुलाका स्थानीयले एसएसबीले तुइन काटेका कारण घटना घटेको बताउँदै आएका छन् । सरकारले धामी परिवारलाई दश लाख राहत दिएको छ । 

तर, गत साता मात्रै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले यस विषयमा भारतलाई औपचारिक जानकारी नभएको बताएका थिए । ‘हामीलाई यस विषयमा कुनै जानकारी आएको छैन । मैले मिडिया रिपोर्टहरूमा यस विषयमा सुनेको छु, तर छानबिन भएको विषयमा हामीलाई कुनै सूचना छैन,’ बाग्चीले भनेका थिए । सरकाले धामी बेपत्ता भएको घटनामा भारतसँग जवाफ माग गर्न नसकेको भन्दै आलोचना भइरहेका वेलामा भारतीय हेलिकोप्टर विनाअनुमति दार्चुलाकै नेपाली भू–भागमा उडाइएको विषय सार्वजनिक भएको छ ।