भारतका पूर्वराज्यसभा सांसद जावेद अख्तर एक टिभी च्यानलमा दिएको अभिव्यक्तिका कारण समस्यामा परेका छन्। गीतकार अख्तरले शुक्रबार एनडिटिभीमा तालिवान र हिन्दूवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)लाई तुलना गरेपछि उनी विवादमा आएका हुन्।
उनले भनेका थिए, ‘जसरी तालिवान एक मुस्लिम राष्ट्र बनाउन चाहान्छ, त्यसैगरी हिन्दू राष्ट्र बनाउन चाहने मानिसहरू पनि छन्। यिनीहरू मुसलमान होऊन्, इसाई होऊन्, यहुदी होऊन् या हिन्दू होऊन्। यी सबै एउटै विचारधाराका मानिस हुन्।’
भारतीय जनता पार्टी (भाजपा) का नेताहरूले अख्तरलाई हात जोडेर माफी माग्न चेतावनी दिएका बिबिसी हिन्दीले जनाएको छ। भाजपा नेता राम कदमले ट्विटरमार्फत आरएसएसका करोडौँ कार्यकर्तासँग अख्तरले माफी नमागे उनी र उनको परिवारको चलचित्र देशभर चल्न नदिने बताएका छन्।
‘टिप्पणी गर्नुअघि कम्तीमा पनि यो सोच्नुपर्थ्याे कि यही संघ परिवारसँग जोडिएका मानिस आज देशको राजनीति चलाइरहेका छन्। राजधर्म पालना गरिरहेका छन्। यदि यो तालिवान विचारधारा हुन्थ्यो भने के उनले यस्तो प्रकारको टिप्पणी गर्न पाउँथे ?’ उनले ट्विटरमा लेखेका छन्।
अख्तरविरुद्ध प्रहरीमा मुद्दासमेत दर्ता भएको छ। आफूलाई भाजपा महाराष्ट्र इकाइको कानुनी सल्लाहकार बताउने आशुतोष दुबेले मुम्बई प्रहरीमा मुद्दा दर्ता गरेकाे बताइएको छ।