काठमाडौं महानगरपालिका– १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनले महानगरलाई क्षति पुगेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन्। शाक्यले शोक सन्देश जारी गर्दै मर्माहत र स्तब्ध बनाएको बताएका हुन्।
शोक सन्देशमा श्रेष्ठ महानगरपालिकाको सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एकचित्त भएर लाग्ने एक जेहेनदार व्यक्ति भएको उल्लेख गरिएको छ। ‘०४९ सालदेखि निरन्तर रूपमा वडा– १९ बाट जनप्रतिनिधिका रूपमा सेवा गर्दै आउनुभएका उहाँको निधनबाट काठमाडौं महानगरपालिकाले सरल, असल, मृदुभाषी, निडर, महानगरपालिकाको सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एकचित्त भएर लाग्ने एक जेहेनदार अभिभावक गुमाएको छ,’ शाक्यको शोक सन्देशमा भनिएकाे छ।