
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश १ र बागमतीमा केही दिनमै गठबन्धनको सरकार बन्ने बताएका छन् । राजधानीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर प्रदेशमा पनि ढल्ने बताएका हुन् ।
बागमतीमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा एमाले सचिव भीम आचार्य मुख्यमन्त्री छन् । उनीहरू केही दिनअघि मात्रै तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको साथ छाडेर अध्यक्ष केपी ओलीतिर लागेका थिए । आफ्नो पक्षमा आएपछि ओलीले आफूनिकट बागमतीमा मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गर्न लगाएर शाक्य र आचार्यलाई मुख्यमन्त्री बनाएका थिए ।
एकीकृत समाजवादी पार्टी गठन भएपछि प्रदेश १ र बागमतीमा एमालेको एकल बहुमत गुमेको छ ।
प्रचण्डले सबैको प्रयासले निरंकुश प्रतिगामी तत्वहरू पछारिएकोसमेत बताए । अझै षड्यन्त्रको प्रयास भइरहेको भन्दै उनले सचेत रहनुपर्नेमा जोड दिए ।
मुलुकको विकासका लागि माओवादी केन्द्र ठूलो पार्टी बन्न आवश्यक भएको उनले बताए ।