१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
डेभिड इग्नेसस
२o८१ बैशाख २१ शुक्रबार १o:५५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिका–तालिबान सहकार्यको अनिश्चित भविष्य

Read Time : > 2 मिनेट
डेभिड इग्नेसस
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५५:oo

अमेरिकाको तालिबानसँगका विगतका सम्झौताका कारण भविष्यका लागि खासै आशा गर्ने ठाउँ छैन । २०२० को सम्झौता पनि नाम मात्रको शान्तिसम्झौता साबित भयो । 

संकटग्रस्त अफगानिस्तानको विमानस्थलमा भइरहेको कारबाहीका सन्दर्भमा अमेरिकाको तालिबानसँगको सम्बन्धलाई लिएर केही उच्च अधिकारी विद्रूप ठट्टा गरिरहेका थिए । ‘धन्य ईश्वर ! अन्ततः काबुलमा हामीले एक सुरक्षा साझेदार पायौँ’ भन्दै एक अधिकारीले परिहास गरेको सुन्नमा आयो । जुन तालिबानसँग अमेरिकाले २० वर्ष लडाइँ लड्यो, उसैसँग अमेरिकी र अफगान सहयोगीलाई अफगानिस्तानबाट बाहिर निकाल्न सहयोग मागिरहेको छ । सम्भवतः अफगानिस्तान झमेलाको सबैभन्दा ठूलो विडम्बना यही होला । ३१ अगस्टको समयसीमाभित्र अमेरिकाले अफगानिस्तान छोडिसक्नुपर्नेछ । तालिबान यो समयसीमालाई उल्लंघन गर्न नमिल्ने ‘रक्तरेखा’ भनेर दाबी गरिरहेको छ भने अमेरिकी साझेदारका विरोधका बाबजुद राष्ट्रपति बाइडनले पनि तालिबानको मागलाई सदर गरेका छन् । 

सिआइएका निर्देशक विलियम जे. बन्र्सले तालिबान नेता अब्दुल घानी बरादरसँग यही साता गरेको गोप्य वार्ता सतहमा आउँदा अमेरिकी–तालिबान सम्पर्क अहिले उच्चस्तरमा पुगेको देखिन्छ । बन्र्सले बाइडेनको व्यक्तिगत सन्देश प्रवाह गरेका थिए, जहाँ उनले अहिलेका लागि सबैभन्दा उपयुक्त विकल्प पूर्वशत्रुसँग सहकार्य हो भन्ने निर्णय गरेको बुझिन्छ । बाइडेन टिम अफगान उत्तर–युद्धको रणनीति बनाउँदै गर्दा तालिबानसँगको अस्वाभाविक सम्बन्धमा केन्द्रित छ । के यो सैन्य समूह भरपर्दो साझेदार हुन सक्छ ? के अमेरिका मुलुकलाई स्थिर बनाउन र शासन गर्न तालिबान प्रयास सफल भएको देख्न चाहन्छ ? कुन सर्तमा बाइडेनले काबुलमा तालिबान नेतृत्वको सरकारलाई मान्यता दिन्छन् ? जस्ता गम्भीर प्रश्न खडा भएका छन् । काबुल विमानस्थलमा इस्लामिक स्टेट आतंककारीको सम्भावित हमलाका लागि सशंकित बनेका अमेरिकी अधिकारीलाई तालिबानसँगको सुरक्षा सम्बन्धको महत्व स्पष्ट पारिदिएको छ । स्रोतका अनुसार अमेरिकी एवं तालिबान अधिकारीबीच सम्भावित हमलाबारे सूचना आदानप्रदान भएको थियो ।    

अफगानिस्तानमा अमेरिकी कमान्डर जनरल अस्टिन ‘स्कट’ मिलरले आइएस उग्रवादीविरुद्ध अमेरिका र तालिबानको अनौपचारिक साझेदारी करिब दुई वर्षपहिल्यै भएको जानकारी गराएका थिए । जुलाई २०१९ को एक अन्तर्वार्ताअनुसार मिलर र उनका सहकर्मीले उत्तरको जोउजान एवं घोर प्रान्तमा गरिएको कारबाहीको वर्णन गरेका थिए । यी कार्बाहीमा अमेरिकी सेनाबाट आइएसका वरिष्ठ नेता मारिएका थिए भने जमिनी सुरक्षाको जिम्मा तालिबानले लिएको थियो । त्यसअघि पनि अमेरिकाले पूर्वी अफगानिस्तानको नंघारमा आइएस नेतालक्षित ड्रोन हमला गराएका थिए, जहाँ तालिबान मौन थियो ।   

यद्यपि अफगानिस्तान हेर्ने अमेरिकी सरकारका विदेश विभागका पूर्वअधिकारी कार्टर माल्कसियन, जसले तालिबानसँग घनीभूत वार्ता गरेका थिए, उनी भन्छन्, ‘तालिबानसँगको हरेक किसिमको सम्बन्ध हाम्रा लागि बहुतै निराशायुक्त हुनेछ ।’ उनी अमेरिकालाई आक्रमण गर्न सक्ने अल कायदालगायत सम्भावित आतंककारीलाई नियन्त्रण गर्ने बलियो प्रतिबद्धता गरे मात्रै अमेरिकाले तालिबानसँग शक्ति बाँडफाँड एवं साझेदारी गर्नुपर्ने सुझाब दिन्छन् । अमेरिकाको तालिबानसँगका विगतका सम्झौताका कारण भविष्यका लागि खासै आशा गर्ने ठाउँ छैन । अमेरिकाले त्यहाँका विद्रोहीसँग २०११ देखि नै शान्तिसम्झौताको प्रयास गर्दै आएको हो । अन्ततः २०२० मा नाम मात्रको शान्तिसम्झौता भयो, जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जल्मेय खलिलजादका अनुसार तालिबनले ‘स्थायी एवं बृहत् युद्धविराम’ को वाचा गरेको थियो । तर, यो वाचा कहिल्यै पूरा भएन ।             

आफ्नो नयाँ पुस्तक ‘द अमेरिकन वार अन अफगानिस्तान : अ हिस्ट्री’मा माल्कसियनअनुसार तालिबानलाई साँचो अर्थको युद्धविराममा ल्याउन नसक्नुको कारण अमेरिकी नेताहरूमा तालिबान लडाकु इस्लामिक स्टेट वा अन्य उग्रवादी समूहतर्फ ढल्कन्छन् भन्ने डर हो । शान्तिसम्झौता हतारमा गरिएको अव्यवस्थित सम्झौता थियो किनभने ट्रम्पको ‘खलिलजादमाथि विश्वास धेरै हुनु तर तालिबानले थोरै वाचा गर्नु र त्योभन्दा पनि थोरै प्रतिफल दिनु रह्यो’ माल्कसियन लेख्छन् । अलकायदा नियन्त्रण गर्ने तालिबानी वाचामा पनि भर गर्न सकिने अवस्था छैन । यो साता मसँगको अन्तर्वार्तामा ‘अलकायदा तालिबानको मित्र भएको र उनीहरू मित्रताको सम्बन्ध कायम राखिरहन चाहन्छन्’ माल्कसियनले भने । 

अफगानिस्तान गहिरो त्रासदीमा फसेको छ । यो त्रासदीमा अमेरिकी नायक खोज्ने हो भने यही १५ अगस्टमा काबुलको रनवेबाट सी–१७ जहाजमा क्षमताभन्दा दुई गुणा अर्थात् आठ सय २३ मुलुक छोड्न चाहने अफगान नागरिकको उद्धार गर्ने पाइलट हुन् । उनका सहकर्मीले यत्रो भार जहाजले थाम्न सक्छ त भनेर प्रश्न गरेका थिए, उनको उत्तर थियो ‘मलाई विश्वास गर’ । यो उद्धार अहिलेको दुःखान्त युद्धको अन्त्यमा देखिएको मानवतावादी साहस हो । यो साहसले हामीले साझेदारी गर्ने हित वा अहित केही पनि टुंगो नलागेका तालिबानलाई प्रेरित गरोस् ।  

(वरिष्ठ पत्रकार इग्नेसस वासिंगटन पोस्टका सहायक सम्पादक हुन्) 
द वासिंगटन पोस्टबाट 

ad
ad