मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ट्रान्सक्रिप्ट लिन लाइनमा बसेका विद्यार्थीहरू ।
२०७८ भदौ १० बिहीबार १०:३५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिविका विद्यार्थीलाई ट्रान्सक्रिप्ट लिनै सास्ती

Read Time : > 3 मिनेट
२०७८ भदौ १० बिहीबार १०:३५:००

व्यवस्थापन संकायको डिन कार्यालयले गरेको रिजल्ट बल्खु पठाउन १५ दिन, विद्यार्थीले ट्रान्सक्रिप्ट पाउन महिनौँ कुर्नुपर्ने बाध्यता

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन पक्ष कतिसम्म भद्रगोल छ भन्ने विषय विद्यार्थीले ट्रान्सक्रिप्ट लिन बेहोर्नुपरेको झन्झटले पुष्टि गर्छ । त्रिवि प्रशासनको अक्षमताकै कारण विद्यार्थीले ट्रान्सक्रिप्ट लिनसमेत सास्ती भोग्नुपरेको छ । 

पुष्पराज जोशी, परीक्षा नियन्त्रक, त्रिवि

त्रिविमा कामको लोड बढेको छ, जनशक्ति घटेको छ । एउटा विषयको प्रिन्ट गर्ने एकजना हुन्छ, त्यसमा पनि कोरोना संक्रमण भएपछि समस्या थपिने गरेको छ । डिन कार्यालयबाटै नतिजा आउन ढिलाइ हुने भएकाले केही गर्न सक्ने अवस्था छैन ।

त्रिविले निर्धारित समयभन्दा एक डेढ वर्ष बढी लगाएर नतिजा सार्वजनिक गर्दै आएको छ । अझ ट्रान्सक्रिप्ट लिन महिनौँ कुर्नुपरेको विद्यार्थीले गुनासो गरेका छन् । कतिपय डिन कार्यालयको ढिलासुस्ती र केहीले परीक्षा नियन्त्रण कार्यालयका कारण एउटा तह उत्तीर्ण भए पनि ट्रान्सक्रिप्ट लिन निकै समय कुर्नुपरेको छ । सेमेस्टर प्रणालीको परीक्षा र नतिजा संकाय तथा अध्ययन संस्थानका डिन कार्यालय सार्वजनिक गर्ने र पनिकाले ट्रान्सक्रिप्ट दिने व्यवस्था छ । इन्जिनियरिङ र चिकित्साशास्त्र अध्ययन संस्थानले नतिजा सार्वजनिक भएको ३७ दिनमा परीक्षा नियन्त्रण कार्यालय बल्खुमा रिजल्ट पठाउने गरेका छन् । विद्यार्थीले आवेदन दिएर ट्रान्सक्रिप्ट प्राप्त गर्न झन्डै दुई महिना लाग्छ । 

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने अध्ययन संस्थानले रिटोटलिङ गरेर मात्र नतिजा सार्वजनिक गर्ने भएकाले ढिलाइ हुने गरेको बताए । विद्यार्थीले गुनासो गरे पनि डिन कार्यालयबाटै नतिजा आउन ढिलाइ हुने भएकाले आफूहरूले केही गर्न नसकेको उनको भनाइ छ । डिन कार्यालयले आफ्नो सजिलोका लागि रिटोटलिङपछि मात्रै अन्तिम नतिजा पठाउने गरेकाले अरू विद्यार्थी मारमा परेका छन् । 

व्यवस्थापनका विद्यार्थीलाई सास्ती
त्रिवि व्यवस्थापन संकायका विद्यार्थीले ट्रान्सक्रिप्ट लिन झन् सास्ती भोग्ने गरेका छन् । वार्षिक प्रणालीका विद्यार्थीले २०–२५ दिनमा ट्रान्सक्रिप्ट पाएका छन् भने सेमेस्टर प्रणालीका विद्यार्थीले झनै धेरै समय कुर्नुपरेको छ । चार वर्षमा सकिनुपर्ने बिबिए पाँचौँ वर्षमा अन्तिम सेमेस्टरको नतिजा आएको छ । तर, ट्रान्सक्रिप्टका लागि झन्डै दुई महिना लाग्ने गर्छ । 

एक महिनाअघि बिबिएको नतिजा सार्वजनिक भएको थियो । तर, नतिजा आएको दुई सातापछि ट्रान्सक्रिप्टको फारम भर्न गएका विद्यार्थी त्यसै फर्किनुपर्‍यो । ‘रिजल्ट आएको १३ दिनपछि बल्खु गएर भौचर काट्यौँ, तर डिन कार्यालयले रिजल्ट पठाएको छैन, २० दिनपछि आउनुस् भनेर फारम नै नलिई फर्काइदिए,’ व्यवस्थापन संकायकी विद्यार्थी अञ्जली खनालले भनिन् । अहिले ट्रान्सक्रिप्टको फारम बुझाउने विद्यार्थीलाई एक महिनापछि बोलाउने गरेको विद्यार्थीले गुनासो गरेका छन् । ‘काठमाडौंमै रहेको डिन कार्यालयबाट त्रिविको परीक्षा नियन्त्रण कार्यालय, बल्खुसम्म रिजल्ट पठाउन २०–२५ दिन लाग्ने रहेछ । अहिले ट्रान्सक्रिप्टका लागि फारम बुझाएपछि पनि अर्को एक महिनापछिको म्याद पाइएको छ,’ खनालले भनिन्, ‘यो कस्तो ढिलासुस्ती हो कुन्नि ? यही ढिलासुस्तीले गर्दा यस वर्ष बाहिर पढ्न जाने विद्यार्थीले आवेदन गर्नै समस्या भयो ।’ 

व्यवस्थापन संकायका डिन प्रा.डा.डिल्ली शर्माले रिजल्ट भएको एक सातादेखि १० दिनमा बल्खुमा रिजल्ट पठाउने गरेको भए पनि यसपटक प्राविधिक कारणले केही ढिलाइ भएको बताए । ‘अहिले परीक्षाको काम धेरै भयो, जनशक्ति पनि कम भएकाले प्रिन्ट गर्न नभ्याएर केही समय ढिला गएको हो, विद्यार्थीका केही समस्या भएमा सम्बोधन हुन्छ,’ उनले भने । पनिका बल्खुका कर्मचारीलाई कोभिड–१९ संक्रमण भएका कारणले पनि ट्रान्सक्रिप्ट प्रिन्टमा ढिलाइ भएको अधिकारीको भनाइ छ । 

अञ्जली खनाल, विद्यार्थी : रिजल्ट आएको १३ दिनपछि बल्खु गएर भौचर काट्यौँ, तर डिन कार्यालयले रिजल्ट पठाएको छैन, २० दिनपछि आउनुस् भनेर फारम नै नलिई फर्काइदिए ।

जनशक्ति अभाव, मारमा विद्यार्थी
परीक्षा नियन्त्रण कार्यालयमा जनशक्तिको समेत अभाव छ । दुई सय २४ जनाको दरबन्दी रहेकामा अहिले एक सय ४२ जनाले मात्र काम गरिरहेको नियन्त्रक जोशीले बताए । ‘कामको लोड बढेको छ, जनशक्ति घटेको छ,’ उनले भने, ‘एउटा विषयको प्रिन्ट गर्ने एकजना हुन्छ, त्यसमा पनि कोरोना संक्रमण भएपछि समस्या थपिने गरेको छ ।’ जनशक्ति अभावले कोभिड संक्रमित पूर्ण निको नहुँदै पनि छुट्टै एक्लै कोठामा राखेर पनि काम गराएर नतिजा सार्वजनिक गरेको उनले सुनाए । त्रिविले जनशक्ति मागेकाले अब केही महिनामा आउने र सहज रूपमा काम गर्न सकिने उनको भनाइ छ ।

त्रिविमा ताला लगाउनेमा प्राध्यापक अगाडि
पछिल्लो केही समययता पेसागत सेवासुविधामा केन्द्रित माग राख्दै त्रिभुवन विश्वविद्यालयमा ताला लगाउनेमा विद्यार्थीभन्दा प्राध्यापक अघि देखिएका छन् । त्रिविमा आंशिक प्राध्यापकले ताला लगाएको केही दिनमै समाजवादी प्राध्यापक संघले बुधबार ताला लगाएका हुन् । विद्यार्थीले लगाएको ताला खुलेको केही दिनमै त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकले तालबन्दी गरेका हुन् । त्रिविका सम्पूर्ण पदहरूको नियुक्तिमा नेपालको संविधानको मर्मअनुसार समानुपातिक समावेशी सिद्धान्तलाई अविलम्ब कार्यान्वयन गर्नुपर्नेलगायतका १० बुँदे माग गर्दै समाजवादी प्राध्यापक संघले बुधबार तालाबन्दी गरेको हो । 

त्रिवि आंशिक प्राध्यापक संघले त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रार, त्रिवि सेवा आयोगमा ८ साउनमा लगाएको ताला १७ साउनमा खोलेको थियो । उपप्राध्यापकको विज्ञापन रोक्ने र नयाँ थप दरबन्दीका लागि सरकारसँग पहल गर्ने सहमति भएपछि आंशिक प्राध्यापकले ताला खोलेका थिए । 

समाजवादी प्राध्यापक संघका अध्यक्ष पवनकुमार झाले संवादबाट समस्या हल गर्न त्रिविका पदाधिकारीसँग लिखित माग गरे पनि गम्भीर नभएपछि तालाबन्दी गरेको बताए । समाजवादी प्राध्यापकले सम्पूर्ण पदमा समावेशी र समानुपातिक हुनुपर्नेका साथै कोभिड–१९ का कारण मानवीय क्षतिसमेत भएको र कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी र उनका परिवारलाई खोपको व्यवस्था गर्न माग गरेको छ । 

कोभिडको कारण सञ्चालन भइरहेको अनलाइन कक्षालाई व्यवस्थित बनाउन सम्पूर्ण प्राध्यापकलाई एक–एकवटा ल्यापटप उपलब्ध गराउनुपर्ने र इन्टरनेट जडान गर्नुपर्ने वा मासिक वा वार्षिक शुल्कको व्यवस्था मिलाउनुपर्ने, त्रिविका प्राध्यापक, कर्मचारीका परिवारका सदस्यलाई समेत शिक्षण अस्पतालमा छुटको व्यवस्था मिलाउनुपर्ने माग गरेको छ । त्यसैगरी, त्रिविमा कार्यरत प्राध्यापकका छोराछोरीलाई हरेक संकायमा कोटा हुनुपर्ने, त्रिविमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीको निवृत्तिभरणको व्यवस्था गर्नुपर्ने, कार्यकारी परिषद्बाट पारित भएको एक शैक्षिक सत्रमा एक साता फोर्स लिभको व्यवस्था हुनुपर्नेलगायतका माग राखेका छन् । 

डिन कार्यालयमा विद्यार्थीको ताला
कम्प्युटर विज्ञान तथा सूचना प्रविधिका विद्यार्थीले डिन कार्यालयमा तालाबन्दी गरेका छन् । कोभिडको महामारीमा कम्प्युटर विज्ञान र सूचना प्रविधिका सम्पूर्ण परीक्षाहरू वैकल्पिक विधिबाट सञ्चालन गर्नुपर्ने र विद्यार्थी अन्योलमा नरहने गरी तत्काल परीक्षाका विषयमा विद्यार्थी स्पष्ट हुने गरी सूचना जारी गर्न उनीहरूले माग गरेका छन् ।