१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ८ मंगलबार
  • Saturday, 28 September, 2024
२o७८ भदौ ८ मंगलबार o९:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चौथाइवालेमार्फत मोदीको सन्देश– नेपालसँग सम्बन्ध सुदृढ बनाउन चाहन्छु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ८ मंगलबार o९:o४:oo

भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपाल भ्रमणको दोस्रो दिन सोमबार तीन शीर्ष नेतासँग भेटवार्ता गरेका छन् । चौथाइवालेले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । सबै भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश भन्दै नेपालसँग बलियो सम्बन्ध राख्न चाहेको बताएका छन् । 

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि भाजपा र नेपाली कांग्रेसको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको चौथाइवालेले ट्विटरमा उल्लेख गरेका थिए । तर, सोमबार ओली, प्रचण्ड र ठाकुरसँगको अलगअलग भेटमा नेपाल भारत सम्बन्धबारे छलफल भएको उनले जानकारी दिएका छन् । चौथाइवालेले सोमबार सुरुमा एमाले अध्यक्ष ओली, त्यसपछि माओवादी अध्यक्ष प्रचण्ड र लोसपा अध्यक्ष ठाकुरसँग भेटेका थिए । 

भेटवार्ता सकिएपछि सोमबार साँझ उनले ट्विटरमा भनेका छन्, ‘मैले २४ घन्टामा विविध राजनीतिक र वैचारिक धारको प्रतिनिधित्व गर्ने नेपालका चारजना वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेँ । मैले भेटेका नेताले नेपाल र भारतबीच बलियो सम्बन्ध बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीजीको प्रतिबद्धतालाई प्रशंसा गर्नुभयो । उहाँहरू समान लक्ष्यका लागि उत्तिकै प्रतिबद्ध हुनुहुन्छ र पार्टीस्तरमा पनि निरन्तर संवाद जारी राख्ने इच्छा जनाउनुभएको छ ।’ 

एमाले अध्यक्ष ओलीसँग उनले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाएका छन् ।  उनले प्रचण्डसँग आफ्नो पहिलो भेटघाट भएको जानकारी दिएका छन् । ‘हामीबीच केही विषयहरूमा स्पष्ट र खुला छलफल भयो,’ चौथाइवालेले ट्विटरमा भनेका छन्, ‘हामी दुवैजना नेपाल–भारत सम्बन्ध सुदृढ पार्न निरन्तर संवाद जारी राख्ने सहमत भएका छौँ ।’ भेटवार्तापछि प्रचण्डपुत्री गंगा दाहालले ट्विटरमा लेखेकी छिन्, ‘भेटका क्रममा नेपाल–भारत सम्बन्ध र पार्टीबीचको सम्बन्धलाई अझ बलियो बनाउनेबारे सकारात्मक र उत्साहपूर्ण छलफल भएको छ ।’ 

चौथाइवालेले लोसपा अध्यक्ष ठाकुरलाई ‘मधेसका वरिष्ठ नेपाली नेता’ भन्दै भेटवार्तामा आपसी हितका विषयहरूमा छलफल भएको बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतको निमन्त्रणामा आएका चौथाइवालेले आइतबार प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए । उनले देउवापत्नी डा. आरजु राणाबाट राखी बाँधेका थिए भने महतसँग बेग्लै कुराकानी गरेका थिए । चारदिने भ्रमणका लागि आएका उनी बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।