जंगलमा फिरन्ते जीवन बिताउँदै आएकाे राउटे समुदायका मानिसको धमाधम मृत्यु हुन थालेको छ । पछिल्लो एक महिनाको अवधिमा चारजना राउटेले ज्यान गुमाइसकेका छन् । अज्ञात रोगका कारण यस समुदायका मानिसले लगातार ज्यान गुमाउन थालेपछि शनिबार समुदायमै स्वास्थ्य शिविर सञ्चालन गरियोे । तर, मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
सल्यान छोडेको १० वर्षपछि असार ८ गते सल्यान फर्किएका राउटे समुदायमा एक महिनामा चारजनाले ज्यान गुमाएपछि सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं खतिवडासहित स्वास्थ्यकर्मीको टोली उपचारका लागि शनिबार राउटे बस्ती पुगेको थियो । अज्ञात रोगका कारण राउटे समुदायका मानिसको मृत्यु हुन थालेपछि स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्यकर्मी, नेपाली सेनाका स्वास्थ्यकर्मीसहित समुदायमा पुगेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताइन् ।
स्वास्थ्य जाँच गर्न राउटे समुदायमै स्वास्थ्य शिविर सञ्चालन गरिए पनि शिविरमा राउटेहरूले स्वास्थ्य जाँच गर्न मानेनन् । लगातार आफ्नो समुदायका मानिसको ज्यान गइरहे पनि राउटे समुदायले स्वास्थ्य जाँच गर्न नमानेपछि केही संख्यामा मात्रै स्वास्थ्य जाँच गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका मेडिकल अधिकृत भीमकान्त जैशीले बताए ।
सिम्बोलिक रूपमा स्वास्थ्य जाँच गर्दा एकजनालाई निमोनिया देखिएको र अन्य केहीलाई भने ग्यास्टिक, घाउखटिरालगायतका समस्या देखिएको उनले बताए । अधिकांशले स्वास्थ्य जाँच गराउन नमानेपछि कुन रोगका कारणले मृत्यु भइरहेको भन्नेबारेमा खुल्न नसकेको उनको भनाइ छ । राउटे समुदायमा कोही बिरामी भएको समयमा झारफुकबाटै निको बनाउने विश्वास छ । पछिल्लो समय जीवनशैलीमा केही परिवर्तन आए पनि उनीहरू स्वास्थ्य जाँच गराउन तयार हुँदैनन् । सुई लगाउने र औषधि खाने डरले आफूहरूलाई केही नभएको भन्दै राउटेहरू पन्छिन खोज्छन् । मुखिया सूर्यनारायण शाहीका अनुसार झारफुकबाटै अधिकांश रोग निको हुने गरेको छ ।
‘हामी जडीबुटीको औषधि बनाएर प्रयोग गर्छौँ, हाम्रा जनताले सुई लाउन सक्दैनन्, मर्नेहरू कालगतिले मरे । हामीले कर गरेर औषधि खानुहोस् भन्न पनि मिल्दैन्,’ उनले भने । सुई नलाउने सर्तमा सूर्यनारायण आफैँले भने कानमा समस्या भएको भनेर जाँच गराएर औषधि लगेर गएको स्वास्थ्यकर्मीले बताए ।
वर्षातको समयमा न त उचित वासको व्यवस्था छ न त राम्रो खानपान नै । जंगलमा भेटिएको कन्दमूल तथा अभावैअभावमा जेनतेन जीवन गुजारा गरिरहेका उनीहरूको गुनासो छ । राउटे खकेन्द्रबहादुर शाहीका अनुसार श्रीमती सुत्केरी भएको वेलामा समेत अन्य वेलाको जस्तै खाना खुवाउने गरेका छन् । ‘अहिले त छोरी पाँच वर्षकी भई, श्रीमती सुत्केरी वेलामा पनि जडीबुटी ख्वायौँ, भात ख्वायौँ अरू त के ख्वाउनु । अहिले चिसो बढ्न थाल्यो, कम्बलको आवश्यकता छ । चामल चाहिएको छ, पाल चाहिएको छ,’ उनले भने ।