१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी काबुल
२०७८ भदौ ७ सोमबार १०:४०:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

किन युएई नै रोजे राष्ट्रपति घानीले ? यस्तो छ युएई–तालिवान सम्बन्ध

Read Time : > 1 मिनेट
एजेन्सी काबुल
२०७८ भदौ ७ सोमबार १०:४०:००

अफगानिस्तान छाडेर भागेका राष्ट्रपति असरफ घानीले संयुक्त अरब इमिरेट्स (युएई)मा शरण लिएका छन्। १५ अगस्टमा तालिवान लडाकुले काबुललाई घेरेपछि घानीले अचानक देश छाडेका थिए।

सुरुमा उनी कहाँ गए भन्ने स्पष्ट थिएन। उनी उज्वेकिस्तान वा ताजकिस्तान गएका भन्ने खबरहरू प्रकाशित भए। तर, पछि युएईको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घानीलाई मानवीय आधारमा शरण दिएको जानकारी गरायो। त्यहाँबाट एक भिडियो सन्देश जारी गर्दै घानी स्वयंले यो कुराको पुष्टि गरे। देशमा थप रक्तपातपूर्ण अवस्था नआयोस् भनेर आफूले देश छाडेको उनले बताएका छन्।

अफगानिस्तानको राजनीतिक पृष्ठभूमि
युएईले इस्लामिक दुनियाँका नेतालाई शरण दिएको यो पहिलो घटना होइन। यसअघि युएईले ९० को दशकमा पाकिस्तानी प्रधानमन्त्री बेनजिर भुट्टो र पूर्वराष्ट्रपति परवेज मुसर्रफ पनि सत्ताच्युत भएपछि यहीँ पुगेका थिए।

यद्यपि, युएई असरफ घानीले राजनीतिक दाउपेचका लागि आफ्नो भूमि प्रयोग गरून् भन्ने चाहँदैन। युएईमा ठूलो संख्यामा पाकिस्तान र अफगानिस्तानका नागरिक छन् । यस्तो अवस्थामा उसले आफ्नो देश अफगानिस्तानको राजनीतिक अखडा नबनोस् भन्ने चाहेको विश्लेषकहरूको बुझाइ छ।

युएईमा घानीको आगमनबाट विश्लेषकहरू आश्चर्यचकित भने छैनन् । अब्जर्भर रिसर्च फउन्डेसनसँग आबद्ध कबिर तनरेजा भन्छन्, ‘युएईको सम्बन्ध तालिवान र अफगानिस्तान दुवैसँग रोचक रहँदै आएको छ। घानीलाई युएईले मानवीय आधारमा शरण दिएको छ। उसको यो कदम अप्रत्याशित भने होइन ।’

तालिवान–युएई सम्बन्ध
सन् १९९६ मा अफगानिस्तानमा तालिवानले सत्ता आफ्नो हातमा लियो। तालिवान सरकारलाई पाकिस्तान, साउदी अरब र युएईले मान्यता दिएका थिए। तर, त्यस समयदेखि अहिलेसम्म यिनीहरूको सम्बन्धमा धेरै परिवर्तन आएको छ।

‘अमेरिकामा सेप्टेम्बर ११ मा भएको हमलापछि अरब देशलाई आफ्नो छवि सुधार गर्न दबाब बढेको थियो। हमलामा सामेल अधिकांश व्यक्ति खाडी देशका नागरिक थिए। दबाबपछि साउदी र युएईले तालिवानसँग दूरी बढाए,’ तनरेजा भन्छन्। युएईले सन् २००१ मा अमेरिकी नेतृत्वमा नेटो सेनाले अफगानिस्तान गरेको हमलामा सहयोग समेत गर्‍याे । अहिले पनि युएईका केही सेना अफगानिस्तानमा शान्ति र मानवीय मिसनमा तैनाथ छन्।

साउदी र युएई दुवै देशमा सुन्नी मुस्लिम समुदायको बाहुल्य छ। उनीहरूले मदरसा र मस्जिदमार्फत अफगानिस्तानको विकासमा ठूलो रकम सहयोग गरेका छन्। तर, पछि युएईले तालिवानसँग सम्बन्ध तोडेर हामिद करजाई र असरफ घानी नेतृत्वको सरकारसँग औपचारिक सम्बन्ध राख्यो। सन् २०१७ मा अफगानिस्तानको कान्दाहारमा भएको हमलामा युएईका कूटनीतिज्ञहरूको मृत्यु भएपछि युएई र तालिवानबीच थप दूरी बढेको हो।

घानीले किन युएई नै रोजे ?
राष्ट्रपति घानीले युएई नै रोज्नुको विशेष कारण छ। विज्ञहरूका अनुसार यहाँ गुपचुप रहन र लगानी गर्न धेरै सजिलो छ। युएईका प्रायः सबै ठाउँमा अत्याधुनिक क्यामेरा जडान गरिएको छ। कडा निगरानीमा राखेकाले यहाँको सुरक्षा व्यवस्थालाई निकै राम्रो मानिन्छ। युएईको सत्तामा राजपरिवारको दह्रो पकड रहेकाले पनि यहाँ पुग्ने राजनीतिक व्यक्तिहरूले सुरक्षित महसुस गर्छन्। यही कारणले गर्दा नै विश्वभरका शक्तिशाली राजनीतिक व्यक्तिहरूले शरणका लागि युएई रोज्ने गरेका छन्।

यसअघि थाइल्यान्डका प्रधानमन्त्री थकसिन शिनावात्रा र यिङलक शिनावात्रा तथा स्पेनका पूर्वराजा ह्वान कार्लोस, प्यालेस्टाइनी नेता मोहम्मद दहलानलगायतले पनि युएईमा नै शरण लिएका थिए। (बिबिसी हिन्दीबाट भावानुदित)