मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ४ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७८ भदौ ४ शुक्रबार १८:५५:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सोभियत संघकै बाटोमा अमेरिका

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ भदौ ४ शुक्रबार १८:५५:oo

सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरममा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले दम्भी अमेरिका सोभियत संघकै पथमा हिँड्ने जोखिम मोलिरहेको भन्दै चेतावनी दिए। 

पुटिनका अलवा वैदेशिक खुफिया सेवाका रसियन निर्देशक सर्जे नरिस्किन, विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभा, नवयुरेसियनवादका संस्थापक अलेकसान्द्र डुगिन र पूर्वसोभियत संघका साक्षीहरू, पूर्वरक्षा खुफिया एजेन्सीका अधिकारीहरू, रसियन–अमेरिकन स्कलर रेबेख कफ्लरलगायतले अमेरिका सोभियत संघको पुरानो बाटो हिँडिरहेकोबारे विमर्श गरे। 

आधार १ : स्वार्थ समूह

सोभियत संघमा नोकरशाही वर्गका स्वघोषित उच्चअधिकारीहरूको एउटा ठूलो हिस्सा सोभियत समाजका सबै आयामहरूसँग पराश्रयी थिए। उनीहरूले त्यो विशेषाधिकारको फाइदा उठाए। सोभियत संघको अत्यन्तै केन्द्रीकृत योजनाबद्ध अर्थव्यवस्थाभित्र आममानिसले उपभोग गर्न सक्ने वस्तुहरू सीमित थिए । तर, ती माननीयहरूलाई टिभी, कारजस्ता सबैखाले दुर्लभ वस्तुहरू प्राप्त गर्ने विशेष अधिकार थियो।

अहिले, अमेरिकी शासक वर्ग नयाँ माननीय भएका छन्। उदाहरणका लागि, बन्दाबन्दीको समयमा राजनीतिक व्यक्तिहरू महँगा–महँगा रेस्टुराँमा गए, कपाल काटे, आनन्ददायी यात्रा गरे। तर, ठीक त्यसैवेला बाँकी हामीहरूका कपाल भने लामा भए। हामी अनलाइन क्लास पढिरहँदा चुलबुल–चुलबुल गरिरहेका नानीहरूलाई शान्त गराउँदै निसास्सिएर बस्यौँ। उता, सैन्य भवनहरू, खुफिया एजेन्सीहरू तथा वाल स्ट्रिटका जायन्टहरूले भने अमेरिकाको राष्ट्रिय संयन्त्रहरूमा हस्तक्षेप गरी राष्ट्रिय नीतिहरूमा गहिरो प्रभाव जमाएर अमेरिकी छाया सरकार बनाए। 

आधार २ : सैन्य बलको दुरुपयोग

सोभियत संघको वैदेशिक हस्तक्षेप असंयमित थियो। यसले अमेरिकासँगको हतियार दौडमा सामेल हुँदै गर्दा हंगेरीमा मात्र होइन, चेकोस्लोभाकिया, अफगानिस्तानलगायत अन्य देशहरूमा पनि आफ्नो फौज पठायो। परिणामतः सैन्य खर्च बढ्दै गयो र देशको आर्थिक तथा सामाजिक विकासमा गम्भीर अवरोध गर्‍यो। ब्रेज्नेभ शैलीको विस्तारवादी नीतिले सोभियत समाजलाई सुस्त बनायो र अफगानिस्तान युद्ध यसको विघटनको प्रमुख कारण बन्न पुग्यो।

एक्काइसौँ शताब्दीको सुरुवातदेखि अमेरिकी सेनाले इराक युद्ध, अफगानिस्तान युद्धजस्ता धेरै युद्धको सुरुवात गरेको छ। त्यस्ता युद्धले पैसा मात्र खर्च गराएका  छैनन्, गम्भीर रणनीतिक हार पनि निम्त्याएका छन्। दुर्भाग्यवश, अमेरिकाले अझै सबक भने सिकेको छैन। अमेरिकाको सैन्य खर्चले पटक–पटक नयाँ कीर्तिमान बनाइरहेको छ। सन् २०२० मा अमेरिकाको सैन्य खर्च सात सय ७८ बिलियन डलर पुग्यो। त्यो विश्वको सैन्य खर्चको ३९ प्रतिशत थियो। सैन्य खर्चमा भएको वृद्धि अमेरिकामा पूर्वाधार निर्माण र जनताको जीवनस्तरमा लगानी गर्न बाधक बन्यो।  

विडम्बना त यो छ कि यति ठूलो खर्च गर्दा पनि अन्य प्रमुख शक्तिहरूको तुलनामा अमेरिकी सैन्य शक्ति प्रणालीगत रूपमा पतन भइरहेको छ। अब आगामी रणनीतिक चिन्ताका कारण अमेरिकी सैन्य खर्च बढ्दै जानेछ र एउटा दुस्चक्रमा फस्नेछ।

आधार ३ : अधिनायकवाद

सोभियत संघले एकताका अतिवादको अभ्यास गर्‍यो र सीमित सार्वभौमसत्ताको वकालत गर्‍यो, जसले अन्तताेगत्वा समाजवादी क्याम्पको नै विघटन गरायो। आज अमेरिका नवउदारवाद, तागतवालाको जित र जसले जित्छ सबैथोक उसकै हुन्छ भन्नेमा विश्वास गर्छ। मिडिया एकाधिकार, प्रहरी नियन्त्रित राज्यजस्ता कुलीनतन्त्रका विशेषताहरू फैलाउँदै अमेरिका आज उदारवादी अधिनायकवादी राज्यमा परिणत भएको छ। यो पूर्वअमेरिकी राष्ट्रिय सुरक्षा सहायक बिग्निउ ब्रेजेन्स्कीले प्रतिपादन गरेको अधिनायकवादी शासनको मापदण्डसँग पूरापूर मेल खान्छ। 

आधार ४ : राजनीतिक शुद्धता

सोभियत संघले एकपटक ‘असन्तुष्टहरू’लाई बलपूर्वक दमन गर्‍याे । नवउदारवाद पनि अहिले अमेरिकामा चरम र निरपेक्ष भएको छ। जातीय अल्पसंख्यकहरूको अधिकार राजनीतिक शुद्धताको निरपेक्ष मापदण्ड भएको छ। अहिले अमेरिकामा उदारवादी विचारधारासँग मेल नखाने जुनसुकै अभिव्यक्तिलाई दोषी ठहर गरिन्छ। आमचुनावमा ७५ मिलियन भोट प्राप्त गरेका ट्रम्पलाई पनि मिडिया र इन्टरनेट जायन्टहरूले आफ्नोअनुकूलतामा चुप लगाए।

तैपनि राजनीतिक शुद्धताका लागि गरिएका अनुरोधहरू र विविध राजनीतिक पहिचानहरूले पनि अमेरिकी समाजलाई जोड्न सकेका छैनन्। यसले बरु झन् धेरै असन्तुष्टिहरूको सिर्जना गरिरहेको छ। क्वानन् तथा प्राउड ब्वाईजस्ता बुद्धिजीवीविरोधी लोकप्रियतावादी आन्दोलनहरू अमेरिकामा डढेलो लागेझैँ फैलिरहेका छन्। यस्ता आन्दोलनहरूले पहिले नै विभाजित भएको सामाजिक नक्सालाई झन् विभाजित पारिरहेका छन्। सन् २०२१ को जनवरीमा भएको सिबिएस मत सर्वेक्षणअनुसार आधाजसो अमेरिकी जनताले अरू अमेरिकी र आन्तरिक शत्रुहरूबाट उनीहरूको जीवन र लोकतन्त्रलाई खतरा भएको बताएका छन्।

आधार ५ : निगरानीमा कडाइ

बाइडेन प्रशासनले निजी विचार र म्यासेजहरूको अनुगमनलाई बढावा दिएको छ। सोभियत अधिकारीहरूले जस्तै एफबिआईले पनि आफ्ना नागरिकलाई साथीहरू र आफन्तबाट हुने ‘हिंसात्मक अतिवाद’विरुद्ध उजुरी दिन प्रोत्साहित गरिरहेको छ। यो अमेरिकी सरकारले समाजमाथि पूर्ण रूपमा नियन्त्रण खोजिरहेको युग हो।

‘टिभीमा देखेका सबै विषयलाई विश्वास नगर, आफ्नो शिक्षकले भनेका सबै कुराहरू नपत्याऊ, नचिनेका मानिससँग आफ्नो परिवारको दृष्टिकोणबारे नबोल,’ अमेरिकाले आफ्ना बालबच्चालाई अहिले जे सिकाइरहेको छ त्यो सोभियतीहरूका लागि केही नयाँ होइन।

पूर्वसोभियत संघजस्तै अमेरिका अहिले समस्यामा छ। यसको बाह्य होइन आन्तरिक कारणहरू छन्। अहिले अमेरिका आन्तरिक रूपमा संरचनागत संकटको अवस्थामा छ। यस्तो समयमा अमेरिकाका लागि अरू देशहरूमाथि जिम्मेवारी पन्छाउनुको विकल्प छैन। अमेरिका अब ब्युँझनुपर्छ। चीनको विरुद्धमा तुष पालेर समस्याको समाधान हुँदैन, बरु यस कुलीनतन्त्रले अमेरिकी जनताको चाहनालाई अझ दबाउनेछ भन्ने पनि अमेरिकाले बुझ्नुपर्दछ।  अन्त्यमा, देशमा लागेको रोगको उपचार गरेर अमेरिकालाई सोभियत संघ– २ बन्न नदिने शक्ति भनेको अमेरिकी जनता नै हुन्।

(ग्लोबल टाइम्समा प्रकाशित साओ सियाको लेखको भावानुवाद हिमाल पौडेलले गरेका हुन्।)