मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण २४ आइतबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७८ श्रावण २४ आइतबार १३:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डको असन्तुष्टि- मेलम्ची र त्यस वरपरका बाढीपीडितलाई राहत दिन ढिला भयो (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ श्रावण २४ आइतबार १३:१९:oo

सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष एव‌ं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढीपीडितसँग सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यो घोषणाअनुसारको कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले भने, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत् संकटग्रस्त जिल्ला त घोषणा गर्‍यो । तर, त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरू तीव्रताका साथ अगाडि बढ्यो कि बढेन ? भन्दा अझै पनि ती गतिविधिहरू त्यहीअनुसारको तीव्रताका साथ अगाडि बढेको छैन । त्यसैकारण तपाईंहरू प्रधानमन्त्रीसहित सबै नेताहरूलाई ध्यानाकर्षण गराउन आउनुपरेको भन्ने मलाई लाग्दछ ।’

अध्यक्ष प्रचण्डले सो क्षेत्रका बाढीपीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढीपीडितलाई सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एकपटक मेलम्ची र त्यस वरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि उनले स्पष्ट पारे । 

अध्यक्ष दाहालले नेपालमा प्राकृतिक प्रकोप बढ्दै जानुमा जलवायु परिवर्तनलगायतले पनि भूमिका खेलेको हुन सक्ने दाबी गर्दै त्यसलाई न्यूनीकरण गर्ने दिशामा सरकारले संयुक्त राष्ट्र संघलगायतका सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्ने अवस्था आएको बताए । त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने उनको भनाइ छ ।