नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच तीन दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो ।
सभापति देउवाको बुढानीलकण्ठस्थित निवासमा उक्त बैठक बसेको थियो । क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसमेत रहेका नेता रमेश लेखकले उक्त सहमतिको जानकारी दिए । ‘अरू पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरूको सम्बन्धमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको छ,’ उनले भने, ‘यसले निरन्तरता पाउँछ र २-३ दिनभित्र टुंगिन्छ ।’