नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आवश्यकता देखेर तोकेको वैकल्पिक जिम्मेवारीमा जान तयार रहेको बताएका छन् । बुधबार पत्रकारहरूसँगको भेटघाटमा उनले सरकारले जुन जिम्मेवारी दिन्छ, त्यसलाई पूरा गर्न तयार रहेको बताए ।
एउटा कर्मचारीको रूपमा सरकारले जे जिम्मेवारी दिन्छ, त्यसमा भूमिका निभाउन तयार रहने उनको भनाइ छ । ‘तर, अर्को जिम्मेवारी दिँदा दोष देखाएर होइन, अर्को काममा तपाईंको आवश्यकता महसुस भयो भन्ने अवस्थामा सरकारले तोक्ने जिम्मेवारी स्विकार्नेछु,’ उनले भने ।
तपाईंले चाहेको वैकल्पिक जिम्मेवारी के हुन सक्छ भन्ने प्रश्नमा भने यही हो भनेर उनले तोकेनन् । तर, धेरैवटा विकल्प सरकारसँग रहेको बताए । साथै वर्तमान जिम्मेवारीबाट दोषी देखाएर निकाल्ने वा अन्याय गरेको खण्डमा न्यायका लागि अदालत जाने विषय स्वाभाविक हुने उनले बताए । ‘तर, सरकारले आवश्यकता देखेर अर्को जिम्मेवारी दिन्छ भने किन अदालत जानु र ?’ उनले भने ।
पत्रकारसँग उनले कतैबाट पनि राजीनामा दिन निर्देशन वा अनुरोध नआएको बताए । कोभिडको समयमा अझ बढी खटेर काम गरेको उनको दाबी छ । ‘तर, मैले गरेको काम चित्तबुझ्दो भए–नभएको माथिल्लो निकायले मूल्यांकन गर्ने विषय हो,’ उनको भनाइ छ ।